close

के हो यूएसबी-सी ? यस्ता छन् तपाईंले ख्याल राख्नैपर्ने कुरा

टेकपाना टेकपाना

भदौ १७, २०८० १३:५४

के हो यूएसबी-सी ? यस्ता छन् तपाईंले ख्याल राख्नैपर्ने कुरा

सम्भवतः तपाईंले किनेको पछिल्लो ल्यापटअप, एन्ड्रोइड स्मार्टफोन अथवा गेमिङ कन्सोल यूएसबी-सी पोर्टसहितको होला । यदि तपाईं अनेक किसिमका प्रविधि खरिद गर्नु हुन्छ भने यो नयाँ प्रकारको यूएसबीसँग परिचित पनि हुनुहुन्छ होला ।

तर यदि तपाईंले यसलाई राम्रोसँग बुझ्नु वा थाहा पाउनु भएको छैन भने यूएसबी-सीसँगै किन आफ्नो पुरानो केबल काम नलाग्ने भयो भन्ने कुरालाई लिएर चकित हुनुहुन्छ होला । यूएसबी टाइप-एका साथै माइक्रोयूएसबी जस्ता यस अछिका यूएसबी कनेक्टरहरूलाई प्रतिस्थापन गर्न आएको नयाँ स्ट्यान्डर्ड अर्थात मापदण्ड नै यूएसबी-सी हो । 

अधिकांश हिसाबले यो गज्जब नै छ, तर यसका केही कमजोरी र सावधानी अपनाउनु पर्ने पक्षहरू पनि छन्, जसको बारेमा तपाईंले ख्याल राख्नै पर्ने हुन्छ । यसका लागि मुख्य चुनौती भनेको सबै यूएसबी-सी पोर्टहरू समान तवरमा बनाइएका छैनन् । 

 

के हो यूएसबी-सी ? 

यूएसबी-सी पोर्ट सन् २०१४ मा यूएसबी कार्यान्वयनकर्ताहरूको मञ्च (यूएसबी-आईएफ) ले तयार पारेको हो । त्यसयता यूएसबी-सी क्रमशः सबै प्रकारका डिभाइसमा रहेका अन्य यूएसबी पोर्टलाई प्रतिस्थापन गर्दै आएको छ ।

सम्भवतः तपाईंसँग पनि यूएसबी पोर्ट भएका स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र गेम कन्सोलहरू होलान् । यदि तपाईंले आफ्नो पीएसफोरलाई पीएसफाइभमा अपग्रेड गर्नु भयो भने कन्ट्रोलर पनि माइक्रो यूएसबी पोर्टबाट टाइप-सीमा स्विच हुन्छन् ।

अस्तित्वमा आएपछिका वर्षहरूमा थुप्रै कम्पनीहरूले यो नयाँ पोर्ट आत्मसात् गरिसकेका छन् । तर केही यस्ता कम्पनी पनि छन्, जो यो मामिलामा अलि सुस्त देखिन्छन् ।

यो मामिलामा एप्पल कुख्यात छः पछिल्ला केही वर्षमा आफ्ना म्याकबुक लाइनअपमा यूएसबी-सी थप्ने कार्यमा आक्रामक देखिएको कम्पनीले आईफोनमा भने त्यसलाई प्रयोग गर्न अस्वीकार गर्‍यो । बरु त्यसको साटो उसले अहिलेसम्म आफ्नो प्रोप्राइटरी लाइटनिङ पोर्ट नै प्रयोग गरिरहेको छ ।

एप्पलका लागि दुर्भाग्य-अनि बाँकी हामी सबैका लागि सौभाग्य- अब त्यो परिस्थिति परिवर्तन हुन खोजिरहेको छ । युरोपियन युनियनले गत वर्ष मात्रै आईफोन लगायत सबै मोबाइल फोन, ट्याब्लेट र क्यामेराका लागि यूएसबी चार्जिङ पोर्ट साझा मापदण्ड हुने घोषणा गर्‍यो ।

युरोपियन युनियनले यूएसबी-सीलाई साझा मापदण्ड बनाउनु पछिको कारण विद्युतीय फोहोर मैला (ई-वेस्ट) न्यूनिकरणमा सघाउ पुर्‍याउनु हो । ईयूको यूएसबी-सी म्यान्डेट सन् २०२४ को अन्त्यदेखि कार्यान्वयनमा आउँदैछ । जसको प्रतिफल स्वरूप एप्पलले आईफोन फिफ्टिनलाई यूएसबी टाइप सी पोर्टसहित बजारमा पठाउने चर्चा छ । 

 

एउटै केबल सबैमा काम लाग्ने

यसअघि आउने पोर्टहरूको तुलनामा यूएसबी-सी निकै उत्कृष्ट छ । यसको सबैभन्दा ठूलो फाइदा भनेकै यो रिभर्सिबल अर्थात् दोहोरो रूपमा प्रयोग गर्न मिल्ने किसिमको हुनु हो ।

तपाईंले यूएसबी केबलको कुन खण्ड आफ्नो डिभाइसको पोर्टमा जोड्नु भयो भन्ने कुराले फरक पार्दैन अर्थात् जुनसुकै खण्ड पट्टी लगाए पनि यसले काम गर्छ । तपाईंले यूएसबी-सी प्रयोग गर्न थालेसँगं यूएसबी केबल राम्रोसँग प्लग गर्न लागिपर्नु पर्ने ती पुराना दिन पनि अब गए ।

यूएसबी-सी आफैंमा युनिभर्सल पनि हो । त्यसैले तपाईं यूएसबी-सी केबल आफ्ना कुनै पनि यूएसबी-सी पोर्ट भएका डिभाइसमा प्रयोग गर्न सक्नु हुन्छ । यो एउटा गेम चेञ्जर नै सावित भएको छः यूएसबी पोर्ट भएका तपाईंका जति सुकै डिभाइस भए पनि जता जाँदा पनि एउटा केबल साथमा लिए पुग्ने भयो ।

यो केबलले तपाईं आफ्नो स्मार्टफोनलाई रातभर प्लग गर्न सक्नु हुन्छ, त्यसपछि सोही केबल ल्यापटप, हेडफोन, गेम कन्सोलर चार्ज गर्न प्रयोग गर्न सक्नु हुने भयो, यो सूची अझै लामो पनि हुन सक्छ ।

यस बाहेक, यूएसबी-सीले तीव्र चार्जिङ स्पिड (कम्प्याटिबल चार्जरमा) का साथै फास्ट फाइल ट्रान्सफर (कम्पाटिबल हार्डवेयर अनुसार १० अथवा २० जीबीपीएससम्म) लाई समेत सपोर्ट गर्छ । 

 

कत्तिको फास्ट छ भन्ने विषयमा दुविधा

उल्लेखित फाइदाका साथै यसका केही कमजोर पक्ष पनि छन् । युनिभर्सल हुने भएकाले यो उत्कृष्ट लागे पनि सबै यूएसबी-सी केबुल समान तवरमा बनाइएका भने हुँदैनन् । त्यसैले स्पिडको फाइदा लिन खरिद गर्ने क्रममा तपाईंले सावधानी अपनाउनु पर्ने हुन्छ ।

उदाहरणका लागि यूएसबी ३.१ (अथवा यूएसबी ३.२ जेन वन) ले केवल पाँच जीबीपीएसमा डेटा ट्रान्सफर गर्न सक्छ । त्यस्तै यूएसबी ३.२ २x१ (पहिले यूएसबी ३.१ जेन २ को रूपमा जानिने) का साथै यूएसबए ३.२ १x२ दुवैले १० जीबीपीएससम्मको स्पिड दिने गर्छन् ।

यदि तपाईं सम्भव भएसम्म फास्ट स्पिड खोजिरहनु भएको छ भने यूएसबी ३.२ केबलमा नजर लगाउनु होस् । जसमा २० जीबीपीएस गतिसम्मको ट्रान्सफर स्पिड पाउन सकिन्छ ।

यस बाहेक यूएसबीफोरले ४० जीबीपीएससम्मको स्पिड (यद्यपि धेरै डिभाइसले अझै यूएसबीफोर सपोर्ट गर्दैनन्) सपोर्ट गर्छ । यूएसबीफोर, यूएसबीफोर २.० जस्ता हालैका पछिल्ला भर्सनले त झन् १२० जीबीपीएससम्मको स्पिड उपलब्ध गराउँछन् ।

तपाईंले वास्तवमा ख्याल राख्ने पर्ने कुरा भनेको यूएसबी-सी २.० यूएसबी २.० एउटा पुरानो स्ट्यान्डर्ड हो, जुन आजको समयमा अपेक्षाकृत स्लो हुन्छ । यस्ता केबलले ४८० एमबीपीएस गतिसम्ममा मात्रै डेटा ट्रान्सफर गर्न सक्छन्, जुन कुरा केबल माथि समेत उल्लेख गरिएको हुन्छ ।

यस्ता केबल डेटा ट्रान्सफरका लागि राम्रा हुँदैनन् र चार्जिङ डिभाइसका लागि त झन् उपयुक्त हुने कुरै भएन । यहाँनिर रमाइलो कुरा के छ भने एप्पलको लाइटनिङ केवलले मात्रै यूएसबी २.० लाई सपोर्ट गर्छ ।

तपाईंले यूएसबी-सी केबुलको दुवै छेउतर्फ पनि ध्यान दिनुपर्छ । धेरैले दुवैतर्फको छेउमा हुने यूएसबी-सी सपोर्ट गरे पनि केहीमा एकापट्टि भिन्न किसिमको यूएसबी हुन सक्छ ।

एउटा साझा पाटो के छ भने एकातर्फ यूएसबी-ए पोर्ट र अर्कोतर्फ यूएसबी-सी भएका केबुल हुन्छन् । जुन यूएसबी-सी डिभाइसलाई यूएसबी ए डिभाइससँग कनेक्ट गर्ने काममा आउँछन् । 



 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० ११:३०