close

यस्तो छ, एआईले तयार पारेको नेपाली चलचित्र ‘बहाव’ को पोस्टर

टेकपाना टेकपाना

चैत १६, २०७९ १६:११

यस्तो छ, एआईले तयार पारेको नेपाली चलचित्र ‘बहाव’ को पोस्टर

काठमाडौं । चैत २४ देखि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘बहाव’को पोस्टर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत तयार पारिएको छ ।

प्रिक्सा टेक्नोलोजीले तयार पारेको रिरि एआई प्रविधिमार्फत याे चलचित्रकाे एक पोस्टर बनाइएको हो । 'बहाव'का निर्माता श्रीधर पौडेलले फिल्मको पोस्टर बनाउन देशमै पहिलोपटक एआई प्रविधि प्रयोग गरेको दाबी गरे ।

"म आफैंले सात-आठ वर्षदेखि पोस्टर फोटोग्राफी गर्दै आएको छु," उनले भने, "फिजिकल्ली पोस्टर बनाउँदा र एआई प्रविधिबाट बनाउँदा के-कस्ता भिन्नता हुने रहेछ भन्ने कुरा परीक्षण गर्न एआईमार्फत पोस्टर तयार पारेका हौँ ।"

हरेक क्षेत्रमा एआई प्रविधि प्रयोग बढिरहेको परिप्रेक्ष्यमा नेपाली चलचित्र क्षेत्रमा पनि यसलाई परिचित गराउन नौलो प्रयास थालेको उनको भनाइ छ । 

"एआईले बनाएको पोस्टर केही फरक देखिएको छ । विशेषगरी ‘लुक्स वाइज’ अलिकति फरक हुने रहेछ । तर, सोचेको भन्दा राम्रो छ । फिल्मको थिम कस्तो छ भन्ने कुरा बुझाइसकेपछि एआईले त्यही अनुसारको पोस्टर निर्माण गर्‍यो," उनले थपे । 

''भौतिक रूपमा पोस्टर बनाउँदा त्यसमा थुप्रै कुराको ध्यान दिनुपर्छ । विशेषगरी कलर कम्बिनेसन, फन्ट, थिमजस्ता कुरालाई बढी ख्याल गर्नुपर्छ,'' उनले अगाडि भने, ''एआईलाई भने कन्सेप्ट बुझाइसकेपछि स्वतः पोस्टर तयार हुन्छ ।''

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १७:१