close

सीसीटिभी क्यामरा जडान गर्न प्रहरीलाई काठमाडौं महानगरले ६ करोड रुपैयाँ दिने

टेकपाना टेकपाना

बैशाख ७, २०८० २२:४४

सीसीटिभी क्यामरा जडान गर्न प्रहरीलाई काठमाडौं महानगरले ६ करोड रुपैयाँ दिने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो ।

यसका लागि बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् तीन करोड रुपैयाँ आउँदो १५ दिनभित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइने महानगरले बताएको छ ।

सम्झौता अनुसार राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुने बताइएको छ । क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक बत्तीको व्यवस्था गरिनेछ । निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ ।

महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान यकिन गरिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० २२:४४