close

कर वृद्धिपछि कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

टेकपाना टेकपाना

जेठ १७, २०८० १६:५२

कर वृद्धिपछि कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गरेको कर वृद्धिका कारण नेपालमा हाल लोकप्रिय रहेका विद्युतीय गाडीको मूल्य बढ्ने निश्चित भएको छ । बजेटसँगै ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा १८ देखि २० प्रतिशत मूल्य बढ्ने देखिएको हो । 

सरकारले ५० देखि १०० किलोवाट क्षमताको नयाँ वर्ग सिर्जना गरी त्यसमाथि ३०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीको करको दर हेरफेर गरेको छ । यसबाट ५० किलोवाट क्षमताभन्दा मुनी र ३०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको मूल्य भने फरक पर्ने छैन । 

सरकारले पछिल्लो समय नेपालमा बढी माग र बिक्री भइरहेका विद्युतीय गाडीलाई निशानामा बनाएर कर वृद्धि गरेको छ । यसै लागि ५० देखि १०० किलोवाट क्षमताको नयाँ वर्ग सिर्जना गरी कर १५ प्रतिशतभन्दा बढी कर वृद्धि गरिएको हो । 

महँगिए ५० देखि १०० किलोवाट क्षमताका गाडी

५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र पाँच प्रतिशत भन्सार बढाइएको छ । यसबाट यो नयाँ सेग्मेन्ट अन्तर्गत पर्ने गाडीहरूको मूल्य १८ देखि २० प्रतिशतसम्मले वृद्धि हुने व्यवसायीहरूले बताएका छन् ।

जसअनुसार नेटाभी, टाटा नेक्सन ईभी, टाटा टिगोर ईभी, एमजी जेडएस ईभी, बीवाईडी एट्टो थ्री, बीवाईडी न्यू ई सिक्स, बीवाईडी एम थ्री (भ्यान), हुन्डाई कोना जीएल तथा कोना जीएलएसको मूल्य बढ्नेछ । 

नेटा भी

सीजी मोटर्सले बिक्री गर्दै आएको चिनियाँ विद्युतीय गाडी नेटा भीको मूल्य यसअघि ३७ लाख ९९ हजार रुपैयाँ रहेको  थियो । कर वृद्धिका कारण यो गाडीमा झण्डै सात लाख रुपैयाँले मूल्य वृद्धि हुने अनुमान गरिएको छ । जसबाट नेटा भीको मूल्य ४५ लाख रुपैयाँसम्म पुग्न सक्छ । 

टाटा नेक्सन ईभी (प्राइम)

टाटा नेक्सन ईभी प्राइम अन्तर्गत एक्सएम, एक्सजेड, एक्सजेड प्लस लक्स गरी तीन ओटा भेरियन्ट रहेका छन् । जसमा सात लाख रुपैयाँदेखि सात लाख ८० हजार रुपैयाँसम्म मूल्य वृद्ध हुन सक्छ ।

नयाँ करको दर लागू हुँदा टाटा नेक्सन एक्सएमको मूल्य ४६ लाख रुपैयाँ, एक्स जेड प्लसको मूल्य ४८ लाख ५० हजार रुपैयाँ, एक्स जेड प्लस लक्सको मूल्य ५१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 

टाटा नेक्सन ईभी म्याक्स

टाटा मोटर्सले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको टाटा नेक्सन ईभी म्याक्सको मूल्य बिक्री नहुँदै वृद्धि हुने देखिएको छ ।

कम्पनीले यसअघि ४६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेको भए पनि अब कर वृद्धि भएपछि यो गाडीको मूल्य करिब साढे आठ लाख रुपैयाँले बढेर झण्डै ५५ लाख रुपैयाँ हाराहारी पुग्नेछ । 

टाटा टिगोर ईभी

टाटाको अर्को ईभी टाटा टिगोर अन्तर्गत एक्सई, एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस डीटी गरी चार ओटा भेरियन्ट बजारमा उपलब्ध छन् । यी गाडीहरूमा पनि साढे पाँच लाख रुपैयाँदेखि छ लाख रुपैयाँसम्म मूल्य वृद्धि हुने अनुमान गरिएको छ ।

नयाँ करको दर लागू भएसँगै टाटा टिगोर एक्सईलाई ३६ लाख रुपैयाँ, एक्सएमलाई ३७ लाख रुपैयाँ, एक्सजेड प्लसलाई ३९ लाख रुपैयाँ र एक्सजेड प्लस डीटीलाई ४० लाख रुपैयाँसम्म पर्ने देखिन्छ । 

एमजी जेडएस ईभी

एमजी जेडएस ईभी अन्तर्गत ५० देखि १०० किलोवाट क्षमताको वर्गमा कम्फर्ट र डिलक्स गरी ओटा भेरियन्ट बजारमा आएका छन् । जसमा नौ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुन सक्छ ।

बजेटबाट गरिएको कर वृद्धिका कारण अब ४८ लाख ४९ हजार रुपैयाँ पर्ने एमजी जेडएस ईभी (कम्फर्ट) को मूल्य ५७ लाख ५० हजार रुपैयाँ र एमजी जेडएस ईभी (डिलक्स) को मूल्य ६२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

बीवाईडी एट्टो थ्री

यसअघि चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको एट्टो थ्रीको मूल्य नेपाली बजारमा ६४ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

अब कर वृद्धिका कारण यसको मूल्य करिब साढे ११ लाख रुपैयाँले बढेर ७७ लाख रुपैयाँसम्म पुग्ने देखिन्छ ।  

बीवाईडी न्यू ईसिक्स

यसअघि ५९ लाख रुपैयाँमा उपलब्ध यो बिजुली गाडीलाई नयाँ बजेटका कारण झण्डै ११ लाख रुपैयाँले बढेर करिब ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । 

हुन्डाई कोना ईभी

हुन्डाईले कोना मोडेलमा जीएल र  जीएलएस गरी दुई ओटा भेरियन्टमा विद्युतीय कार बिक्री गर्दै आएको छ । यी गाडीहरूमा ११ लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुने अनुमान छ ।

नयाँ करको दर लागू भएपश्चात कोना जीएलको मूल्य ६१ लाख ९६ हजार रुपैयाँबाट बढेर ७३ लाख रुपैयाँ र कोना जीएलएसको मूल्य ६४ लाख ५६ हजार रुपैयाँबाट बढेर ७६ लाख रुपैयाँसम्म पुग्ने अनुमान छ । 

तर घट्नेछ यी विद्युतीय गाडीको मूल्य

चालू आर्थिक वर्षको बजेटमार्फत एक्कासी कर वृद्धि गरिएका १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय गाडीको कर भने आगामी आर्थिक वर्षको बजेटबाट घटाइएको छ । जसमा समान ३० प्रतिशत रहेको भन्सार र अन्तशुल्क १०/१० प्रतिशतले कटौती गरिएको छ ।

यसबाट यो वर्गमा पर्ने एमजी जेडएस ईभी (लङ्ग रेञ्ज), हुन्डाई आयोनिक फाइभ, टेस्ला मोडेल थ्री र निसान लिफ जस्ता बिजुली गाडीको मूल्य १६ लाख ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मले घट्ने अपेक्षा गरिएको छ । 

एमजी जेडएस ईभी (लङ्ग रेञ्ज)

यसअघि ८१ लाख ९९ हजार रुपैयाँ पर्ने यो गाडीको मूल्य २० प्रतिशतभन्दा बढीले कर घट्दा करिब १६ लाख ५० हजार रुपैयाँले सस्तिएर ६५ लाख हाराहारीमा उपलब्ध हुनेछ । 

हुन्डाई आयोनिक फाइभ

यो गाडीको मूल्य यसअघि नेपालमा एक करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

बजेटपछि यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ जतिले घटेर ९३ लाख रुपैयाँमा उपलब्ध हुने अनुमान गरिएको छ । 

टेस्ला मोडेल वाई

टेस्ला मोडेल वाईलाई यसअघि नेपालमा एक करोड २५ लाख रुपैयाँ पर्ने गरेको थियो ।

तर अब कर सहुलियतका कारण २५ लाख रुपैयाँ हाराहारीले सस्तिएर एक करोड रुपैयाँ आसपासमा उपलब्ध हुनेछ । 

निसान लिफ

निसानको बिजुली गाडी लिफको मूल्य बजेट अघि ६४ लाख ९९ हजार रुपैयाँ रहेको  थियो । अब १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क घटेपछि करिब ५२ लाख रुपैयाँ हाराहारीमा यो गाडी पाउन सकिनेछ ।

२०० देखि ३०० किलोवाटका गाडी पनि केही सस्तिँदै

त्यसो त सरकारले २०० किलोवाट देखि ३०० किलोवाट क्षमताका विद्युतीय गाडीमा समेत केही सहुलियत दिएको छ । यी गाडीमा ५० प्रतिशत अन्तशुल्क कायम रहेको भए पनि भन्सार महसुल भने ४५ प्रतिशतबाट ४० प्रतिशतमा झारिएको छ । जसको लाभ टेस्ला मोडेल वाईका स्ट्यान्डर्ड रेञ्ज र लङ्ग रेञ्जले पाउने छन् ।

पाँच प्रतिशत घर घट्दा टेस्ला मोडेल वाईको स्ट्यान्डर्ड भेरियन्टको मूल्य दुई करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ९९ लाख रुपैयाँमा झर्ने र लङ्ग रेञ्जको मूल्य दुई करोड ३५ लाख रुपैयाँबाट सस्तिएर दुई करोड २३ लाख रुपैयाँमा आउने अनुमान छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १६:५२