close

पृथ्वीबाहेक ब्रम्हाण्डमा कहाँ होला जीवन ?

टेकपाना टेकपाना

असोज २, २०८० ९:१६

पृथ्वीबाहेक ब्रम्हाण्डमा कहाँ होला जीवन ?

काठमाडौं । अहिले सबैभन्दा अनुत्तरित प्रश्न ‘के पृथ्वी बाहिर जीवन छ’ भन्ने हुनसक्छ । सामान्य चिया गफदेखि सदन र अन्तर्राष्ट्रिय फाेरमहरूसम्म यस कुराले प्रवेश पाइसकेको छ । अझ नासा, इसरो, ज्याक्सा जस्ता अन्तर्राष्ट्रिय एजेन्सीहरूका लागि यो प्रमुख खोजीको विषय बनेको छ ।

हुन त थुप्रै अन्तरिक्ष अध्ययनहरूले विभिन्न ग्रहहरूमा जीवनको सङ्केत देखाएका छन् । चन्द्रमा, मङ्गल ग्रहमा मानव बस्ती बसाउन सरकारीदेखि निजी अन्तरिक्ष एजेन्सीहरू यसमा लागेका छन् । शक्तिशाली टेलिस्कोपहरूको डेटा अध्ययन गरेर निस्केको नतिजाले वैज्ञानिकहरूलाई यस विषयमा थप अध्ययन गर्न बल मिलिरहेको छ ।

अझ कतिपयले त पृथ्वी बाहिर नभई पृथ्वीमा नै एलियन (अन्य ग्रहमा हुनसक्ने जीव) वा यससँग सम्बन्धी प्रमाणहरू फेला पारेको  दाबी गर्छन् । तर ठोस प्रमाण नभएकाले वैज्ञानिकहरू सधैं त्यो कुरालाई नकार्दै आएका छन् ।

गत जुलाईमा अमेरिकी संसदीय समितिका सदस्यहरूलाई तीन ओटा भिडिओहरू देखाइएको थियो । अमेरिकी नौसेनाका लडाकु विमानहरूको क्यामेराले आकाशमा खिचेको ती भिडिओहरू श्यामस्वेत थिए । अलि धमिला र अस्पष्ट थिए । तीमध्ये एउटा भिडिओमा अण्डाकार वस्तु तीव्र गतिमा उडिरहेको र घुमिरहेको देखिन्छ । त्यो निकै चम्किलो देखिन्छ ।

यूएफओको साङ्केतिक तस्वीर

त्यसलाई हेर्दै नौसेनाका पाइलटहरू छक्क परेर बोलेको समेत भिडिओमा सुन्न सकिन्छ । फरक-फरक समयमा रेकर्ड गरिएका दुई ओटा भिडिओहरूमा एउटै रहस्यमय वस्तु आकाशमा उस्तै गरी उडिरहेको देख्न सकिन्छ । 

हुन त यी भिडिओ फुटेजहरू धेरै अगाडि नै इन्टरनेटमा भाइरल भएका थिए । तर अमेरिकाको रक्षा मन्त्रालयले सन् २०२० मा मात्रै आधिकारिक रूपमा ती भिडिओहरू जारी गरेको थियो । तिनै भिडिओहरू गत जुलाईमा अमेरिकाको संसदीय समितिलाई देखाइएको हो ।

त्यसपछि अमेरिकी संसदको एक समितिका सदस्यहरूले आफ्नो उद्देश्य सत्यको नजिक पुग्नु रहेको बताएका थिए । (उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्)

 

अमेरिकी संसदीय समितिका सदस्यहरूलाई देखाइएको भिडिओको स्क्रिनशट

यससँगै अहिले यो वैज्ञानिक खोजको नयाँ पाटो बनेको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले हालै यस विषयमा गरेको अध्ययनको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । साथै नासाले यूएफओ अनुसन्धान गर्न नयाँ निर्देशक नियुक्त गर्ने पनि बताएको छ ।

आकाशमा नजर

अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका इतिहास र बायो एथिक्सका प्राध्यापक हुन्, ग्रेग इजिगियन । शताब्दीयौंदेखि मानिसहरूले आकाशमा रहस्यमय वस्तुहरू देख्दै आएको उनले बताउने गरेका छन् । रहस्यमयी तरिकाले आकाशमा उड्ने वस्तुहरूलाई अन्आइडेन्टिफाइड अब्जेक्ट (यूएफओ) अर्थात् अन्आइडेन्टिफाइड एनोम्यालस फेनोमेना (यूएपी) भनिन्छ । 

प्राध्यापक गेगका अनुसार केनेथ अर्नोल्ड नामका निजी पाइलटले आकाशमा त्यस्ता वस्तुहरू देखेको बताएपछि यूएफओको बारेमा पहिलो छलफल सन् १९४७ मा भएको थियो । ती पाइलटले अमेरिकाको पश्चिमी तट नजिकै उडान भर्दा आकाशमा तीव्र गतिमा निश्चित ढाँचामा उडिरहेका केही वस्तुहरू देखेको बताएका थिए । यो खबर चाँडै नै बनको आगो जसरी संसारभर फैलियो ।

केनेथ आफूले देखेको भनेको वस्तुलाई एक पत्रकारले फ्लाइङ सोसर (Flying saucer) नाम दिए । पछि त्यस्ता वस्तुहरूलाई यूएफओ भन्न थालियो । विस्तारै त्यस्ता वस्तुहरू अर्को ग्रहबाट आएको हुन सक्ने विश्वास गर्न थालियो । साथै यूएफओ देखेको दाबी गर्नेहरूको संख्या पनि ‍बढ्न थाल्यो ।

प्राध्यापक ग्रेग इजिगियन 

सन् १९५० को दशकदेखि यूएफओको चर्चा अधिक हुन थालेको ग्रेग बताउने गर्छन् । त्यस समयमा संयुक्त राज्य अमेरिका, इटाली, स्पेन र ल्याटिन अमेरिकाबाट यूएफओ देखिएको समाचार बढी नै आएका थिए । सन् १९५४ मा फ्रान्समा यूएफओ देखेको मात्र नभई केहीले त्यहाँ भित्र मानिसहरू देखेको पनि दाबी पनि गरेका थिए । त्यसपछि यूएफओ देखेको खबर ७०, ८० र ९० को दशकमा पनि आइरहे । 

अमेरिका र सोभियत संघबीच चलेको शीतयुद्धले पनि त्यस्ता समाचारहरू आएको हुन सक्ने पनि ग्रेगको अनुमान छ । त्यसबेला दुवै देशले एक-अर्काको जानकारी सङ्कलन गर्न विभिन्न तरिकाहरू अपनाइरहेका थिए ।

त्यस्तै हिरोसिमा र नागासाकीमा भएको आणविक हमला एलियनले देखेको र कौतुहलता वा डरले उनीहरूले पृथ्वीको परिक्रमा गर्न थालेसँगै त्यस्ता वस्तुहरू बढी देखिएको विश्वास गर्ने पनि धेरै थिए ।

ठीक सन् १९५० को दशकतिर नै चन्द्रमा वा अन्तरिक्षमा जाने दौड भइरहेको थियो । जसलाई आधार मानेर विभिन्न साइन्स फिक्सन (विज्ञानसम्बन्धी कथा) किताब र चलचित्रहरू बजारमा आए । चन्द्रमा वा मङ्गल ग्रहमा मानव बस्ती बसाउने चर्चाहरू पनि सुरु भए । यसले मानिसहरूलाई ‘हामीसँग यस्तो क्षमता छ भने, हामी भन्दा धेरै विकसित सभ्यताहरूसँग अधिक क्षमता र अत्याधुनिक प्रविधि हुन सक्छ’ भन्ने विश्वास बढ्न थाल्यो ।

यी यस्ता कुराले पनि यूएफओ माथि विश्वास गर्न सहयोग गरेको ग्रेग तर्क गर्छन् । साथै २०१० पछि ‍मिडियाले पनि यसबारे प्रशस्तै लेख्न थालेको र आम मानिसमा यसको चर्चा बढाएको ग्रेग बताउँछन् ।

उदाइरहेको नयाँ संसार

खोज पत्रकार लेस्ली केन यूएफओ सम्बन्धी २३ वर्षदेखि रिपोर्टिङ गर्दै आएकी छिन् । उनका अनुसार अमेरिकी रक्षा विभागले २०१० देखि यूएफओको जानकारी सङ्कलन गर्न गोप्य कार्यक्रम चलाउँदै आएको छ । सन् २०१७ मा त्यस कार्यक्रमका प्रमुखले आर्थिक लगायत अन्य सहयोग प्राप्त नभएपछि उक्त कामबाट राजीनामा दिँदै यो कुरा सार्वजनिक गरेको उनी बताउँछिन् । 

त्यसपछि ती व्यक्तिले आफूलाई एउटा बैठकमा बोलाएको र त्यहाँ यूएपी सम्बन्धी विभिन्न कागजात, भिडिओ तथा जानकारी दिएको उनले बताएकी छिन् । पछि तिनैको आधारमा लेस्लीले न्युयोर्क टाइम्समा यूएपीबारे समाचार प्रकाशित गरेकी थिइन् ।

त्यसपछि यूएपीको विषयमा पनि चर्चा हुन थाल्यो । साथै सरकारी अधिकारीहरूले त्यस कार्यक्रमको लागि रकम उपलब्ध गराए । र त्यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान हुन थाल्यो ।

पत्रकार लेस्ली केन

बुझ्न नसकेको कुनै पनि रहस्यमयी कुरा वा घटनालाई बुझाउन यूएफओको साटो अन्आइडेन्टीफाइड एनोम्यालस फेनोमेना (यूएपी) भनिएको लेस्ली जनाउँछिन् । साथै अब आकाशमा मात्र नभएर पानीमुनि पनि त्यस्ता वस्तुहरू द‍ेखेको खबर आउन थालेको उनको भनाइ छ । उनैले यस वर्षको जुनमा पूर्व वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी डेभिड ग्रुससँग यूएपी सम्बन्धी अन्तर्वार्तामा लिएर अर्को समाचार प्रकाशित गरिन् ।

उनले अन्तर्वाता लिएको डेभिड ग्रुस अफगानिस्तानमा अमेरिकी सैन्य अभियानमा पनि संलग्न थिए । उनै ग्रुसले दुर्घटना भएका यूएपीहरूलाई अमेरिकाले कब्जा गर्ने र त्यहाँ पाइने सामग्री तथा तिनीहरूका पाइलटहरूको अवशेषहरूलाई रिभर्स इन्जिनियरिङ मार्फत अध्ययन गर्ने गरेको बताए । 

यो कुरालाई लेस्ली केनले निकै महत्त्वपूर्ण दाबी भएको र यस विषयमा उक्त परियोजनामा ​​काम गर्ने व्यक्ति र गुप्तचर विभागसँग सम्बन्धित वरिष्ठ अधिकारीहरूसँग पनि कुराकानी गरेको बताएकी छिन् ।

यता अमेरिकी रक्षा मन्त्रालयले भने यी दाबीहरू पुष्टि गर्न अनुसन्धानकर्ताहरूसँग प्रमाण नभएको र यूएपीको रिभर्स इन्जिनियरिङ कहिल्यै पनि नगरेको बताउने गर्छ । तर डेभिड ग्रुसले अमेरिकी संसदको सुनुवाइमा शपथ लिँदै आफ्नो बयान दिएका थिए । त्यस्तै अन्य पूर्व सैनिक अधिकारीहरूले पनि आफ्ना अनुभवहरू सुनाएका थिए । 

लेस्लीले भने हवाई यातायात र राष्ट्रिय सुरक्षाको मुद्दा भएकाले यूएपीको विषयलाई संसदीय समितिले गम्भिरतापूर्वक लिनु पर्ने र छानबिन गर्नुपर्ने बताएकी छिन् । १७ वर्षदेखि यहिँ कुरा भन्दै आएको र आफूले यूएफओको अस्तित्व स्विकार गरेको उनले जनाएकी छिन् ।

यूएफओलाई आफूले फरक संसारको रूपमा लिएको उनको भनाइ छ । यसबारे सांसदहरूलाई धेरै जानकारी भएकाले नै उनीहरूले यति गम्भीर रूपमा लिइरहेको पनि उनले तर्क गरेकी छिन् । त्यस्तै संसारका सबै व्यक्तिलाई पृथ्वी बाहिर पनि जीवन छ भन्ने थाहा पाउनु अधिकार भएको र त्यसको प्रमाण अमेरिकासँग भएको उनले बताएकी छिन् ।

आँखा अघिको सत्य

एडम फ्र्याङ्क रोचेस्टर विश्वविद्यालयका खगोलशास्त्रका प्राध्यापक हुन् । अहिलेसम्म यूएफओ र यूएपीसँग विज्ञानको खासै सम्बन्ध नभएको उनी बताउँछन् । विज्ञानले अनुमान र कथाहरूमा नभई ठोस प्रमाणमा विश्वास गर्ने भएकाले यस्तो भएको उनको तर्क छ ।

त्यस्तै यीसँग सम्बन्धित धेरैजसो जानकारीहरू मानिसले सुनेका किस्सा र कथाहरूमा आधारित हुने भएकाले विज्ञानले खासै केही गर्न नसकेको उनको भनाइ छ । साथै यसमा काम गर्न वैज्ञानिकसँग आवश्यक जानकारी नभएको उनी सुनाउँछन् । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्य ग्रहहरूमा जीवन वा उन्नत प्रविधिको खोजी गर्न सञ्चालन गरेको परियोजनामा प्राध्यापक फ्र्याङ्क पनि आबद्ध छन् । तर पृथ्वी बाहिर पाइने जीवनको खोज कहाँ गर्ने भन्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न भएको उनको भनाइ छ ।

उदाहरण दिँदै उनी भन्छन्, “नेब्रास्का (अमेरिकाको मध्यपश्चिमी क्षेत्रको एउटा राज्य)मा बस्ने व्यक्तिलाई खोज्न हिमाली क्षेत्रको गाउँमा नभई नेब्रास्कामा जानु पर्छ । एलियनहरूमा पनि यहीँ कुरा लागू हुन्छ । सौर्यमण्डलमा ४०० अर्ब तारा र त्यति नै धेरै ग्रहहरू छन् । पृथ्वी हिमाली क्षेत्रको एउटा सानो गाउँ जस्तो छ । एलियनहरूलाई त्यहीँ खोज्नु पर्छ, जहाँ उनीहरू बस्छन् ।”

प्राध्यापक एडम फ्र्याकं

अमेरिकी संसदीय समितिलाई नौसेनाका पाइलटहरूले दिएको वक्तव्यको सम्बन्धमा पारदर्शी ढंगले छलफल र छानबिन भए राम्रो हुने उनी सुनाउँछन् । तर यूएपी भेट्टाएको दाबीलाई भने उनी शङ्काको नजरले हेर्छन् ।  यी कुराहरू एक्स फाइल (एउटा अमेरिकी टेलिभिजन कार्यक्रम)को एउटा भाग जस्तो लाग्ने उनी बताउँछन् ।

किनकी विगत ७० वर्षमा एलियन वा दुर्घटना भएको यूएपीहरूको कुनै पनि फोटो फेला पार्न नसकेको उनको भनाइ छ । बरु उनी उल्टै तर्क गर्छन्, “एउटा कुरा विचार गर्नुहोस् । तारा र सौर्यमण्डलहरू बीचको दूरी यति लामो छ कि तिनीहरूको हिसाब गर्दा चक्कर लाग्छ । त्यसैले यदि कुनै प्राणी वा सभ्यतासँग त्यति लामो दूरी यात्रा गर्न सक्ने अत्याधुनिक प्रविधि छ भने उसको यान पृथ्वीमा आएर दुर्घटनाग्रस्त भयो भन्नु अलि पत्याउनै नसकिने कुरा हो।”

त्यस्तै अमेरिकी संसदीय समितिका सदस्यहरूलाई देखाइएको उक्त भिडिओ नासाका वैज्ञानिकहरूले मूल्याङ्कन गरेको र त्यसमा उडिरहेको वस्तुको गति ४० माइल प्रतिघण्टा मात्र भएको फ्र्याङ्क बताउँछन् । जुन बाह्य (अन्तरिक्षा यान) गति नभएको र ठोस प्रमाण बिना वैज्ञानिकहरूले त्यो यूएफओ भएको कुरा अनुमान मात्र मान्ने पनि बताएका छन् ।

बरु सयौं प्रकाश वर्ष टाढा रहेका ग्रहहरूमा अक्सिजन छ भने त्यो पनि पत्ता लगाउन सक्ने जेम्स वेब जस्ता शक्तिशाली टेलिस्कोपहरू भएको उनी स्मरण गराउँछन् । साथै त्यो ग्रह अध्ययन गरेर ‍त्यहाँ कस्तो प्रकारको जैविक विविधता छ भनेर जानकारी मिल्ने क्षमता पनि उनी सम्झाउँछन् । तर एस्ट्रोबायोलोजी (ब्रह्माण्डमा जीवनको अध्ययन गर्ने विज्ञान) मा भइरहेको यस क्रान्तिको कारण यहीँ पुस्ताले नै पृथ्वीभन्दा बाहिर जीवन छ कि छैन भनेर थाहा पाउने उनी विश्वास गर्छन् । 
 

पृथ्वीमा पर्न सक्ने प्रभाव 

बेलायतको सर्च फर एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेन्स (सेटी) अन्तर्गतको पोस्ट डिटेक्शन हबमा डा. चेल्सी हेरेमिया वैज्ञानिकका रुपमा कार्यरत छिन् । यस डिटेक्सशन हबको काम एलियन फेला परे उनीहरूको प्रविधिसँग सामना गर्नु हो । अहिले तत्कालै एलियन्स फेला परे मानिसले गर्नलाई त्यस्तो कुनै कामको सूची नभएको उनी बताउँछिन् ।

त्यतिबेला कस्तो परिस्थिति हुन्छ त्यो कुराले फरक पार्ने उनको भनाइ छ । यदि त्यस्तो अवस्था आए मानिसले न्याय र शोषण जस्ता विषयमा सोच्नुपर्ने उनको विचार छ । किनकी सत्तामा रहेकाहरूले प्रायः यस्तो परिस्थितिहरूमा ‍शोषण गर्न प्रयास गर्ने उनी बताउँछन् ।

 

सेटीका वैज्ञानिक डा. हेरेमिया 

त्यस्तै एलियन पत्ता लागे उनीहरूसँग कसरी सम्पर्क गर्ने अर्को प्रश्न रहेको छ । त्यो समयमा विभिन्न समस्या आउन सक्ने र प्रविधिहरू साझा गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछिन् । तर कुनै पनि देशलाई आफ्नो वैज्ञानिक प्रविधि तथा सूचनाहरू अर्को देशसँग आदानप्रदान गर्न निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ । यसकारण मानव इतिहासको त्यो महत्त्वपूर्ण क्षणमा नैतिकतापूर्वक कार्म गर्नु निकै महत्त्वपूर्ण हुने उनी धारणा व्यक्त गर्छिन् ।

विभिन्न  पूर्व तथा वर्तमान गुप्तचर अधिकारीहरू, यूएफओ देखेका विश्वास गर्ने मानिसहरू पृथ्वीभन्दा बाहिर जीवन भएको विश्वास गर्छन् । तर ठोस प्रमाण नभएसम्म वैज्ञानिकहरूले भने यसलाई स्वीकार गर्दैनन् । यद्यपि यूएपीहरूलाई हामीले सामाजिक वास्तविकता (Social Reality) बनाएकाले यसको गहिराइसमम पुग्ने गरी अध्ययन गर्न जरुरी भएको प्राध्यापक ग्रेग इजिगियन बताउँछन् ।

-बीबीसी हिन्दीबाट 

पछिल्लो अध्यावधिक: असोज २, २०८० १०:३०