close

एआईको विरोध गर्ने एलन मस्कले खोले अन्ततः आफ्नै एआई कम्पनी ‘एक्स एआई’

टेकपाना टेकपाना

असार २८, २०८० ९:३६

एआईको विरोध गर्ने एलन मस्कले खोले अन्ततः आफ्नै एआई कम्पनी ‘एक्स एआई’

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीको घोषणा गरेका छन् । पछिल्लो समय एआईको चर्चा बढेसँगै मस्कले सञ्चालनमा ल्याउने भनिएको ‘एक्सएआई’ स्टार्टअप बुधबार सार्वजनिक भएको हो ।

बीबीसीका अनुसार मस्कको नयाँ कम्पनी ‘एक्सएआई’ मा ओपनएआई र गुगलमा काम गरिसकेका इन्जिनियर छन् । एआई विकासका काम रोक्नुपर्छ, एउटा निष्पक्ष निकाय बनाएर एआईका काम नियमन गर्नुपर्ने भन्दै यसअघि मस्कले आफ्नो सो परियोजना स्थगित गरेका थिए ।

अहिले भने हरेक आधारभूत कुराको वास्तविकता बुझाउने उद्देश्यले एक्सएआई ल्याएको मस्कको भनाइ छ । यो आर्टिफिसयल इन्टेलिजेन्स कम्पनी के कुरामा केन्द्रित हुन्छ, कति लगानी गरिएको छ, यसको प्रमुख उद्देश्य के के हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आइसकेको छैन ।

एक्सएआईको ट्वीटर ह्यान्डलबाट भएको ट्वीटमा भने कम्पनीले आफ्नो प्रमुख लक्ष्य भनेकै ब्रह्माण्डको प्रकृतिबारे बुझाउने रहेको उक्लेख छ । शुक्रबार ट्वीटरमार्फत हुने भर्चुअल मिटिङ (ट्वीटर स्पेसेस) मा कम्पनीले आफ्ना आगामी योजना र लक्ष्यहरूको थप विवरण सार्वजनिक गर्ने बताइएको छ ।

एलन मस्क पछिल्लो समय भाइरल भएको एआई टुल च्याटजीपीटी निर्माता ओपनएआईका सह-संस्थापक समेत थिए । सो टुल विभिन्न कारणले बारम्बार विवादमा आइरहेको छ । सुरुवातीमा विद्यार्थीलाई चिटिङ गर्न सघाएको भन्दै च्याटजीपीटी विवादमा तानिएको थियो ।

मस्कले पनि च्याटजीपीटीको आलोचना गर्दै आएका थिए । विशेषतः कम्पनी माइक्रोसफ्टद्वारा नियन्त्रित भएकोमा मस्क असन्तुष्ट थिए । गैरनाफामुखी र मानव हितका लागि स्थापना भएको कम्पनी माइक्रोसफ्टसँग मिलेर नाफामा केन्द्रित भएको भन्दै मस्कले दु:खेसाे व्यक्त गरेका थिए ।

“कुनै पनि गैरनाफामूखी र ओपन सोर्स कुरा नाफा र क्लोज्ड सोर्समा रुपान्तरण हुँदा औडाह देखिने रहेछ,” ओपन एआईलाई सङ्केत गर्दै सीएनबीसीको अन्तर्वार्तामा मस्कले भनेका थिए । एआई विकासका काम रोक्नुपर्ने भन्दै मस्कले करिब ३३ हजार हस्ताक्षर समेत सङ्कलन गरेका थिए ।

त्यस्तै बीबीसीसँगको अन्तर्वार्तामा मस्कले आफू एआई सुरक्षाबारे चिन्तित भएको बताएका थिए । “मलाई लाग्छ पब्लिकलाई एआईबाट हुने कुनै पनि खतराबाट जोगाउनका लागि एउटा एआई नियामक हुनैपर्छ,” बीबीसीसँग गत अप्रिलमा मस्कले भनेका थिए ।

यसैगरी एआई च्याटबटलाई तालिम दिन प्रयोग गरिएका डेटाबारे पनि मस्क चिन्तित थिए । मानिस कसरी अन्तरक्रिया गर्छ भन्ने कुरा बुझ्नका लागि सफ्टवेयरले विभिन्न प्लेटफर्मबाट डेटा चोरी (डेटा स्क्र्यापिङ) गरेको समेत मस्कको आरोप थियो । यतिसम्म कि एआई च्याटबटले ट्वीटरमा सार्वजनिक रूपमा उपलब्ध हुने डेटा चोरी गरेको उनको आरोप थियो ।

पछिल्लो अध्यावधिक: असार २८, २०८० ९:३६