close

विश्वको ठूलो रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै नेपाल, १९३ देशसँग प्रतिस्पर्धा गर्ने

टेकपाना टेकपाना

भदौ ३०, २०८० १०:५

विश्वको ठूलो रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै नेपाल, १९३ देशसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालको रोबोटिक्स टिमले 'फस्ट ग्लोबल च्यालेन्ज २०२३' मा प्रतिस्पर्धा गर्न भएको छ । अक्टाेबर ७ देखि १० तारिखसम्म सिंगापुरमा ओलम्पिक शैलीमा हुने विश्वको सबैभन्दा ठूलो रोबोटिक्स प्रतिस्पर्धामा नेपाली विद्यार्थीकाे टिम सहभागी हुन लागेकाे हाे ।  

१८ वर्षमुनिका विद्यार्थीहरूकाे टिम सहभागी हुने याे प्रतियाेगिताका लागि नेपाली टिमकाे छनाेट रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान)ले गरेको हो ।

“हामी देशभरका विभिन्न विद्यालयमा रोबोटसम्बन्धी प्रतिस्पर्धा तथा सिकाइका कार्यक्रम गरिरहेका हुन्छौं,” टेकपानासँग कुरा गर्दै र्‍यानका अध्यक्ष विकास गुरुङले भने, “त्यसै अन्तर्गत हामीले नेपालका विभिन्न विद्यालयबाट छनोट गरेका ११ जना विद्यार्थी विश्वस्तरीय राेबाेटिक्स प्रतिस्पर्धामा सहभागी हुँदैछन् ।

उनका अनुसार नेपाली टिम आगामी अक्टोबर ४ मा सिङ्गापुरतर्फ प्रस्थान गर्नेछ ।

टिममा निराजित आचार्य, राघव अग्रवाल, आयुष कुँवर, सौगात भट्टराई, सोनेश श्रेष्ठ, विहान पाण्डे, अन्वेषण अधिकारी, आधिष गौतम, रौनक कुशवाहा, काव्या पराजुली र सचिन बिजुक्छे रहेका छन् । टिमको निर्देशकमा विकास गरुङ र मेन्टरमा सुवास श्रेष्ठ  छन् । 

फस्ट ग्लोबल च्यालेन्ज २०२३ ‘हाइड्रोजन होराइजन’ थिममा हुनेछ । विशेषगरी अहिलेको परिस्थितिमा कार्बन उत्सर्जन बढ्दो छ । त्यसैका लागि शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यमा विश्वका राष्ट्रहरू अग्रसर छन् । “बढ्दो कार्बन उत्सर्जनलाई घटाउने एजेन्डाका साथ हाइड्रोजन होराइजन थिम अन्तर्गत प्रतिस्पर्धा हुन लागेको हो,” गुरुङले भने, “सहभागीले सबैभन्दा पहिले हाइड्रोजन फ्युल जम्मा गर्नुपर्ने हुन्छ । हाइड्रोजन फ्युल आयोजकले पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याएर तयार पारेका हुन्छन् ।"

उनले अगाडि भने, "त्यो हाइड्रोजन र अक्सिजनलाई एउटा कन्टेनरमा राख्नुपर्ने हुन्छ । कन्टेनरमा राखिसकेपछि हाइड्रोजन र अक्सिजनबाट विद्युत उत्पादन गर्नुपर्ने हुन्छ । विद्युत उत्पादन गरिसकेपछि पावर कति धेरै छ भन्नका लागि कन्टेनर वा इन्जिनमा रोबोटलाई झुन्ड्याउनु पर्छ । यदि धेरै बेरसम्म झुन्डियो भने फ्युल राम्रोसँग उत्पादन भएको रहेछ र रोबोटमा धेरै स्ट्रेन्थ रहेछ भन्ने हुन्छ ।”

त्यही स्ट्रेन्थका आधारमा प्रतिस्पर्धीले अंक पाउने र विभिन्न प्रक्रियामार्फत अर्को चरणमा जाने उनले बताए । 

टिम नेपालले हाल सो परियोजनाका लागि रकम सङ्कलन पनि गरिरहेको छ । टिम नेपालका सहभागीलाई सिङ्गापुरमा लैजान र त्यहाँ हुने खर्चको जोहो गर्न रकम सङ्कलन गर्न लागिएको गुरुङले बताए । 

टिम नेपाललाई सहयोग गर्न यहाँ क्लिक गरेर फेसबुक पेजमा गएर थप बुझ्न सकिन्छ । 

यसअघि सन् २०१८ मा टिम नेपाल शीर्ष २६औं स्थानमा परेको थियो । त्यसबेला विश्वका १९३ देश सो प्रतिस्पर्धामा सहभागी थिए ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० १०:२०