close

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

टेकपाना टेकपाना

असार ३०, २०८० १९:२२

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

काठमाडौं । बैतडीका प्रविन भट्टले यसै वर्ष हिमालय कलेज अफ इन्जिनियरिङबाट स्नातक सके । उनले त्यहाँ बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ पढे । भर्ना हुने समयमा यस कोर्षको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयले परिमार्जन गरेको थियो ।

त्यसक्रममा कम्प्युटरसँग सम्बन्धित धेरै कुराहरू कोर्षको पाठ्यक्रममा थपिएका थिए । उनको रुचि प्रोग्रामिङ गर्नुमा थियो । जुन कुरा कोर्षमा पनि समावेश थियो । यसो हुँदा चार वर्षे कोर्ष गरिरहँदा फ्लटर, पाइथन लगायतका अन्य प्रोग्रामिङ ल्याङ्ग्वेजमा उनी दख्खल बने । 

आठौं सेमेस्टरको अन्त्यतिर विभिन्न कम्पनीमा इन्टर्नशिप तथा जागिरका लागि उनी गएका थिए । तर कतैबाट पनि उनलाई अवसर दिने कुरा आएन । त्यसपछि ‘प्रोग्रामिङ गर्न आउँछ, आफैं केही गरौं’ भन्ने उनलाई लाग्यो । भट्टको यही सोचले जन्मेको हो, किड्स वर्ल्ड- लर्न विथ फन । यो एक मोबाइल एप हो । विशेषत ४ देखि ९ वर्षको उमेर उमूहका बालबालिकालाई केन्द्रित गरेर एप बनाइएको छ । हालै गुगल प्ले स्टोरमा यस एपलाई सार्वजनिक गरिएको छ । 

अहिले बालबालिकाहरू सानै उमेरदेखि मोबाइलको प्रयोगमा अभ्यस्त हुन थालेका छन् । उनिहरू गेम अथवा भिडिओ हेरेर समय व्यतित गरिरहेका हुन्छन् । एप डेभलपर भट्टका साना भान्जाभान्जीहरू पनि त्यसै गर्थे । उनले त्यो बानी ठूलो समस्या भएको देखे । बालबालिकाले मोबाइल नै चलाए पनि  केही सिकून् भन्ने उनलाई लागिरहन्थ्यो । त्यसैको समाधान स्वरुप यो एप विकास गरेको उनले सुनाए । 

एप उनी एक्लैले बनाएका हुन् । यसका लागि छ महिनाभन्दा धेरै समय उनले खर्चेका छन् । यसअघि वेबसाइटहरूको युजर इन्टरफेस (यूआई) बनाउन सहयोग गर्ने युनिबक्स बनाएका उनले यस पटक बालबालिकालाई उपयोगी एप बनाएका हुन् ।

एपमा भएका फिचर

एपमा ‘ट्रेस एन्ड ड्र’, ‘लर्न’, ‘प्ले’ गरी तीन ओटा मुख्य सेक्सन दिइएको छ ।  ‘ट्रेस एन्ड ड्र’मा बालबालिकाले अक्षर, अङ्क सिक्न सक्छन् । यसका लागि ‘डिजिट्’ र ‘लेटर’ गरी थप क्याटगोरी बनाइएको छ । यसैमा भएको ‘कस्टम लेटर’मा अभिभावकले विभिन्न अक्षर तथा शब्द लेखेर त्यसको अभ्यास बालबालिकालाई गराउन सक्छन् ।

विशेषत: त्यहाँ भएका अक्षर तथा अङ्कको ठीकमाथि बालबालिकाले कोरेर अभ्यास गर्छन् । यसै सेक्सनमा भएको ‘ड्रइङ’बाट विद्यार्थीले चित्र बनाउन अभ्यास गर्छन् । ‘होम वर्क’बाट भने बालबालिकाहरूलाई विभिन्न अक्षर तथा अङ्कको अभ्यास गराउन मिल्छ । जसलाई ट्रेस गर्न समेत सकिन्छ । 

एपमा भएको ‘लर्न’ सेक्सनबाट विद्यार्थीले नेपाली तथा अंग्रेजी वर्णमाला, गुणान तालिका, जोड घटाउ, विभिन्न जनावर/फलफुल/सवारी साधनबारे थाहा पाउँछन् ।  कम उमेरका बालबालिकाले पढ्न सिकिसकेका हुँदैनन् । यसैले ती सबैमा ट्याब गर्दा त्यसबारे आवाज आउने गर्छ । यसले बालबालिकालाई पढ्न सहयोग गर्छ । तर यसमा नेपाली अक्षर तथा अङ्कमा आवाज भने आउँदैन । 

एपमा डेभलपर भट्टले एपलाई आकर्षक बनाउन गेमहरू पनि समावेश गरेका छन् । उनले गणित, शब्द, पजल (puzzle) लगायतका गेमहरू एपमा राखेका छन् । ती गेम एपमा नै भएको ‘लर्न’ सेक्सनमा आधारित छन् । यसो हुँदा एपमा नै पढ्ने र त्यही अनसार सिक्ने व्यवस्था गरिएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८० १९:२२