close

गुनगुनाएकै भरमा यसरी खोज्नुहोस् युट्युबमा भएका गीत

टेकपाना टेकपाना

भदौ १०, २०८० ११:३

गुनगुनाएकै भरमा यसरी खोज्नुहोस् युट्युबमा भएका गीत

 

काठमाडौं । गुगलले गुनगुनाएकै भरमा गीत फेला पार्न सकिने फिचर सर्चमा ल्याएको थुप्रै समय भइसकेको छ । सन् २०२० मा आइसकेको यो फिचरको बारेमा धेरैलाई थाहा नहुन सक्छ । 

 

गुगलमा गुनगुनाएरै कसरी खोज्ने युट्युबका गीत ?

  • सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा गुगल एप खोल्नुहोस् । 

  • त्यसपछि सर्च बक्सभित्र रहेको माइकको आइकनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि तलपट्टी ‘सर्च सङ्ग्स’ को अप्सनमा थिच्नुहोस् । 

  • त्यसपछि आफूले खोज्न चाहेको गीत गुनगुनाउनु होस् । 

  • यति गरेपछि गुगलमा तपाईंले खोजे अनुसारको गीत रिजल्टमा देखाउँछ । 

 

युट्युबमा समेत आउँदै गीत खोज्न सकिने सजिलो फिचर

अब गुनगुनाएकै भरमा गीत खोज्न सकिने फिचर सोझै युट्युबमा ल्याउने तयारी समेत गुगलले थालेको छ । एक पोस्ट राख्दै कम्पनीले युट्यबमा सो फिचर परीक्षण भइरहेको जनाएको हो । त्यससँगै अब सोझै युट्युब सर्चमा गीतको धुन गुनगुनाएको भरमा आधिकारिक गीत फेला पार्न सकिने छ । 

परीक्षणका रूपमा रहेको यो फिचर हाल सीमित प्रयोगकर्ता माझ मात्र उपलब्ध छ । गुगलका अनुसार युट्युबमा करिब तीन सेकेन्ड मात्र गीत गुनगुनाउँदा आधिकारिक म्युजिक वा म्युजिक भिडिओ फेला पार्न सकिनेछ । 

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले युट्युबको सर्चबारको छेउमा रहेको माइकको अप्सनमा ट्याप गरी गीत गुनगुनाउनु पर्ने हुन्छ । गीत फेला परेपछि फोन भाइब्रेट गर्छ । 

त्यसपछि आधिकारिक म्युजिक भिडिओ, अन्य प्रयोगकर्ताले तयार पारेका भिडिओ वा शर्ट रिजल्टमा देखिनेछन् । सुरुवाती चरणमा यो फिचर केही सीमित प्रयोगकर्ताका लागि एन्ड्रोइड डिभाइसमा परीक्षण गर्न लागिएको कम्पनीले जनाएको छ । 

सबै प्रयोगकर्ताका लागि यो फिचर कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन । यदि तपाईंलाई यो फिचर आवश्यक छ भने गुगलको सर्चबाट पनि प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० ११:३