close

नेपाली ई-लर्निङ प्लेटफर्म ‘लर्न सिक’, जहाँ छन् विभिन्न विषयका तयारी कक्षा र सीपमूलक कोर्ष

सञ्जीवन राई सञ्जीवन राई

भदौ ५, २०८० १२:९

नेपाली ई-लर्निङ प्लेटफर्म ‘लर्न सिक’, जहाँ छन् विभिन्न विषयका तयारी कक्षा र सीपमूलक कोर्ष

काठमाडौं । कोभिड-१९ महामारीका कारण परम्परागत शिक्षा प्रणालीमा ठूलो असर पर्‍याे । विद्यालयहरूमा पढाइ रोकियो । शिक्षकले पढाउन र विद्यार्थीले पढ्न पाएनन् । त्यही समस्याको समाधान स्वरुप 'लर्न सिक' (LearnSic) जन्मियो । 

यो एक ई-लर्निङ प्लेटफर्म हो, जहाँ विभिन्न प्रवेश परीक्षादेखि प्राविधिक सीपसम्मका कोर्ष राखिएका छन् । साथै लाइभ क्लाससमेत सञ्चालन भइरहेकाे छ ।

विशेषत: काेभिड महामारीको समयमा पठनपाठनलाई जारी राख्ने र अध्ययन अध्यापनलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ लर्न सिक सुरु गरेको यसका संस्थापकहरू बताउँछन् ।

सिक्ने कामलाई प्रोत्साहन गर्न नाम नै ‘लर्न’ (अंग्रेजी) र ‘सिक’ (नेपाली) राखेको कम्पनीले विद्यार्थीको सिकाइमा मुख्य ध्यान दिने संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश पौडेल बताउँछन् । उनका अनुसार भौतिक समस्याहरूबाट शिक्षा पाउन वञ्चित हुनुपर्ने अवस्थालाई रोक्नु र डिजिटल युगको शिक्षा प्रणाली अवलम्बन गर्नु लर्न सिकको उद्देश्य हो ।

“हामीले लकडाउनका बेला माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि कोचिङ क्लासहरू लिन थाल्दै लर्न सिक सुरु गरेका थियौं,”  उनी भन्छन्, “अहिले भने विभिन्न विषयका १५ बढी कक्षा सञ्चालन गराइरहेका छौं ।” 

पाैडेलका अनुसार लर्न सिकमा प्रवेश परीक्षा, लाइसेन्स, माध्यमिक तह, सीपमूलक र विदेशी भाषा गरी पाँच प्रकारका कक्षा सञ्चालन हुन्छन् । जसअन्तर्गत प्रवेश परीक्षामा कम्पनीले स्वास्थ्य, इन्जिनियरिङ, व्यवस्थापन र कानूनका विषयहरूको तयारी गराउँछ ।

माध्यमिक तह (कक्षा ८- १२) का  विद्यार्थीका लागि अङ्ग्रेजी व्याकरण, कोचिङ क्लास र ब्रिज कोर्ष राखिएको छ । लाइसेन्स तयारीमा भने नर्सिङ विषय पढेकालाई मात्र कोर्ष उपलब्ध छ । चाँडै इन्जिनियरिङ व्यवसायका लागि पनि कक्षा सञ्चालन गर्ने उनी बताउँछन् ।

त्यस्तै कम्पनीले सूचना प्रविधिसँग सम्बन्धित सीपमूलक कोर्षमा पाइथन प्रोग्रामिङ र मोबाइल एप डेभलपमेन्ट राखेको छ । 

यी विषय अध्यापन गराउन काठमाडौं उपत्यकाका दक्ष शिक्षक तथा सहजकर्ताहरू राखेको पाैडेल बताउँछन् । यस कदमले दुर्गम गाउँमा रहेका विद्यार्थीले पनि काठमाडौंका उत्कृष्ट विद्यालयमा दिइने शिक्षा पाउने उनकाे दाबी छ ।

ईलर्निङ लर्न सिकको वेबसाइटको लेआउट

“हाम्रो प्लेटफर्मबाट विद्यार्थीले आफू अनुकुल हुने समयमा आफ्नो रोजाइको विषय अध्ययन गर्न पाउँछन् । उनीहरूले आफनो सिकाइलाई आफैं ट्रयाक गर्न सक्छन्,” उनी अगाडि भन्छन्, “यसका लागि प्लेटफर्ममा भिडिओ ट्युटोरियल, एकाई अनुसार वस्तुगत प्रश्न, नोट र मक टेस्टहरू उपलब्ध गराइएको छ ।” 

लर्न सिक विद्यार्थीका लागि मात्र नभएर शिक्षक-शिक्षिकाका लागि पनि उपयुक्त भएको उनी बताउँछन् । दक्ष शिक्षक-शिक्षिकाले आफनो कोर्ष बनाएर तिनलाई लर्न सिकबाट बिक्री गर्नसक्ने उनकाे भनाइ छ । यसका लागि ‘टिच एट लर्न सिक’ फिचर दिइएको छ, जुन वेबसाइटको माथिल्लो भागमा राखिएको छ । आफैं कोर्ष बनाउन नसक्ने शिक्षक-शिक्षिकालाई कम्पनीले सहयोगसमेत गर्ने गरेकाे छ । 

समग्रमा लर्न सिक इन्टरनेटमार्फत अध्यापन गराउने प्लेटफर्म हो । नेपालमा यस्ता किसिमका थुप्रै प्लेटफर्म बनाइएका छन्, जहाँ विभिन्न तहका विद्यार्थीलाई केन्द्रमा राखेर कोर्ष उपलब्ध गराइन्छ ।

लर्न सिकको रेकर्डेड क्लासमा पढाइरहेका शिक्षक

तपाईंले पहिल्यै लर्न सिकमा साइन अप गर्नु भएको छ भने तपाईँले लगइन गर्न सक्नुहुन्छ । यदि पहिलो पटक यो प्लेटफर्म प्रयोग गर्दै हुनुहुन्छ भने माथिल्लो भागमा रहेको साइन अपमा क्लिक गर्नुपर्छ । त्यहाँ आफ्नो पूरा नाम, ईमेल, फोन नम्बर र पासवर्ड राख्नुपर्छ । 

यति गरेपछि तपाईंलाई एउटा कन्फर्मेसन लिङ्क आउँछ । त्यसमा क्लिक गरेपछि तपाईंको अकाउन्ट बन्छ । अब त्यहाँ तपाईंले आफूलाई उपयोगी हुने कोर्ष किन्न सक्नुहुन्छ ।

यसरी खरिद गरेका कोर्ष वेबसाइटको माथिल्लो भागमा रहेको ‘माई कोर्ष’बाट हेर्न सकिन्छ भने वेबसाइटको मुख्य पृष्ठमा समेत ती कोर्ष देखिन्छन् । यस भागमा भने तपाईंले त्यो कोर्ष कति सक्नुभयो भन्ने कुरा प्रतिशतमा देखिन्छ ।

कोर्ष खरिद गरेपछि तपाईंले लाइभ कक्षा लिएर अथवा रेकर्डेड कक्षा हेरेर अध्ययन गर्न सक्नुहुन्छ । रेकर्डेड कक्षामा शीर्षक अनुसार भिडिओहरू राखिएका छन् । त्यहाँ फरक शिक्षकले फरक एकाइ पढाएका छन् ।

त्यस्ता रेकर्डेड भिडिओमा गति बढाउन वा घटाउन मिल्ने, भिडिओ अगाडि वा पछाडि सार्न मिल्ने, भिडिओको गुणस्तर परिवर्तन गर्न मिल्ने जस्ता विकल्प छन् । 

लाइभ कक्षा सञ्चालन गर्दै लर्न सिकमा आबद्ध शिक्षिका

सम्बन्धित कोर्षको लाइभ कक्षा लिन भने आफ्नो प्रोफाइलमा क्लिक गर्नुपर्छ । त्यहाँ विभिन्न विकल्प दिइएको छ । जसमध्ये ‘लाइभ क्लास’ पनि एक हो । त्यसमा क्लिक गर्दा एउटा तालिका आउँछ । त्यसमा तपाईंले खरिद गरेका कोर्षको कति बेला प्रत्यक्ष कक्षा हुन्छ भनेर दिइएको हुन्छ ।

त्यहीँबाट लाइभ क्लासमा जोडिन सकिन्छ । लाइभ कक्षा सञ्चालन गर्न कम्पनीले गुगल मिट प्रयोग गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १२:४१