close

सरकारको नयाँ नियमः २५० रुपैयाँमै टिभीको बेसिक प्याकेज, ५०० भन्दा बढी लिन नपाउने

टेकपाना टेकपाना

चैत २४, २०७९ १७:१५

सरकारको नयाँ नियमः २५० रुपैयाँमै टिभीको बेसिक प्याकेज, ५०० भन्दा बढी लिन नपाउने

काठमाडौं । टेलिभिजन सेवालाई व्यवस्थित गर्न सरकारले आला कार्ट (A La Carte) मूल्य प्रणाली लागू गरेको छ । यो प्रणाली लागू गरेसँगै अब ग्राहकले कुनै पनि टिभीको न्यूनतम प्याकेजका लागि २५० रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । 

नेपाल सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ११ (४) बमोजिम नेपालमा टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरु, केबल, एमएसओ, डीटीएच, आईपीटिभी, एमएमडीएस, डीआईटीबी लगायतले उपभोक्ताबाट लिन पाउने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन आला कार्ट मूल्य प्रणाली लागू गरेको हो । 

सो मूल्य प्रणाली अनुसार अब टिभी सेवाप्रदायकले बेसिक प्याकेजको न्यूनतम शुल्क बापत मासिक २५० रुपैयाँ मात्र लिन पाउनेछन् । यस्तो प्याकेजमा प्रसारण संस्थाले नेपाली टेलिभिजन च्यानलहरु तथा विदेशी फ्रि टु एयर टेलिभिजन च्यानलहरु उपभोक्तालाई देखाउनु पर्ने हुन्छ । 

त्यसैगरी सशुल्क च्यानलहरु प्रसारण गरे वापत अलग अलग रुपमा वा बुके च्यानल (विभिन्न च्यानलहरूको बन्डल ) को आधारमा शुल्क निर्धारण गर्न पाइनेछ । यसमा प्रत्येक बन्डलको अधिकतम मूल्य ४० रुपैयाँ भन्दा बढी लिन पाइने छैन ।

सशुल्क टेलिभिजन च्यानल वापत पनि सेवा प्रदायकले मासिक अधिकतम २५० रुपैयाँ भन्दा बढी उपभोक्ताबाट लिन पाउने छैन । यसरी सशुल्क र बेसिक प्याकेज  गरेर टिभी सेवाप्रदायकले हालको लागि मासिक ५०० रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैन ।

स-शुल्क टेलिभिजन च्यानलहरु रोज्ने वा नरोज्ने भन्ने विषयमा भने उपभोक्ता स्वयंले निर्णय गर्न पाउने छ । त्यस्तै विदेशी स-शुल्क टेलिभिजन च्यानलहरु नेपालमा डाउनलिङ्क अनुमति लिई प्रसारण गर्ने हकमा भने स्थानीय (नेपाली संस्था) वा वितरक चयन गरी नीजसंग कार्य सम्झौता गरी विना भेदभाव सम्पूर्ण नेपाली प्रसारण संस्थाहरूलाई सिग्नल उपलब्ध गराउनु पर्नेछ । 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ २०:३३