close

खगोलविद्ले पत्ता लगाए अहिलेसम्मकै ठूलो ‘ब्ल्याक होल’

टेकपाना टेकपाना

चैत १७, २०७९ १६:१७

खगोलविद्ले पत्ता लगाए अहिलेसम्मकै ठूलो ‘ब्ल्याक होल’

काठमाडौं । खगोलविद्हरूले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएका छन् । डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएकाे हाे ।

उनीहरूले 'ग्राभिटेसनल लेन्सिङ' (Gravitational lensing) नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेको उल्लेख गरेका छन् । यस प्रविधिको प्रयोग गरी खगोलविद्ले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।

अनुसन्धानको नेतृत्व गरेका डा. जेम्स नाइटिङ्गेलले आफू एक खगोलविद्का रुपमा पनि त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार 'एबेल १२०१' तारामण्डलको एक आकाशगंगा रहेको उक्त ब्ल्याक होल हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलो छ ।

“यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,” डा. नाइटिङ्गेलले बीबीसी रेडियाेसँग भने, “ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो छ।”

सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि याे ब्ल्याकहोलको अन्वेषण सुरू गरिएको थियो ।

सो अन्वेषणमा जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट पनि जोडिएको थियो । यस इन्स्टिच्युटले नासाको हबल टेलिस्कोपले खिचेको ब्ल्याकहोलका फोटोलाई विश्वविद्यालयको डाइर्‍याक कस्म ८ (DiRAC COSMA8) सुपरकम्प्युटरबाट प्रशाेधन गरी ब्ल्याकहोल रहेको कुरा प्रमाणित गर्न सहयोग उपलब्ध गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ १५:५०