close

नक्कली एलन मस्कलाई १ करोडको चेक पठाएपछि स्कुल प्रिन्सिपलको जागिर चैट !

टेकपाना टेकपाना

चैत १७, २०७९ १७:११

नक्कली एलन मस्कलाई १ करोडको चेक पठाएपछि स्कुल प्रिन्सिपलको जागिर चैट !

काठमाडाैं । नक्कली एलन मस्कलाई एक लाख डलर अर्थात् एक करोड ३१ लाख रुपैयाँ बढीको चेक पठाएपछि एक स्कुल प्रिन्सिपलको जागिर गुमेकाे छ । ​फ्लोरिडा राज्यमा अवस्थित बर्न्स साइन्स एन्ड टेक्नोलोजी चार्टर स्कुलकी ती प्रिन्सिपलले नक्कली एलन मस्कका कारण आफ्नो पद छोड्नुपरेको हो ।

अनलाइनमा एलन मस्ककाे नाम लिएर ती व्यक्ति (स्क्यामर) स्कुलकी प्रिन्सिपल डा. जान म्याकगीसँग जाेडिएका थिए । प्रिन्सिपल पनि एलन मस्क नै आफूसँग कुरा गरिरहेका छन् भनेर मख्ख थिइन् । एक दिन ती स्क्यामरले एक लाख अमेरिकी डलर सहयोग गर्न अनुरोध गरे । यदि एक लाख डलर सहयोग गरे उनले स्कुलमा लाखौं डलर लगानी गर्ने आश्वासन दिएका थिए ।

"हाम्रो स्कुलमा उसले ६० लाख डलर लगानी गर्ने भनेको थियो । जसका लागि मैले एक लाख डलरको चेक दिनुपर्ने थियो । मैले त स्कुलको भलाइका लागि नै यस्तो निर्णय लिएकी थिएँ," स्थानीय सञ्चारमाध्यम वेशसँग उनले भनिन् ।

एलन मस्कजस्तो मान्छेले धोका दिन नसक्ने भन्दै उनी पनि चेक दिन तयार भइन् । यसो त डा. म्याकगीलाई स्कुलको बैंक खाताबाट ५० हजार डलरको मात्र चेक काट्ने अनुमति थियो ।

५० हजार डलरभन्दा बढीको चेक काट्नु परे उनले स्कुलको बोर्डको स्वीकृति लिनुपर्थ्याे । तर, उनले अनुमति नै नलिएर एक लाख डलरको चेक काटिन् । चेक लिन ‘एलन मस्कका दाहिने हात’ आउने भनेर ती स्क्यामरले खबर पठाए । अनि, प्रिन्सिपलबाट चेक लिएपछि ती मान्छे एकाएक गायब भए ।  

संयाेगवश चेक पठाएको थाहा पाउने बित्तिकै स्कुलका बिजनेस मेनेजर साे चेक राेक्का गर्न सफल भए । म्याकगीको गल्ती सतहमा आइसकेपछि उनले आफ्नो कमजोरी स्वीकार्दै स्कुल प्रशासनसँग माफी मागिन् । तर, प्रशासन उनलाई माफी दिने अवस्थामा थिएन ।

"मैले आफूलाई यो स्थितिमा राखेर नराम्रो निर्णय गरेँ," म्याकगीले वेशलाई भनिन्, "म एक शिक्षित व्यक्ति हुँ । चनाखो हुँदाहुँदै पनि म स्क्याममा फसेँ ।"

यसो त म्याकगीलाई स्कुलका अन्य कर्मचारीले पनि उक्त व्यक्ति स्क्यामर हुन सक्ने भएकाले चेक नपठाउन अनुरोध गरेका थिए । तर, आफूले चार महिनाभन्दा बढी समयदेखि चिनेको व्यक्तिले धोका दिन्छ भन्ने उनलाई कहिल्यै लागेन । त्यसैले उनले प्रशासनको अनुमति नै नलिएर चेक पठाएकी थिइन् ।

स्कुलको नेतृत्व तहमा रहेको व्यक्ति नै सामान्य अनलाइन ठगीको बारेमा जानकार नहुँदा स्कुलमा गलत सन्देश जाने भन्दै स्कुल प्रशासनले उनलाई राजीनामा दिन बाध्य पार्‍यो ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १७:११