close

अब देशभरका लोकमार्गमा सबैतिर मोबाइल नेटवर्क टिप्ने, १ अर्ब सरकारी लगानीमा सेवा विस्तार हुँदै

टेकपाना टेकपाना

भदौ १९, २०८० ११:५

अब देशभरका लोकमार्गमा सबैतिर मोबाइल नेटवर्क टिप्ने, १ अर्ब सरकारी लगानीमा सेवा विस्तार हुँदै

काठमाडौं । अब देशका ठूला राजमार्गमा जताततै मोबाइल नेटवर्कले काम गर्ने भएको छ । एक वर्षभित्र मुख्य राजमार्गमा मोबाइल सेवाको पहुँच विस्तार गर्नेगरी सरकारले आवश्यक लगानी गर्ने भएको हो । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषमार्फत यसका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएर कार्यान्वयनको चरणमा गएको यो कार्यक्रम यसै आर्थिक वर्षभित्र अर्थात् आगामी असार २०८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको चाहनामा अगाडि बढाइएको यो परियोजनाका लागि आउँदो पुस मसान्तसम्म नेपाल टेलिकम र एनसेलबाट प्रस्ताव माग्ने कार्ययोजना रहेको छ । प्राधिकरणका अनुसार मोबाइल सेवा उपलब्ध नभएका पृथ्वी लोकमार्ग, पूर्व-पश्चिम लोकमार्ग, अरनिको लोकमार्ग, सगरमाथा लोकमार्ग, बीपी लोकमार्ग, कर्णाली लोकमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग लगायतका लोकमार्गका लागि यो परियोजना ल्याइएको हो । यसका साथै उक्त बजेट सीमा क्षेत्र तथा दुर्गम जिल्लाहरूमा मोबाइल सेवा विस्तार गर्ने कार्यमा समेत खर्च गरिनेछ । दूरसञ्चार नीति २०६० अनुसार दूरसञ्चार सेवा नपुगेका वा अपर्याप्त ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने उद्देश्य अनुरूप यो परियोजना अगाडि बढाइएको हो । 

नयाँ तथा बहुवर्षीय योजनाको रूपमा ल्याइएको भनिएको यो परियोजनाको सम्पूर्ण बजेट अर्थात् एक अर्ब रुपैयाँ चालु आर्थिक वर्षभित्रै खर्च गरिने बताइएको छ । यसबाट विभिन्न लोकमार्ग, सीमा क्षेत्र र दुर्गम जिल्लामा दूरसञ्चार सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।  



 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० ११:७