close

क्रिकेट कमेन्टेटर हुँदै पब्जी कास्टर बनेका विपुल भट्टराईको रोचक कथा

टेकपाना टेकपाना

साउन ९, २०८० ९:२

क्रिकेट कमेन्टेटर हुँदै पब्जी कास्टर बनेका विपुल भट्टराईको रोचक कथा

काठमाडौं । विपुल भट्टराई नेपाली पब्जी ईस्पोर्टस क्षेत्रमा परिचित नाम हो । आवाजले उनको पहिचान बनाएको छ । अर्थात् उनी पब्जीका कास्टर हुन् । उनले नेपाली क्रिकेटमा समेत कमेन्ट्री गर्ने गरेका छन् । सामान्यत: कास्टरको काम लाइभ टुर्नामेन्टमा खेलबारे बोल्नु हो ।

खेलाडीले कस्तो खेले, राम्रो/नराम्रो के भयो, अब अगाडि कस्तो हुन्छ, कसरी खेल्दा राम्रो हुन सक्थ्यो लगायतका विषयवस्तु माथि कास्टरले कुरा गर्छन् । विभिन्न माध्यमबाट खेल हेरिरहेकालाई खेलमा बाँधिरहन पनि कास्टरको भूमिका हुन्छ । यसकारण कुनै पनि लाइभ टुर्नामेन्टमा कास्टरको महत्त्वपूर्ण हुन्छ । 

ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) अध्ययनरत उनले नेपाली क्रिकेटको कमेन्ट्री गर्न थालेको पाँच वर्ष भइसकेको छ । पछिल्ला दुई वर्षदेखि भने उनी पब्जी मोबाइल ईस्पोर्टसमा कास्टर, एनालिस्ट र होस्टका रुपमा काम गरिरहेका छन् । बाल्यकालतिर भट्टराईको लक्ष्य क्रिकेटर बन्ने थियो । राष्ट्रिय टोलीमा परेर देशका लागि खेल्छु भन्ने उनी सोच्थे ।

तर पछि उनलाई आफू क्रिकेट खेल्नका लागि जन्मेको होइन भन्ने लाग्यो । अनि क्रिकेट माथिको त्यो सपना उनले देख्न छाडिदिए । तर पनि उनी यसबारे जानकार भने भइराख्थे । टिभीमा क्रिकेट हेर्थे । त्यसो गर्दा कमेन्ट्री गर्नेको आवाज उनलाई निकै मन पर्थ्यो । ‘यो काम कति राम्रो/रमाइलो’ उनी कमेन्ट्री बारे यस्तै सोच्थे । कहिलेकाहीँ टिभीको आवाज म्युट गरेर कमेन्टेटर जसरी बोल्न खोज्थे । त्यसो गर्दा घरका सदस्यले उनलाई ‘पागल’ भन्ने गर्थे । 

एलएससी उत्तीर्णपछि उनी काठमाडौं आए । तर उनको क्रिकेटप्रतिको मोह मरेको थिएन । काठमाडौंमा उनले अलि ‘एक्सपोजर’ पाए । अनि क्रिकेट सम्बन्धी विभिन्न लेख लेख्ने, भिडिओ बनाउने काम गर्न थाले । यसले उनको पहिचान पनि बन्दै गइरहेको थियो । त्यही बीचमा वमेन्स च्याम्पियनशिप लिग  (डब्लूसीएल) हुने भयो ।  त्यस टुर्नामेन्टमा उनलाई कमेन्ट्री गर्ने अवसर आयो । त्यसमा उनी सहभागी भए । त्यो उनको पहिलो कमेन्ट्री थियो । त्यसले उनलाई कमेन्ट्रीमा अनुभवी बनायो ।

त्यसपछि पोखरा प्रिमियम लिग (पीपीएल)मा फेरी कमेन्टेटरको अवसर आयो । त्यसले उनलाई यस क्षेत्रमा एउटा पहिचान दियो । त्यसबेला उनको उमेर १७/१८ मात्र थियो । त्यही टुर्नामेन्टमा नेपाली क्रिकेटको पूर्व कप्तान पारस खड्का लगायत अन्य खेलाडीहरूसँग चिनजान गर्ने मौका पाए । साथै धेरैले उनलाई त्यही टुर्नामेन्टमा गरेको कमेन्ट्रीका आधारमा चिन्न थाले । त्यसपछि उनले विभिन्न क्रिकेट टुर्नामेन्टहरूमा कमेन्ट्री गर्ने मौका पाए । 

यसबीचमा उनी पब्जी खेलिरहन्थे । नेपालमा पब्जी आएदेखि नै आफूले खेल्न थालेको उनी सुनाउँछन् । तर यस क्षेत्रसँग उनको कुनै प्रत्यक्ष सम्बन्ध भने थिएन । यद्यपि नडविन गेमिङ (विभिन्न ईस्पोटर्स प्रतियोगिता गराउने कम्पनी) का लागि नेपालमा काम  गरिरहेका विशाल पराजुली (अन्स वाईटी) ले उनलाई इन्स्टाग्राममा फलो गरेका थिए । अन्स वाईटीले नेपाली नयाँ ट्यालेन्टहरू क-कसलाई नडविन गेमिङको प्रतियोगिताहरूमा सहभागी गराउने भन्ने कुरा निर्धारण गर्थे । उनीहरूले दुवैले एकअर्कालाई प्रत्यक्ष चिनेका थिएनन् । तर को हुन् भन्ने कुरा भने दुवैलाई थाहा थियो । 

त्यसको केही समयपछि नेपालमा पब्जी मोबाइल स्टार च्यालेन्ज (पीएमएससी) भएको थियो । त्यसमा अन्स वाईटी पनि आयोजक समूहमा थिए । उक्त प्रतियोगितामा इन्फ्लुयन्सरको रुपमा पारस खड्कालाई ल्याउने तयारी भएको थियो । तर आयोजकको  खड्कासँग सम्पर्क हुन सकेको थिएन । सोही भएर अन्स वाईटीले भट्टराईलाई सहयोग मागेका थिए । त्यहीँबाट उनीहरूबीच कुराकानी सुरु भएको थियो ।

पछि प्रतियोगिता सम्पन्न हुँदासम्म उनीहरूले राम्रो सम्बन्ध बनाइसकेका थिए । त्यसबेला अन्स वाईटीले उनलाई ईस्पोर्टसमा रुचि छ? कास्टर बन्ने जस्ता प्रश्न सोधेका थिए । रुचि भएको तर आफूले त्यस्तो केही नसोचेको उनले बताएका थिए । त्यसको करिब दुई महिनापछि अन्स वाईटीले उनलाई आवाज परीक्षण गर्न भनेर केही नमूना आवाज मागेका । उनले पठाइदिए । 

पीएमपीएल( पब्जी मोबाइल प्रो लिग ) हुन अगाडि पब्जी मोबाइलले आफ्नो सामाजिक सञ्जालमा ट्यालेन्ट प्रिभ्यूबारे पोस्ट गर्छ । त्यसमा उनको पनि फोटो आयो । त्यससँगै क्रिकेट कमेन्टेटरका रुपमा उनलाई चिन्ने शुभचिन्तकले उनलाई बधाई दिए । अर्थात् उनी पीएमपीएलमा होस्टका रुपमा छनोट भएका थिए । यसरी उनको पब्जी ईस्पोटर्सको यात्रा सुरु भएको थियो । 

पीएमपीएलमा गेम होस्ट गर्न उनी भारत गएका थिए । उनी सँगै गेम एनालिस्ट सन्तोष सापकोटा (इन्फिक्स) र रस्म चन्द्र महरा (रश्मे कास्ट) थिए । यता नेपालबाट मन्दिप रेग्मी र अन्स वाईटीले घरबाट नै कास्टिङको काम गरिरहेका थिए । गेम होस्ट गर्न भारत गएका उनलाई त्यहाँ गएर कास्टिङको काम गर्नु पर्छ भनेर सोचै थिएन । तर उनले पहिलो कास्टिङ भारतमा भएको त्यहि गेममा गरेका थिए । 

पीएमपीएलको फाइनल खेलको बेला कास्टर मन्दिप रेग्मीलाई ज्वरो आयो । उनी अस्पताल नै भर्ना हुन पर्यो । बाँकी रहेका अन्स वाईटीले एक जनाले मात्र पूरै गेममा काम गर्न सक्ने अवस्था थिएन । अझैं ६ गेम बाँकी नै थिए । कास्टर रेग्मीले नसक्ने भएपछि एनालिस्ट भएर गएका इन्फिक्स र रश्मेले ४ गेममा कास्टिङ गरे । तर एनालिस्ट सेग्मेन्ट पनि चलाउनु पर्ने भएकाले उनीहरूलाई भार थपिएको थियो । २ गेम बाँकी नै थियो ।

यसैबीच प्रोडक्सन समूहले भट्टराईलाई कास्टिङ पनि गर्नु भनेर अह्राए । अनि बाँकी २ खेलमा उनले कास्टिङ गरे । त्योसँगै उनको पब्जी कास्टरको पनि यात्रा सुरु भयो । सुरुका दिनमा फ्रिल्यान्सिङ गरिरहेका उनी अहिले भने नडविन गेमिङमा पूर्णकालिन रुपमा आवद्ध छन् ।

कसरी राम्रो कास्टर बन्ने ?

पब्जी कास्टर त्यो हो, जसले यस खेलमा कमेन्ट्री गर्ने काम गर्छ । यो आवाजको काम हो । तर आवाज भन्दा पनि कास्टरमा खेलबारे गहिरो बुझाइ हुनु पर्ने भट्टराई बताउँछन् । “ज्ञान अरुबाट पनि सिक्न सकिन्छ । तर बुझाइ भने आफैं विकास हुने कुरा हो, ” उनी भन्छन्, “जस्तै: दुई ओटा समूहको खेलमा एउटा हार्छ भने अर्कोले जित्छ । अब किन हार्यो? कसरी हार्यो? भन्ने कुरा खेल हेरिरहँदा नै विश्लेषण गर्नु पर्ने हुन्छ । खेल जति हेर्यो, त्यति नै यस बारे आफैं थाहा हुँदै जान्छ ।”

यदि कास्टरको आवाजमा मिठास छैन भने पनि खेललाई गहिरिएर हेर्न चाहनेले मन पराउने उनी तर्क गर्छन् । तर यी दुवै राम्रो भए सुनमा सुगन्ध हुने उनी सुनाउँछन् ।

कुनै पनि टुर्नामेन्ट लाइभ गर्नअघि प्राविधिक तयारी गरिन्छ । जसलाई ड्राई रन भनिन्छ । वास्तविक कार्यक्रमको अघिल्लो दिन पूर्वतयारी गर्नु ड्राई रन हो । राम्रो कास्टर हुन त्यसमा सहभागी हुनु आवश्यक भएको उनी बताउँछन् । त्यो बाहेक इभेन्ट बारे बुझ्ने, खेलाडी बारे बुझ्ने, विभिन्न टिम बारे बुझ्ने जस्ता काम  गर्नु पर्ने सुनाउँछन् । यसका साथै कमेन्टेटरमा शब्द खेलाउन सक्ने क्षमता हुनु आवश्यक भएको उनी सुनाउँछन् । “आफूले बोलेको कुरा अरुले बुझ्न सक्नुपर्छ । अर्थात् तपाईंमा मान्छेलाई बुझाउन सक्ने क्षमता हुनुपर्छ,” उनी भन्छन् ।  

साथै साना ठूला सबै प्रकारका टुर्नामेन्टको कास्टिङलाई उस्तै नजरले हेर्नु पर्ने पनि उनको भनाइ छ । कास्टरहरू खेलमा कहिल्यै चिच्याउने, कराउने, हाँस्ने गर्नु सामान्य हो । तर लामो खेलमा भने सामान्य कुराकानी गरे जसरी प्रस्तुत हुन्छन् । त्यसको कारण धेरै समय लगातार बोलिरहन पर्ने भएकाले गाह्रो हुने उनी भन्छन् । यसकारण यो कुरामा पनि सचेत हुनु पर्ने उनको सुझाव छ । तर कास्टरको यस्तै स्वभावबाट  दर्शकले खेलको आनन्द लिइरहेका हुन्छन् । 

स्ट्रमिङ कसरी हुन्छ ?

खेलाडीलाई खेलमा सहभागी गराउन टुर्नामेन्ट रुम कार्ड बनाइएको हुन्छ । टुर्नामेन्ट लिग गराउने अपरेटरहरूले त्यस्ता रुम बनाउने, खेलाडीहरूलाई डिस्कर्डको माध्यमबाट जोड्ने, उनीहरूलाई रुमको आईडी तथा पासवर्ड दिने जस्ता काम गर्छन् । 

त्यसपछि खेलाडीहरू गेम हुने रुममा छिर्छन् । कास्टिङ गर्नेहरूले ती फिड हेरिरहेका हुन्छन् । त्यसैको आधारमा उनीहरूले कास्टिङ गर्छन् । जसलाई प्रोडक्सनले लाइभ स्क्रिनिङमा जोडेर देखाउने गर्छ । 

त्यस्तै कुनै पनि टुर्नामेन्टमा पहिल्यै बनाइएको तालिकामा आधारमा कास्टरहरू चल्ने गर्छन् । जसमा कति बेला कुन विषयमा बोल्ने, केके बोल्ने भन्ने कुरा निर्धारण हुन्छ । साथै प्रोडक्सनका मान्छेहरूले पछाडिबाट निर्देशन दिइरहेका हुन्छन् । सामान्य: कास्टरहरूले आफ्नै घर र स्टुडियोबाटै काम गर्ने गरेका छन् । 

कास्टर बन्न के गर्ने ?

अहिले ईस्पोर्टसको क्षेत्र भित्र विभिन्न पेशाहरू छन् । कास्टर ती मध्ये एक हो । यस बाहेक खेलाडी, प्रशिक्षक, व्यावस्थापक, प्रस्तोता, विश्लेषक जस्ता अन्य पेशा छन् । यस क्षेत्रमा आउनेले भविष्यमा आफू के बन्ने भन्ने कुरा सुरुमा नै स्पष्ट हुनुपर्ने उनी बताउँछन् । “कतिपयले स्ट्रिमर र कास्टर दुवै गरिरहेका हुन्छन् । तर यी भिन्न काम हुन्,” उनी भन्छन्, “फरक फरक डुङ्गामा खुट्टा राख्दा लडिन्छ भने जस्तै यसमा पनि असफल हुन सकिन्छ । यसकारण के बन्ने भनेर सुरुमा स्पष्ट भने हुनुपर्छ ।” 

आर्थिक रुपमा कास्टर निकै आकर्षित पेशा भएको उनी बताउँछन । तर कुनै पनि खेलको कमेन्ट्री गर्नुलाई आफ्नो पेशा बनाई हाल्नभने चुनौतिपूर्ण रहेको उनको भनाइ छ । यद्यपि व्यावसायिक रुपमा यसमा क्षेत्रमा लाग्दा भने काठमाडौंमा आरामको जीवन बिताउन सकिने उनी सुनाउँछन् । तर आफ्नो कमाइ भने उनले खोल्न चाहेनन् ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० ९:२