close

गाडीको ड्याशबोर्डमा देखिने कुन वार्निङ लाइटको अर्थ के हो ? यसरी सजिलै बुझ्नुहोस्

टेकपाना टेकपाना

भदौ ६, २०८० १९:४४

गाडीको ड्याशबोर्डमा देखिने कुन वार्निङ लाइटको अर्थ के हो ? यसरी सजिलै बुझ्नुहोस्

काठमाडौं । हरेक गाडीमा ड्राइभरको सिट अघि ड्याशबोर्ड हुने गर्छ । जसमा विभिन्न इन्डिकेटर हुन्छन् । 

त्यसमा गाडीको अवस्थाबारे पनि जानकारी आउँछ । अहिलेका कारका विद्युतीय प्रणालीहरू विभिन्न सेन्सरमा आधारित हुन्छन् । तिनैको आधारमा उक्त ड्याशबोर्डमा विभिन्न वार्निङ लाइटहरू देखा पर्छन् । 

त्यसरी आउने वार्निङ लाइटहरूको आआफ्नै अर्थ हुन्छ । ती लाइटले हामीलाई सम्भावित दुर्घटनाबाट समेत जोगाउन सक्छन् । 

त्यसैले ड्याशबोर्डमा देखिने वार्निङ लाइटको बारेमा थाहा पाउन निकै महत्त्वपूर्ण हुन्छ । ती लाइटको चर्चा गर्न अघि यसका प्रकारबारे कुरा गरौं । 

विशेष गरी ‘रेड वार्निङ लाइट’ (रातो रङ्गमा देखिने चेतावनी सङ्केत) र ‘ओरेन्ज वार्निङ लाइट’ (सुन्तला रङ्गमा देखिने चेतावनी सङ्केत) गरी दुई प्रकारका ड्याशबोर्ड वार्निङ लाइट हुन्छन् । 

रेड वार्निङ लाइटले गाडीमा भएको गम्भीर समस्या जनाउँछ । यदि ड्याशबोर्डमा यस्तो सङ्केत आएको खण्डमा तुरुन्तै त्यसको समाधान गर्न तिर लाग्नु पर्ने हुन्छ । यस्ता सङ्केतको रङ रातो हुने गर्छ ।  

ओरेन्ज वार्निङ लाइटले इन्जिन म्यानेजमेन्ट सिस्टममा भएको खराबीलाई जनाउँछ । यसलाई ‘एलो वार्निङ लाइट (पहेंलो रङ्गको चेतावनी सङ्केत) भनेर पनि चिनिन्छ । 

यो वार्निङ लाइट आए पनि गाडी भने चलाउन सकिन्छ । तर जतिसक्दो चाँडो सर्भिस सेन्टरमा जानुपर्ने हुन्छ । यस्ता सङ्केतहरूको रङ सुन्तले वा पहेंलो हुने गर्छ । 

ड्याशबोर्डमा हरियो र निलो रङ्गका विभिन्न सङ्केत पनि देखिने गर्छन् । जसले सिस्टम ‘अन’ भएको, सबै ठीक भएको र सञ्चालनमा रहेको भन्ने जनाउँछन् । 

गाडी सामान्य सामान्य अवस्थामा भएको सङ्केत हरियो अथवा निलो रङ्गले देखाउने गर्छ । त्यस्तै असामान्य अवस्थामा रहेको कुरा रातो वा पहेंलो रङले बुझाउँछ । 

 

इन्जिन टेम्प्रेचर वार्निङ लाइट

यसलाई कुलेन्ट टेम्प्रेचर वार्निङ लाइट भनेर पनि चिनिन्छ ।  यसको अर्थ गाडीको इन्जिन ओभरहिटिङ अर्थात् अत्यधिक  हुनु हो ।  

यसो हुना साथ गाडीमा चलिरहेको एसी बन्द गर्नु पर्छ र तुरुन्तै सुरक्षित स्थानमा गाडी रोकेर इन्जिन बन्द गर्नुपर्छ । नजिकै कुनै अटो सर्भिसिङ भए त्यहाँबाट प्राविधिक बोलाउनु पर्छ । 

 

आयल प्रेसर वार्निङ 

यसले न्यून आयल (इन्जिन तेल अथवा मोबिल) मा इन्जिन चलिरहेको अथवा गाडीको आयल प्रेसर सिस्टममा समस्या आएको सङ्केत दिन्छ । इन्जिन आयल फेर्नुपर्ने आवश्यकता समेत यसले दर्साउँछ । 

यदि त्यसो गर्दा पनि बारम्बार यो सङ्केत देखिन्छ भने प्राविधिक कहाँ जानुपर्ने हुन्छ । 

 

ब्रेक वार्निङ लाइट

 

यसले पार्किङ ब्रेक लगाइएको वा गाडीको ब्रेकिङ प्रणालीमा समस्या देखिको इङ्गित गर्छ ।  यदि यस्तो सङ्केत आएको खण्डमा गाडी रोकेर पार्किङ ब्रेक लगाइएको छ वा छैन चेकजाँच गर्नु पर्छ । यदि त्यहाँ कुनै समस्या छैन भने अटो सर्भिसमा जानुपर्छ ।

 

ब्याट्री अलर्ट लाइट 

यसले गाडीको चार्जिङ सिस्टममा समस्या भएको जनाउँछ । ब्याट्री केबुल बिग्रनु, अल्टरनेटर (alternator) फरक पर्नु अथवा विद्युतीय त्रुटि हुँदा यस्तो लाइट आउन सक्छ । गाडीको चार्जिङ सिस्टममा पावरको कमी  हुनु, गाडी ब्याट्रीबाट मात्रै चलाउनु पनि यसको कारण हो  । 
 

ट्रान्समिसन टेम्प्रेचर वार्निङ लाइट

यो इन्जिन टेम्प्रेचर वार्निङ लाइट जस्तै हो । तर ट्रान्समिसन ओभरहिट अर्थात् बढी तातेको अवस्थामा मात्रै यस्तो सङ्केत देखिन्छ । 

यो सङ्केतलाई वेवास्ता गरे ट्रान्समिसन नै बिग्रिन सक्छ । यस्तो अवस्थामा त्यसलाई मर्मत गर्न निकै महँगो पर्ने जान्छ । 

समस्याको प्रकार अनुसार यसको रङ रातो  वा पहेंलो जुनसुकै हुन सक्छ । पहेंलोले पूर्व चेतावनी दिएको जनाउँछ भने रातोले अवस्था गम्भीर भएको देखाउँछ ।   
 

टायर प्रेसर वार्निङ लाइट  

यसलाई टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस) सिम्बोल भनेर समेत बुझिन्छ । टायरको हावा धेरै कम भएको बेला चालकलाई सचेत गराउन यो सङ्केत ड्याशबोर्डमा आउँछ । 

टायरमा हावा आवश्यक भन्दा बढी भए पनि यो लाइट बल्छ । टायरमा हावा कम वा बढी हुनु भनेको असुरक्षा निम्त्याउनु हो । 

त्यसैले यस्तो बत्ति बल्ने बित्तिकै तपाईंले टायरमा भएको हावा ठिक पार्नुपर्ने हुन्छ । 

 

सेक्युरिटी अर्लट लाइट 

यसले गाडीको 'एन्टी थेफ्ट सिस्टम' लाई इङ्गित गर्छ । यसको सिस्टम सक्रिय हुँदा र यसमा समस्या हुँदा यो सङ्केत ड्याशबोर्डमा देखा पर्छ । ब्याट्री बिग्रिएर गाडीले चाबी ट्रयाक गर्न नसक्दा पनि यो लाइट बल्छ  ।

 

लेन डिपार्चर वार्निङ

 

गाडी एउटा निश्चित लेनमा गुडिरहेको बेला अचानक अन्य अन्य तिर गए यो सङ्केत देखा पर्छ । यसको सन्देश सडकमा आँखा लगाऊ अर्थात् ध्यान देऊ भन्ने हो ।

यसले दुर्घटना हुनबाट बचाउँछ । यो सिस्टमले लेन मार्करलाई 'डिटेक्ट' गर्छ । जब गाडीको चक्का त्यसभन्दा बाहिर जान्छ, तब आवाज सहित यो सङ्केत देखा पर्छ ।

 

लो फ्युल इन्डिकेटर लाइट

धेरै चालकहरू यो सङ्केतसँग परिचित नै हुन्छन् । गाडीमा इन्धन सकिन लागेको छ भने यस्तो चिन्ह देखा पर्छ । 

ड्याशबोर्डमा यो चिन्ह आउनासाथ तपाईंले गाडीमा इन्धन भर्नुपर्ने हुन्छ । अन्यथा धकेल्नु पर्ने अवस्थामा गाडी पुग्न सक्छ । 

 

सिट बेल्ड रिमाइन्ड लाइट

गाडीमा बसेर चालक वा यात्रुले सिट बेल्ट नबाँधेको अवस्थामा यो सङ्केत देखा पर्छ ।  जुन सुरक्षाका लागि बनाइएको हो । ड्याशबोर्डमा यो सङ्केत देखिएको खण्डमा सिटबेल्ट लगाउनु पर्ने हुन्छ ।

 

एयरब्याग इन्डिकेटर लाइट

यसले कुनै एउटा एयरब्याग वा पूरै एयरब्याग प्रणालीमा केही समस्या छ भन्ने इङ्गित गर्छ । यस्तो सङ्केत आउनासाथ तपाईंले आफ्नो गाडी परीक्षण गराउनु पर्छ । एयरब्यागले गाडी दुर्घटनामा पर्दा चालक र यात्रीलाई चोटपटकबाट जोगाउँछ । 

 

फग ल्याम्प इन्डिकेटर लाइट

यसले तपाईंको 'फग लाइट' अन भएको सङ्केत गर्छ । भिजिबिलिटी ३०० फिट भन्दा कम भएको बेलामात्र फग लाइट प्रयोग गर्नुपर्ने हुन्छ ।

अन्यथा अनावश्यक अवस्थामा भने यसको प्रयोग गर्नु हुन्न । यसले विपरीत दिशाबाट आइरहेका सवारी चालकलाई असहज हुन्छ ।

 

हाई बिम इन्डिकेटर लाइट

चालकले हाई बिम लाइट 'अन' गरेपछि यो सङ्केत देखा पर्छ  । लोदेखि हाई बिममा तपाईंले लाइट परिवर्तन गर्नु भए हाई बिम निलो भएर बलेको देखिन्छ । 

 

लो बिम इन्डिकेटर लाइट

 

चालकले लो बिम लाइट ‘अन’ गरे पछि ड्याशबोर्डमा यो चिन्ह आउँछ । सामान्यतया सूर्यास्त र सूर्योदयको बेला वा खराब मौसमका बेला चालकलाई सडक देख्न गाह्रो भएको बेला यो लाइट प्रयोग गर्न सल्लाह दिइन्छ ।

त्यसो त सहरी घना बस्ती भएका क्षेत्रमा विपरीत दिशाबाट आउने सवारी चालकलाई असहज नहोस् भन्नका लागि समेत हाई बिमको साटो लो बिम लाइट प्रयोग गर्नु राम्रो मानिन्छ । 

 

डिरेक्सन इन्डिकेटर लाइट 

डिर‍ेक्सन इन्डिकेटर लाइट फ्ल्याशिङ लाइट हुन्, जसबाट चालकले गाडी दायाँ वा बायाँ मोड्न खोजेको संकेत दिन्छ । गाडीको ड्याशबोर्डमा फ्ल्यासिङ एरो (arrow) ले  कुन टर्न सिग्नल सक्रिय छ भनेर इङ्गित गर्छ । 

 

वाशर फ्लुइड इन्डिकेटर लाइट

वाइन्डशिल्ड धुने वा सफा गर्ने तरल पदार्थ कम भएको बेला यो सङ्केत देखा पर्छ । यो इन्डिकेटर आएपछि आफ्नो वाइन्डशील्ड धुने तरल पदार्थ जाँच गर्नुपर्छ र आवश्यक भएमा पुन: भर्नुपर्छ ।

 

एयर सस्पेन्सन वार्निङ

ड्याशबोर्डमा यस्तो सङ्केत आएमा गाडीको एयर सस्पेन्सन सिस्टममा समस्या आएको बुझ्नु पर्छ ।  कम्प्रेसरले आवश्यक पर्ने हावा नपठाउँदा यस्तो समस्या आउने गर्छ । 

 

इन्जिन वार्निङ लाइट

यस्तो लाइट विभिन्न कारणले ड्याशबोर्डमा आउन सक्छ ।  कहिलेकाहीँ खुला, ढिलो वा फुटेको ग्यास क्यापका कारण पनि यो बत्ति बल्छ ।  यो बत्ति बल्नासाथ तपाईंले तत्कालै प्राविधिकलाई देखाउनु पर्ने हुन्छ । 

 

ट्रयाक्सन कन्ट्रोल मालफङ्सन लाइट

गाडीको ट्रयाक्सन कन्ट्रोल सिस्टम बिग्रे वा सेन्सरमा समस्या आए यस्तो सङ्केत ड्याशबोर्डमा देखिन्छ । यसले दिनानुदिन गाडी गुडाउने कार्यमा समस्या त गर्दैन । तर यसलाई जति चाँडो परीक्षण गराएको राम्रो हुन्छ । 

 

एबीएस वार्निङ लाइट

एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) मा कुनै समस्या भए यो सङ्केत देखा पर्छ । चालकले कडा ब्रेक लगाउँदा पाङ्ग्राहरू लक हुनबाट रोक्नका लागि यो सिस्टमले ब्रेक पल्स गर्छ ।

त्यस्तो बेला चेतावनी स्वरूप यो बत्ति बल्छ । ह्विल स्पिड सेन्सर भाँचिदा, सिस्टम 'अफ' हुँदा पनि यस्तो सङ्केत देखा पर्छ । 

 

ल्याम्प आउट इन्डिकेटर लाइट

गाडीको बाहिरी बत्तीहरूले राम्ररी काम नगर्दा यो सङ्केत ड्याशबोर्डमा आउँछ । त्यस्तै बत्तिहरू मर्मत गर्नुपर्ने अवस्थामा छन् भने अथवा जडान गरिएको बत्ती बिग्रेको खण्डमा पनि यस्तो बत्ती बल्छ । 

 

इलेक्ट्रोनिक थ्रोटल कन्ट्रोल लाइट

थ्रोटल प्रणालीमा कुनै समस्या छ भने यस्तो सङ्केत देखा पर्छ ।  थ्रोटल प्रणालीमा थ्रोटल बडी, एक्सिलरेटर पेडल र ती दुई बीचका तार पर्छन् । 

यस्तो चिन्ह देखिएको बेलामा गाडी चलाउनु हुँदैन । चालकले इलेक्ट्रिक थ्रोटल कन्ट्रोललाई रिसेट गरेर यसको समाधान गर्न सक्छन् । तर यो जोखिमयुक्त काम हो । 

 

हुड ओपन वार्निङ लाइट

कारको हुड पूर्ण रुपमा बन्द भएन भने ड्याशबोर्डमा यो सङ्केत देखा पर्छ । हुडमा एक प्रकारको सेन्सर हुने गर्छ, त्यसले सामान्य इलेक्ट्रिकल स्विचको काम गर्छ ।

जब हुड तल झर्छ, स्विच खुला हुन्छ । त्यस्तै जब हुड खुला हुन्छ, स्विच 'अफ' हुन्छ अनि ड्याशमा सङ्केत देखा पर्छ ।  यदि यो लाइट देखा परे हुड बन्द भए/नभएको जाँच गर्नु पर्छ । 

 

कि नट वर्किङ लाइट  

गाडीले चाबी डिटेक्ट गरेन भने यस्तो सङ्केत देखा पर्छ । हुन त रेञ्ज भित्र भए पनि यही सङ्केत देखा पर्छ । त्यस्तो अवस्थामा यो हरियो रङ्गमा देखा पर्छ । 

यदि यो पहेंले रङ्गमा देखियो भने चेतावनीको रूपमा बुझ्नु पर्ने हुन्छ । यसको कारण चाँबीमा भएको ब्याट्री सकिनु पनि हुन सक्छ । ब्याट्री फेरेर यसको समाधान गर्न सकिन्छ ।

 

डोर अजार वार्निङ लाइट(door ajar Warning Light)

 

कारको ढोका राम्ररी लागेको छैन भने ड्याशबोर्डमा यस्तो सङ्केत देखिन्छ । डोर स्विच खुला नै भएको खण्डमा यो सङ्केत आउँछ ।

अहिलेका धेरै जसो कारहरूमा डोर स्विच हुन्छन् । कारको कम्प्युटरले त्यही स्विच जाँच गर्छ र खुला भए यो चिन्ह देखिन्छ । यस बाहेक  वायरिङमा समस्या हुँदा पनि यो सङ्केत आउँछ । 

 

प्रेस क्लच लाइट

आधुनिक कारमा क्लच दबाउने वा ब्रेक पेडल थिच्ने कार्य सम्झाउने सङ्केत पनि हुन्छन् । गाडीको प्रकार अनुसार यो भिन्नभिन्न हुने गर्छ ।

यस्तो सङ्केतले चालकलाई इन्जिन सुरु गर्नु अघि क्लच थिच्नु पर्छ भन्ने कुरा सम्झाउँछ । क्लच पेडल थिचे पछि यो लाइट स्वत हटेर जान्छ । 

 

प्रेस ब्रेक लाइट

यसको काम पनि प्रेस क्लच लाइट जस्तै हो । पार्क मोडमा वा गुडिरहेको बेला चालकलाई ब्रेक लगाउनु पर्छ भन्ने कुरा सम्झाउन यो सङ्केत देखा पर्छ । ब्रेक पेडल थिचे पछि यो लाइट स्वत: हराएर जान्छ ।

 

पावर ट्रेन फल्ट लाइट

गाडीको पावर ट्रेन वा फोर ह्विल ड्राइभ सिस्टममा समस्या आउँदा यो सङ्केत देखा पर्छ । फोर्ड कम्पनीका गाडीहरूमा प्राय: यस्तो सङ्केत हुने गर्छ । 

पावर ट्रेन पुरानो तथा धेरै माइलेज दिने गाडीहरूमा पावर ट्रेन ओभर हिट हुन सक्छ । यसलाई बेवास्ता गरेर कुदाइरहे गाडी सेफ मोडमा जान्छ । 

 

पावर स्टेरिङ वार्निङ लाइट

पावर स्टेरिङ सिस्टममा समस्या आए यो सङ्केत देखिन्छ । यसको कारण गाडीको पावर स्टेरिङ सिस्टम अनुसार फरक हुन सक्छ । 

हाइड्रोलिक पावर स्टेरिङ सिस्टममा तेलको तह कम हुँदा यस्तो सङ्केत देखिने गर्छ । यो देखिएपछि स्टेरिङ घुमाउँदा गह्रौं वा कडा हुने गर्छ । यस्तो सङ्केत देखाइरहँदा गाडी चलाउनु खतरनाक साबित हुन सक्छ ।

 

स्टेरिङ ह्विल लक

यसको अर्थ स्टेरिङ लक हुनु  र स्टेरिङ चलाउन सकिन्न भन्ने हो । इग्निसन अफ पोजिसनमा र लक इन्गेज भएको बेला मात्र यो देखा पर्छ । यदि अन्य समयमा पनि यस्तो सङ्केत देखियो भने प्राविधिकलाई लगाएर जाँच गराउनु पर्छ।

 

पार्किङ ब्रेक लाइट

यसलाई कहिलेकाँही ह्यान्ड ब्रेक पनि भनिन्छ । यसको अर्थ पार्किङ ब्रेक लागिरहेको छ भन्ने हो । 

पार्किङ ब्रेक नलगाएको समयमा यो सङ्केत देखा पर्दैन ।  चालकलाई गाडी गुडाउनु अघि यो ब्रेक नलगाउनु भनेर सम्झाउन यस्तो सङ्केत देखिने गर्छ । 

 

ट्रयाक्सन कन्ट्रोल अफ लाइट

यसले गाडीको ट्रयाक्सन कन्ट्रोल सिस्टम निष्क्रिय रहेको भन्ने बुझाउँछ । ट्रयाकसन कन्ट्रोल सिस्टम (टीसीएस)  कम गतिमा गाडीलाई नियन्त्रण गर्न बनाइएको हुन्छ ।

यस्तो सङ्केत देखिंदा पनि गुडाउन भने सुरक्षित नै मानिन्छ । तर एबीएस, ट्रयाक्सन कन्ट्रोल लाइट र रेड ब्रेक वार्निङ लाइट देखा परे गाडीको ब्रेकिङ सिस्टममा असर परेको हुन सक्छ । 

 

ट्रेलर टो हिच वार्निङ

यसले टो हिच (tow hitch) अनलक भएको वा त्यहाँको लाइटिङ सिस्टममा खराबी भएको बुझाउँछ ।   

 

सर्भिस इन्जिन सुन

यसले विशेष गरी गाडीको इन्जिनमा कुनै खराबी भएको इङ्गित गर्छ । च्यासिस सिस्टम जस्तै एन्टी लक ब्रेक (एबीएस) सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रिक सस्पेन्सन सिस्टम वा ब्रेक हाइड्रोलिक सिस्टममा कुनै खराबी भए यो सङ्केत देखा पर्छ । 

यस्तो लाइट देखा परेको खण्डमा तत्कालै प्राविधिक कहाँ जानु पर्छ । 

 

ओभर ड्राइभ लाइट

गाडीको ओभर ड्राइभ सिस्टम अफ भएको बेलामा यो सङ्केत देखा पर्छ । ओभर ड्राइभ अफ लाइटको अर्थ  गाडीको ओभर ड्राइभ विशेषता रोकिनु र गाडीलाई माथिल्लो गियरमा लान नसक्नु भन्ने  हुन्छ ।  





 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १९:४४