close

पीएमपीएल साउथ एसिया स्प्रिङको फाइनलका लागि २० टिम भिड्दै, कस्तो छ नेपाली टोलीको सम्भावना ?

टेकपाना टेकपाना

चैत २६, २०७९ १५:३५

पीएमपीएल साउथ एसिया स्प्रिङको फाइनलका लागि २० टिम भिड्दै, कस्तो छ नेपाली टोलीको सम्भावना ?

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ मा फाइनलका लागि आज २० टोली भिड्दैछन् । तीन साता लामो लिग चरणको खेलपछि अङ्क तालिकाको शीर्ष १६ भित्र रहने टिमले फाइनलमा पुग्नका लागि आज खेल्दै छन् । 

लिग चरणको सबै खेललाई नियाल्ने हो भने मङ्गोलियन टिमहरु नेपाली टिममाथि हाबी भएको देखिन्छ । 

अहिले सम्मको अङ्क तालिकाको शीर्ष तीनमा क्रमश मङ्गोलियन टिम 'स्टलवार्ट ई-स्पोर्ट्स', 'फो मिराकल भाइब्स' र 'आइएचसी ई-स्पोर्ट्स' रहेका छन् । 'स्टलवार्ट ई-स्पोर्ट्स' र 'फोर मिराकल भाइब्सको' चौथो स्थानमा रहेको नेपाली टिम 'ट्रेन टु किल' भन्दा १६० बढी पोइन्टले अगाडि छन् । 

शीर्ष स्थानमा रहेको टिम 'स्टलवार्ट ई-स्पोर्ट्स'को कुल ५६३ पोइन्ट रहेको छ । यो टिमले ३७५ एलिमिनेसन पोइन्ट र ६ चिकेन डिनर निकालेको थियो । 

चौथो स्थानमा रहेको नेपाली टिम 'ट्रेन टु किल'को तीन चिकेन डिनर र २६५ एलिमिनेसन पोइन्ट सहित कुल ३९५ पोइन्ट रहेको छ । त्यस्तै पाँचौ स्थानमा रहेको 'डीआरएस गेमिङ'को ३७५ र छैटौँ स्थानमा रहेको 'स्काइलाइट गेमिङ'को ३५१ पोइन्ट रहेको छ । 

यसैगरी अङ्क तालिकामा 'लियो ई-स्पोर्ट्स' सातौं र 'इलुमिनेट क्रु' नवौँ स्थानमा रहेका छन् । अन्य नेपाली टिम 'हाइ भोल्टेज ई-स्पोर्ट्स', 'डेडआइज गाइज', 'एब्रब्ट स्लेयर', 'रअ ई-स्पोर्ट्स' र 'इलिमेन्ट्रिक्स ई-स्पोर्ट्स' क्रमश ११ औँ, १३ औँ, १७ औँ, १८ औँ र १९ औँ स्थानमा रहेका छन् । 

अङ्क तालिकाको १२ औँ स्थान देखि १८ औँ स्थानमा रहेका टिमहरुको पोइन्ट भिन्नता मात्र ४५ रहेको छ । यसको अर्थ अझै पनि शीर्ष १८ भित्र रहेका टिमले आज दुई गेम राम्रो खेल्ने हो भने पनि फाइनलमा स्थान बनाउन सक्नेछन् । 

१९ औँ स्थानमा रहेको नेपाली टिम इलिमेन्ट्रिक्स ई-स्पोर्ट्सको भने फाइनलमा पुग्ने सम्भावना लगभग सकिएको छ । अहिलेको अवस्थालाई मात्र हेर्दा यो टिम १६ औँ स्थानमा रहेको टिम 'भेनम डीई' भन्दा ७० पोइन्ट पछाडि छ । 

यो प्रतियोगिताको फाइनलका खेलहरु भने १४ अप्रिल देखि १६ अप्रिल सम्म हुनेछ । 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १५:३७