close

कस्तो छ टाटा नेक्सन ईभी म्याक्स ?

टेकपाना टेकपाना

जेठ १६, २०८० १८:४५

कस्तो छ टाटा नेक्सन ईभी म्याक्स ?

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी भित्र्याउने कम्पनीमध्ये एक हो, सिप्रदी ट्रेडिङ । सिप्रदीले हालै नेपालमा टाटा नेक्सन ईभी म्याक्स ल्याएको छ । यसअघि ल्याएका अन्य टाटा नेक्सनका मोडेल लोकप्रिय भएपछि यो गाडी भित्र्याएको कम्पनीले जनाएकाे छ ।

टेकपानाले सिप्रदी ट्रेडिङमा नै गएर उक्त विद्युतीय सवारीको ‘फस्ट इम्प्रेसन’ सामग्री बनाएको छ, जहाँ गाडी कस्तो छ, ग्राहकहरूको गुनासो के छ, कम्पनीले त्यसलाई कसरी लिइरहेको छ जस्ता विषयमाथि चर्चा गरिएको छ ।

कस्तो छ गाडी ?

यो गाडी झट्ट हेर्दा टाटा नेक्सन इभी प्राइम जस्तै देखिन्छ । तर फिचर र फर्फर्मेन्सका आधारमा फरक छ । यसमा ४०.५ किलोवाट आवरको ब्याट्री छ । त्यस्तै प्राइम मोडेलको भन्दा ठूलो १०० किलोवाट क्षमताको मोटर दिइएको छ ।

कम्पनीले यो गाडी सिङ्गल चार्जमा ४५३ किलोमिटर गुड्ने बताउने गरेको छ । यद्यपि नेपाली सडकमा ३०० किलोमिटर मात्र आशा गर्नु उपयुक्त हुन्छ । ड्राइभिङ प्याटर्न, तापक्रम, भूगोल आदिले रेञ्जमा फरक पर्ने गर्छ ।

ब्याट्री चार्ज गर्न दुई विकल्प दिइएको छ । ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्न १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा ६ घण्टामै फुल चार्ज गर्न सकिन्छ । तर ५० किलोवाटको डीसी चार्जरबाट भने एक घण्टामा नै फुल चार्ज गर्न सकिन्छ ।

नेक्सन म्याक्समा प्राइम मोडेलको तुलनामा थप फिचर दिइएको छ । जसमा ‘पार्क मोड’ सहितको इलुमिटेड गियर नव, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरी फायर, चार ओटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि पर्छन् ।

त्यस्तै, सुरक्षाका लागि ईएसपी तथा हिल होल्ड असिस्ट दिइएको छ । यसका साथै स्मार्टवाच कनेक्ट, वायरलेस मोबाइल चार्जिङ तथा क्रुज कन्ट्रोलको सुविधा थपिएको छ । यो सेतो, निलो र खैरो रङमा उपलब्ध छ ।

त्यस्तै यसको 'एक्सजेड प्लस' र 'एक्सजेड प्लस लक्जरी' गरी दुई ओटा भेरियन्ट रहेको छ । यसमा इकोनोमी, सिटी र स्पोर्ट्स गरी तीन मोड दिइएको छ । यी मोड परिवर्तन गर्दा आवाजबाट त्यसको जानकारी पाइन्छ ।

यी प्रत्येक मोडले फरक-फरक रेञ्ज र पिकअप लेभल दिन्छ । त्यस्तै कम्पनीले गाडीमा आठ वर्ष र एक लाख ६० हजार किलोमिटरमा वारेन्टी दिएको छ, जुन ब्याट्री र मोटरमा मात्र लागू हुन्छ ।

ग्राहकरूको गुनासो

यो गाडि खरिद गर्ने ग्राहकहरूले विशेष गरेर चार्जिङ स्टेसनबारे गुनासो गर्ने गरेका छन् । तीमध्ये भरतपुर चार्जिङ स्टेसन एक हो । यसमा चार्ज गर्न लामो समय पर्खनुपर्ने र त्यसले समयको बर्बाद हुने उनीहरूको तर्क छ ।

तर यसको समाधान गर्न आफूहरू लागि परेको बताउँछन् कम्पनीका सेल्स इन्चार्ज सुजन कार्की । उनका अनुसार कम्पनीले चार्जिङ पोइन्टहरू थप्ने काम गरिरहेको छ । 

उनी स्वयं चार्जिङको समस्या समाधान पूर्ण रूपमा कहिले पनि निर्मूल नहुने बताउँछन् । बरु गाडीको संख्या थपिँदै जाँदा त्यहीअनुसार  चार्जिङ गर्नेको सुविधा पनि बढाउँदै लैजाने योजना भएको उनी सुनाउँछन् ।

“सन् २०२१ मा आठ ओटा डीसी चार्जिङबाट सुरु गरेका थियौं,” उनी भन्छन्, “अहिले हामीसँग १९ ओटा डीसी चार्जिङ छन् । देशैभर १५० भन्दा धेरै एसी चार्जिङ पोइन्टहरू छन् ।”

त्यस्तै भविष्यमा अहिले डीसी चार्जिङ भएको ठाउँमा दुई ओटा गन राख्ने योजना भएको पनि उनी सुनाउँछन् । त्यसो गर्दा एकैपटक दुई ओटा गाडी चार्ज गर्न सकिने उनको भनाइ छ ।

साथै अहिले आफूहरूले ग्राहक सेवालाई निकै प्राथमिकतामा राखेको उनी बताउँछन् । ‘उत्पादन एकपटक बिक्री हुन्छ, तर सेवा त बारम्बार बिक्री भइरहन्छ । यही हामी भएर हामी ग्राहक सेवामा बढी केन्द्रित भएका छौं,” उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १९:३०