केही साताअघि मोनिल अधिकारी सरले डिजिटल फरेन्सिक लेक्चरका क्रममा साइबर किल चेनसँग सम्बन्धित एउटा घटना सुनाउनु भयो । जहाँ सरले मनोज धमलाको फेसबुक पेजमा एउटा वेबसाइटको लिङ्क राखिएको, तर त्यस्तो लिङ्कमा क्लिक गर्दा भित्रै अर्कै यूआरएल खुलेको बताउनुभयो ।
मोनिल सर पनि उक्त घटना कसरी भएको होला भनेर अनुसन्धान गरिरहनु भएको थियो । सरले उक्त घटनाबारे बेलीविस्तार लगाएपछि म पनि उक्त घटनालाई अनुसन्धान गर्न प्रेरित भएँ ।
मनोज धमला अस्ट्रेलियाको सिड्नीमा बस्ने एक नेपाली सोसल मिडिया इन्फ्लुयन्सर रहेछन् । जो अहिले एमडी क्रियसन नामक डिजिटल मार्केटिङ कम्पनी सञ्चालन गर्दै आइरहेका छन् ।
चार लाख ६३ हजार बढी फलोअर रहेको उनको फेसबुक पेजमा अधिकांश मानिसहरू डिजिटल मार्केटिङको क्षेत्रमा चासो राखिरहेका हुन्छन् । मनोज धमलाको प्रोफाइल हेर्ने क्रममा हामी यो फेसबुक पोस्टमा आइपुग्यौं ।
यो पोस्ट हेर्दा सामान्य लाग्छ । जहाँ अनलाइनखबर डटकममा लेखिएको लेख शेयर गरेको देखिन्छ । तर, जब मैले माउसको क्रसर उक्त पोस्टमा लगेर क्लिक गरेँ, तब म गुगल साइटको पेजमा पुगेँ । त्यसपछि यो घटना मलाई झनै रहस्यमयी लाग्यो ।
सामान्यतः पोस्टमा जुन यूआरएल देखिएको हुन्छ, लिङ्कमा क्लिक गर्दा त्यही यूआरएल खुल्छ ।
तर, यो घटनामा बाहिर पोस्टमा एउटा लिङ्क थियो, तर क्लिक गरेपछि त्यहाँ फरक यूआरएल देखियो । फेसबुक पोस्टमा एउटा यूआरएल, तर त्यही यूआरएलको पोस्टमा क्लिक गर्दा भित्र अर्कै यूआरएल खुल्न कसरी सम्भव भयो भन्ने स्पष्ट थिएन ।
सुरुमा मलाई यो घटना ओपन ग्राफ (ओजी) म्यानुपुलेसन हो कि भन्ने लागेको थियो । यस्तोमा प्रिभ्यु इमेज एउटा हुन्छ र भित्र अर्कै फोटो हुन्छ ।
भन्नुको अर्थ फेसबुक पोस्टमा लिङ्क शेयर गर्दा जुन फोटो वा टाइटल राखिएको छ, लिङ्क खोल्दा त्यो फोटो वा शीर्षक नदेखिने अवस्थालाई 'ओजी म्यानुपुलेसन' भनिन्छ ।
तर, यहाँ त यूआरएल नै फरक राखिएको थियो । यद्यपि आशिष भण्डारी (अविसम) को सहयोगमा मैले यो घटनाबारे विस्तृत अध्ययनको प्रक्रिया अघि बढाएँ ।