close

पार्सल पठाइदिएको प्रलोभनमा मेसेञ्जरबाट ठगी गर्ने ७ जना पक्राउ, भेटियो १ अर्ब ९ करोडको कारोबार

टेकपाना टेकपाना

असार २८, २०८० १२:२८

पार्सल पठाइदिएको प्रलोभनमा मेसेञ्जरबाट ठगी गर्ने ७ जना पक्राउ, भेटियो १ अर्ब ९ करोडको कारोबार

काठमाडौं ।   सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-५ इन्द्र टोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय आईटी इन्जिनियर प्रवीण भट्ट समेत ७ जना रहेको प्रहरीले जनाएको छ । 

भट्टसँगै पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २, सिमराका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह रहेका छन् ।

त्यस्तै उक्त आरोपमा गुल्मीको इस्मा गाउँपालिकाका ५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका १, बेलौती बारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका २० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

उदयपुर कटारी नगरपालिका-४ बस्ने एक ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर तथा ह्वाट्सएप मार्फत उनीहरूको कुराकानी सुरु भएको थियो ।

त्यस क्रममा “तपाईंलाई सामान र ७० हजार अमेरिकी डलर पठाइदिएको छु” भन्दै ती महिलालाई त्यसको करको नाममा एक लाख ३० हजार ६२७ रुपैयाँ पठाउन लगाएका थिए । यसरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको   हो ।

साथै अनुसन्धानबाट उनीहरूले खोलेको संस्थाको खातामा एक वर्षको अवधिमा एक अर्ब, नौ करोड, एक लाख, ४२ हजार, ३९३ रुपैयाँको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

 

पछिल्लो अध्यावधिक: असार २८, २०८० १२:४७