close

अनुमतिबिना डेटा बिक्री गरेपछि प्रयोगकर्तालाई ९५ अर्ब दिँदै फेसबुक, क-कसले पाउँछन् रकम ?

टेकपाना टेकपाना

साउन १३, २०८० १६:४८

अनुमतिबिना डेटा बिक्री गरेपछि प्रयोगकर्तालाई ९५ अर्ब दिँदै फेसबुक, क-कसले पाउँछन् रकम ?

काठमाडौं । गोपनीयता उल्लङ्घनको मारमा परेका फेसबुक प्रयोगकर्ताले आगामी अगस्ट २५ सम्म मेटाको प्राइभेसी सेटलमेन्ट अन्तर्गत आफ्नो रकमका लागि आवेदन दिनसक्ने भएका छन् ।

क्याम्ब्रिज एनालिटिका स्क्यान्डलसँग सम्बन्धित गोपनीयता उल्लङ्घनमा आफ्नो तर्फबाट गल्ती स्वीकार गर्दै मेटाले प्रयोगकर्ताका लागि ७२५ मिलियन डलर (९५ अर्ब रूपैयाँ बढी) रकम तिर्ने घोषणा गरेको थियो ।

फेसबुकले बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकालाई अमेरिकी प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको स्वीकार्दै डिसेम्बर २०२२ मा एक पेमेन्ट सेटलमेन्टमा सम्झाैता गरेकाे थियाे ।

सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनुमतिबिना थर्ड पार्टी कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको आरोप लागेको थियो । उक्त डेटा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को चुनावी अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएको थियो ।

सोही आरोपमा सन् २०१८ मा फेसबुकविरुद्ध मुद्दा पर्‍याे । फेसबुकले थर्ड पार्टीलाई प्रयोगकर्ताको सहमति बिना उनीहरूको फेसबुक सामग्री र जानकारीमा पहुँच प्रदान गरेको भन्दै विभिन्न व्यक्तिले मुद्दा दायर गरेका थिए । यसपछि गाेपनीयता उल्लघंनकाे मारमा परेका प्रयाेगकर्तालाई​जरिवाना तिर्न फेसबुककाे मातृ कम्पनी मेटाले ६ महिनाअघि ७२५ मिलियन डलर प्राइभेसी सेटलमेन्ट (facebookuserprivacysettlement) मा सम्झाैता गरेकाे थियाे । 

उक्त मुद्दाको पछाडि रहेको कानूनी कम्पनीका अनुसार फेसबुकले थर्ड पार्टीको पहुँच र त्यस जानकारीको प्रयोगलाई पर्याप्त रूपमा अनुगमन गर्न असफल भएको थियो । यो विवादकै कारण क्यामब्रिज एनालिटिका सन् २०१८ मा बन्द गरियो । ​फेसबुकको डेटा प्रयोग गरेर चुनावी अभियानलाई प्रभाव पारेको भन्दै उक्त कम्पनीलाई बन्द गर्न लगाइयो ।

यही काण्डले फेसबुकको लोकप्रियतामा पनि ह्रास आएको थियो । फेसबुकले आफ्नो कम्पनीको नाम मेटा राख्नुका पछाडि पनि यो काण्ड प्रत्यक्ष रूपमा जोडिएको विश्लेषण गरिन्छ । 

मे २००७ देखि डिसेम्बर २०२२ सम्म सक्रिय अमेरिकी फेसबुक अकाउन्ट भएका प्रयाेगकर्ताले यहाँ क्लिक गरी ७२५ मिलियन डलर प्राइभेसी सेटलमेन्टका लागि आवेदन दिनसक्ने छन् । प्राप्त कूल आवेदनपछि कम्पनीले आवश्यक अनुसन्धान गरेर पीडित प्रयोगकर्तालाई रकम भुक्तानी गर्ने जनाइएको छ ।  

पछिल्लो अध्यावधिक: साउन १३, २०८० १७:३४