close

यस्तो छ ७२ लाख पर्ने विद्युतीय पिकअप ट्रक ‘ज्याक टी एट’

टेकपाना टेकपाना

चैत ३०, २०७९ ११:१

काठमाडौं । नेपाली बजारमा हालै भित्रिएको नयाँ विद्युतीय गाडीमा पर्छ, ‘ज्याक टी एट’ (JAC T8) । कच्ची बाटोमा कुदाउन मिल्ने यो एक विद्युतीय पिकअप ट्रक हो । यसलाई विद्युतीय गाडी आयात गर्ने कम्पनी 'दीगो'ले नेपाली बजारमा भित्र्याएकाे छ ।

यस गाडीमा आरामले पाँच जना बसेर यात्रा गर्न सकिने कम्पनीकाे भनाइ छ । हेर्दा सामान्य अरु पिकअप ट्रक जस्तै देखिने यो गाडी विशेषतः कच्ची सडक अर्थात् अफरोडका लागि बनेको हो । निर्माण तथा उद्योग क्षेत्रका लागि याे गाडी उपयुक्त हुने बताइएकाे छ । 

विशेषता 

सामान्यतः विद्युतीय सवारीसाधनमा ‘रेन्ज’ र ‘चार्ज’ लाई प्रमुख विषय बनाइन्छ । यस पिकअप ट्रकको रेन्ज ३३० किलोमिटर भएको कम्पनीले जनाएको छ । त्यस्तै दुईदेखि १० घण्टामा फुल चार्ज हुन्छ । यस ट्रकलाई एसी वा डीसी चार्जरबाट चार्ज गर्न सकिन्छ ।

एसी चार्जरबाट १० घण्टा र डीसी फास्ट चार्जरबाट दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ । तर सामान्य चार्जरबाट भने १८ देखि २० घण्टामा मात्रै फूल चार्ज गर्न सकिन्छ ।

यस गाडीमा डीसी चार्जर पछाडि बायाँपट्टि रहेको छ । यसले गर्दा डीसी चार्ज गर्दा समस्या हुँदैन । तर एसी चार्जर गर्न गाडीको बोनेट खोल्नुपर्ने हुन्छ, जुन अलिक व्यवहारिक नहुन सक्छ ।

कम्पनीका अनुसार यस गाडीको ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ । यसले गर्दा अफरोडमा त्यस्तो समस्या नहुने कम्पनीको दाबी छ ।

गाडीको अगाडिको पाङ्ग्रामा ‘डिस्क ब्रेक’ र पछाडिको पाङ्ग्रामा ‘डम्प ब्रेक’ दिइएको छ । त्यस्तै यसमा ‘इको’ र ‘ड्राइभ’ मोड मात्र रहेको छ । कतिपय विद्युतीय गाडीमा स्पोर्टस मोड पनि हुने हुन्छ । तर यसमा भने त्यो मोड दिइएको छैन । त्योसँगै यसमा दुर्घटनाबाट बचाउने ‘एयरब्याग’ समेत दिइएको छैन । 

थप विशेषता

यस गाडीको अधिकतम गति १०० प्रतिकिलोमिटर छ । त्यस्तै यसले ८०० केजीसम्म वजन भार गर्न सक्छ । गाडीको अगाडि भागमा भएको दुई ओटा सिट भएको सेक्सनमा ‘एयर कन्डिसनिङ - एसी’ रहेको छ ।

तर पछाडिको तीन ओटा सिटका लागि भने यो सुविधा छैन । गाडीभित्रको कन्सोल, सिट आदिको डिजाइन औसत छ । सवारी चालकको छेवैमा ह्यान्ड रेस्ट/कप होल्डर छन् । यसमा ब्लुटुथ कनेक्सन लगायतका अन्य केही फिचर छन् ।

तर यी सबै फिचरहरू गाडीको मूल्यमा भने ठीकै छन् । यसमा ३६० डिग्री क्यामेरा छैन । रिभर्स क्यामेरा र रिभर्स सेन्सर छ । यसले पार्किङ गर्न सहयोग गर्छ ।

त्यस्तै गाडीमा ‘हिल असिस्ट’ फिचर छ, यसले उकालो/ओरालो वा जाममा पर्दा केही सेकेन्डका लागि ब्रेकको काम गर्छ ।

मूल्य र वारेन्टी 

कम्पनीले यस गाडीको मोटर र ब्याट्रीमा वारेन्टी दिएको छ । जसअनुसार यी दुवैमा तीन वर्ष र एक लाख किलोमिटर दूरी पार नगरिन्जेलसम्म वारेन्टी पाइन्छ ।

तर गाडीमा समस्या भए दिगोमा मर्मत गर्न सकिने कम्पनीले जनाएको छ । यसको मूल्य भने ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १२:२१