close

यस्तो कम्पनी, जसले तपाईँको पुरानो वा बिग्रिएको फोन किन्छ

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २८, २०८० १६:५५

यस्तो कम्पनी, जसले तपाईँको पुरानो वा बिग्रिएको फोन किन्छ

काठमाडौं । विराटनगरमा कङ्क्रिट वाल निर्माण गर्ने उद्योग सञ्चालन गर्दै आएका अभिषेक अग्रवाल विभिन्न अवसरमा वैदेशिक भ्रमणका गइरेहका हुन्थे । विशेषगरी युरोप तथा एसियाली देशमा घुमघाम गर्न जाँदा उनले त्यहाँ सेकेन्ड ह्यान्ड फोन कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा बुझे ।

त्यसपछि नेपालमा पनि एउटा त्यस्तै सिस्टम बनाउने योजना बनाए, जसले सजिलै सेकेन्ड ह्यान्ड वा बिग्रिएका फोन व्यवस्थापन गर्न सकोस् । उनी 'प्रकृतिप्रेमी' भएकाले पनि फालिएका फोनबाट निस्किने रसायन र अन्य धातुले प्रकृतिलाई पार्ने असरबारे चिन्तित थिए ।

"मान्छेले फोन किन्छ । केही वर्ष प्रयोग गर्छ । र, अर्को नयाँ फोन खरिद गरेपछि पुरानो फोन त्यत्तिकै थन्काएर राख्छ," अग्रवाल भन्छन्, "यस्तो हुँदा मोबाइलको इकोसिस्टम चलायमान भएन । यसरी थन्काएर नराखेको भए अर्को मान्छेले त्यो फोन प्रयोग गर्न पाउँथ्यो ।"

उनी अगाडि भन्छन्, "फोन फोहोरका रूपमा नफाले वा थन्काएर नराखे फोनको इकोसिस्टम पूर्ण हुन्थ्यो । फोनका केही भागहरू निकै महत्त्वपूर्ण हुन्छन् । त्यस्ता पार्ट अर्को डिभाइसमा प्रयोग गर्दा त्यसको मर्मत खर्च कम पर्न सक्थ्यो ।"

यदि फोन प्रयोग गर्नै नमिल्ने अवस्थामा भए त्यसलाई रिसाइकल गरेर नयाँ फोन तयार पार्न सकिने उनको धारणा थियो । यही धारणाले नयाँ व्यवसाय सञ्चालन गर्न खोजिरहेका अग्रवालले गत वर्ष अगस्टमा विदेशी डेभलपरको सहायताले 'नयाँ पुरानो' एप तयार पार्ने योजना बनाए ।

बजार, रिफर्बिश्ड फोनबारे मानिसहरूको विचार जस्ता कुराहरूबारे अध्ययन गरेर उनले केही महिनाअघि गुगल प्लेस्टोरमा एप सार्वजनिक गरे । एप्पल एपस्टोरमा भने यो एप हालसालै सार्वजनिक भएको छ ।

के हो 'नयाँ पुरानो' एप ?

'नयाँ पुरानो' अग्रवालको यस्तो कम्पनी हो, जसले सेकेन्ड ह्यान्ड वा बिग्रिएका फोन खरिद गर्छ । त्यस्ता फोनलाई विभिन्न सर्भिस सेन्टरको सहकार्यमा मर्मत गरिन्छ । र, 'नयाँ पुरानो'को वेबसाइटमार्फत रिफर्बिश्ड फोन खरिद गर्न सकिन्छ ।

त्यति मात्र नभई भौतिक रूपमा मोबाइल फोन खरिद गर्न सकिने पसल वा स्टोरबाट पनि त्यस्ता फोन खरिद गर्न सकिन्छ ।

कसरी हुन्छ फोन खरिद बिक्रीको काम ?

आफ्नो फोन बिक्री गर्नका लागि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ क्लिक गरेर र आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ क्लिक गरेर एप डाउनलोड गर्नपर्ने हुन्छ ।

एप डाउनलोड गरेपछि नम्बर राखेर वा गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्न भनिएको हुन्छ । तपाईंले आफूलाई उपयुक्त माध्यम छानेर अकाउन्ट लगइन गर्न सक्नुहुन्छ । लगइन गरिसकेपछि तपाईंले त्यहाँ मागेका पर्मिसन दिनुहोस् ।

प्रयोगकर्ताका डेटालाई सुरक्षित राख्ने भएकाले ढुक्क भएर पर्मिसन दिनसक्ने सञ्चालक अग्रवाल बताउँछन् । पर्मिसन नदिएको अवस्थामा भने फोनको मूल्य थाहा पाउने प्रक्रिया अगाडि बढ्दैन ।​ 

यति गरेपछि आफू रहेको सहर छान्नुहोस् । अहिले काठमाडौंमा मात्र यो सेवा उपलब्ध छ । विस्तारै नेपालभर विस्तार गर्ने कम्पनीको योजना छ । त्यसपछि तपाईं अन्य क्षेत्रहरू पनि छान्न सक्नुहुन्छ । यस्तोमा तपाईं कुनै एउटा ठाउँमा रहेर अर्को ठाउँमा भएको आफ्नो फोन बिक्री गर्न सक्नुहुन्छ ।

त्यसपछि आफूले प्रयोग गरिरहेको फोन बिक्री गर्ने हो वा अन्य फोन बिक्री गर्ने हो त्यो अप्सन छान्नुपर्छ । यदि आफूले प्रयोग गरिरहेको फोन बिक्री गर्नुपर्ने छ भने 'गेट अ कोट फर दिस डिभाइस' भन्ने अप्सन छान्नुहोस् । अनि पुनः 'गेट अ कोड फर दिस डिभाइस' को अप्सनमा ट्याप गर्नुहोस् । र, 'आई एम रेडी' अप्सनमा ट्याप गर्नुहोस् । 

यति गरेपछि एपमा भएको प्राइस इन्जिनले तपाईंको डिभाइसमा भएका कमजोरी पत्ता लगाउन सुरु गर्छ । यसका लागि तपाईंले एपले निर्देशन दिएका काम गर्नुपर्ने हुन्छ ।

यो चरण सकिएपछि केही प्रश्न सोधिन्छ । विशेषगरी फोनमा के कस्ता हार्डवेयर बिग्रिएका छन्, स्क्रिन तथा ब्याक कभरको अवस्था कस्तो छ भन्ने कुराहरू उत्तर दिनुपर्ने हुन्छ । त्यहाँ राखिएका सबै प्रश्नको उत्तर दिनुभयो भने अन्तिममा तपाईंको फोनको मूल्य देखिन्छ ।​ 

यदि तपाईं उक्त फोनलाई बिक्री गर्न खोज्नु चाहनुहुन्छ भने 'प्लेस अर्डर एट रू ...." को बटनमा ट्याप गर्नुहोस् ।

त्यस्तै त्यही प्लेटफर्मबाट रिफर्बिस्ड फोन खरिद गर्न चाहनुहुन्छ भने 'बाइ अ स्मार्टफोन' को बटनमा ट्याप गर्नुहोस् । उक्त बटनमा ट्याप गरिसकेपछि तपाईं नयाँ पुरानोको वेबसाइटमा जान सक्नुहुन्छ । त्यसपछि कम्पनीको अर्को प्लेटफर्मबाट फोन खरिद गर्न सकिन्छ ।​ 

अग्रवालका अनुसार रिफर्बिश्ड फोन पहिले मानिसहरूले बिक्री गरेका फोनहरूलाई नै मर्मत गरेर ल्याइने फोन हुन् । अहिले भने रिफर्बिश्ड फोन बिक्री गर्ने सुविधा रहेको छैन । पहिले फोन स्टकमा राख्ने र त्यसलाई मर्मत गरी रिफर्बिश्ड फोनका रूपमा बिक्री गर्ने कम्पनीको योजना छ ।​ 

तपाईंले बिक्री गर्ने फोन घरमै लिन आउँछ कम्पनी

प्रयोगकर्ताले बिक्री गर्न लागेको फोन लिन नयाँ पुरानो कम्पनीका कर्मचारी ग्राहकको घरमै पुग्ने अग्रवालले बताएका छन् । भन्छन्, "हाम्रो युनिक फिचर नै यही हो । तपाईंले फोन बिक्रीका लागि अर्डर गर्नुभयो भने हाम्रा कर्मचारी तपाईंको घरमै आइपुग्छन् ।"

त्यसपछि कम्पनीको अर्को एप (कम्पनीले आफ्ना कर्मचारीलाई उपलब्ध गराएको विशेष एप) प्रयोग गरी उक्त फोन पुनः परीक्षण गरिन्छ । त्यसमा तपाईंले पहिले केही सूचना गलत दिनुभएको छ भने फोनको मूल्य घट्ने वा बढ्ने हुनसक्छ । अन्यथा कम्पनीको कर्मचारीले तपाईंकै अघि फोन फ्याक्ट्री रिसेट गरी तपाईंलाई मूल्य दिएर आफ्नो बाटो लाग्छन् । 

चोरीको फोन बिक्री हुनबाट रोक्ने उपाय

विभिन्न अनलाइन प्लेटफर्म तथा भौतिक पसलमा चोरी गरेका वा भेटाएका फोन सजिलै बिक्री हुने अग्रवालको तर्क छ । भन्छन्, "अन्य विभिन्न प्लेटफर्ममा चोरीका फोन बिक्री भइरहेका हुन्छन् । हामीले भने प्रहरीसँग यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर छलफल गरेका थियौं । उहाँहरूले फोन बिक्री गर्दा आधिकारिक बिल वा आईएमईआई नम्बर सहितको आधिकारिक बक्स भए खरिद गर्ने सुझाव दिएपछि त्यसरी नै सिस्टम विकास गरेका छौं ।"

अग्रवालले फोन खरिद गर्दा चोरी भएका फोन सिस्टमले पहिचान गर्ने प्रणालीको व्याख्या गर्दै भन्छन्, ''यदि तपाईंले फोनसँगै आधिकारिक बिल वा आईएमईआई नम्बर सहितको बक्स उपलब्ध गराउनु भएन भने तपाईंको प्रक्रिया अघि बढ्दैन । यसरी कम्पनीले हराएका वा चोरी भएका फोन खरिद नगर्ने सिस्टम विकास गरेको छ ।''

पुराना वा सेकेन्ड ह्यान्ड फोन लिएर के गर्छ कम्पनी ? 

कम्पनीको मुख्य उद्देश्य भनेको नै अरुले रहर पूरा गरिसकेका फोन आवश्यक पर्ने व्यक्तिलाई सुपथ मूल्यमा उपलब्ध गराउनु हो । यसका लागि सबैभन्दा पहिले प्लेटफर्मबाट बिक्रीका लागि आएका फोन स्टकमा राख्ने र विभिन्न सर्भिस सेन्टरसँग सहकार्य गरी त्यसैमा फोन मर्मत गर्ने अग्रवाल सुनाउँछन् ।

यसरी मर्मत गरेका फोन कम्पनीको वेबसाइटबाट खरिद गर्न सकिन्छ ।

त्यस्तै त्यस्ता फोन विभिन्न मोबाइल पसलमा उपलब्ध गराउने उनले जनाए ।

"मैले रिसर्च गर्दा ३०० बढी पसलमा रिफर्बिश्ड फोन बिक्री हुने रहेछ भन्ने पत्ता लगाएँ । हामीले मर्मत गरेर ल्याएका फोन ती मोबाइल पसलमा उपलब्ध गराउँछौं," अग्रवाल रिफर्बिश्ड फोन बिक्री गर्ने कुरालाई प्रकाश पार्दै भन्छन् ।

त्यस्तै रिफर्बिश्ड फोन धेरै भएको खण्डमा त्यस्ता फोनलाई अविकसित देशमा बिक्रीका लागि लैजाने कम्पनीको योजना छ ।

सिस्टम तयार पार्न ३५ लाख बढी खर्च

नयाँ पुरानोको कस्टमर एप, स्टाफ एप तथा प्राइस इन्जिन विकास गर्न हालसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको अग्रवालको भनाइ छ ।

"हामीले यो सबै सिस्टम बाहिरको कम्पनीबाट तयार पारेका छौं," अग्रवाल भन्छन्, "यसका लागि अहिलेसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।"

आफू एप निर्माणका लागि लागेको मूल्य उठाउनेभन्दा पनि मोबाइल इकोसिस्टमलाई चलायमान राख्न, मानिसहरूलाई सुपथ मूल्यमा रिफर्बिश्ड फोन उपलब्ध गराउन र प्रकृतिमा विद्युतीय फोहोरको मात्रा कम गर्न गर्नतर्फ केन्द्रित भएको उनको भनाइ छ ।

किन बिक्री गर्ने आफूले प्रयोग गरिरहेको फोन ?

मानिस स्वभावैले नयाँ कुराहरू परीक्षण गर्न रुचाउने प्राणी हो । मान्छे आफूले प्रयोग गरिरहेको फोन प्रयोग गर्दा गर्दै त्यसमा केही कमजोरी पाए वा बजारमा त्योभन्दा राम्रो फोन देख्दा त्यही प्रयोग गर्न रुचाउँछ ।

त्यसैले आफ्नो फोनमा केही समस्या आएको छ वा आफू नयाँ फोन खरिद गर्न इच्छुक छ र पुरानो फोन के गर्ने भन्ने द्विविधामा छ भने फोन 'नयाँ पुरानो' मार्फत बिक्री गर्न सक्ने अग्रवाल बताउँछन् ।

"हामीले कुनै फोन फोहोरमा फालिदियौं भने त्यसमा भएका रसायनले हाम्रो प्रकृतिलाई गम्भीर असर पुर्‍याउनुका साथै मानव स्वास्थ्यमा पनि विभिन्न किसिमका जोखिम ल्याइरहेका हुन्छौं," अग्रवाल भन्छन्, "यदि हामीसँग हाम्रा जस्तोसुकै फोन खरिद गरिदिने प्लेटफर्म छन् भने किन फोन बिक्री नगर्ने त ?"

कम्पनीको चुनौती तथा भावी योजना

'नयाँ पुरानो'का संस्थापक अग्रवालको यो व्यवसाय नयाँ भएपनि व्यावसायिक क्षेत्रमा सक्रिय भएको उनको दुई दशकको अनुभव छ । त्यसैले पहिले आफ्नो योजना अनुरूप मानिसहरूको फोन खरिद गरेर स्टकमा राख्ने, त्यसलाई मर्मत गर्ने र विभिन्न प्लेटफर्मबाट बिक्री गर्ने रणनीतिका साथ उनी अघि बढेका छन् ।

मोबाइल फोनबाट सुरु भएको उनको व्यवसाय भावी दिनमा अन्य विद्युतीय उपकरणमा पनि विस्तार गर्ने योजना छ ।

बजारमा प्रवेश गरेसँगै चुनौती देखा पर्ने हुँदा अहिले नै चुनौती पहिचान नभइसकेको उनी बताउछँन् । भन्छन्, "चुनौती भन्ने कुरा त काम गर्दा गर्दै देखा पर्छन् र ति समस्यालाई कामसँगै समाधान गर्दै लग्नुपर्छ ।"

अहिले काठमाडौंमा मात्र सुरु भएकाले त्यति चुनौतीको सामना गर्न नपरेकाे उनको अनुभव छ । यद्यपि प्रयोगकर्ताबाट फोनको मूल्यमा चित्त नबुझ्न सक्ने चुनौती उनीहरूका अघि खडा छ । यात्रा गर्दा मोडमा आउने चुनौतीलाई समाधान गर्ने आत्मविश्वासका साथ अग्रवाल 'नयाँ पुरानो' प्लेटफर्मलाई अगाडि बढाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १२:५८