close

अवैध धन्दा पर्दाफास भएपछि पैसा फिर्ता लिन चाहनेलाई १०० डलर तिर्न बाध्य पार्दै फिफिया

टेकपाना टेकपाना

असोज ७, २०८० १२:७

अवैध धन्दा पर्दाफास भएपछि पैसा फिर्ता लिन चाहनेलाई १०० डलर तिर्न बाध्य पार्दै फिफिया

 

काठमाडौं । अवैध नेटवर्किङ तथा सट्टेबाजी प्लेटफर्म फिफियाले जम्मा गरेको रकम फिर्ता पाउन १०० डलर (करिब १३ हजार २०० रुपैयाँ) तिर्नुपर्ने भन्दै सूचना निकालेको छ । प्रयोगकर्ताले सो प्लेटफर्ममा जम्मा गरेको रकम डुब्ने डरले धमाधम झिक्न थालेपछि कम्पनीले शनिवार राति ११ बजे सूचना निकाल्दै करको नाममा असुली थालेको हो । 

“अबदेखि रकम विथड्र गर्नका लागि प्रत्येक प्रयोगकर्ताले यूके फिफियाको मुख्यालयमा १०० यूएसडीटीको कर एजेन्सी शुल्क तिर्नुपर्ने हुन्छ,” सूचनामा लेखिएको छ, “यो शुल्क तपाईंको कर मामिला व्यवस्थापन गर्न प्रयोग गरिनेछ । तपाईंको विथड्र प्रक्रिया सजिलो बनाउन र प्लेटफर्मको निरन्तर विकास तथा सुधारमा योगदान गर्नका लागि यस्तो कर आवश्यक छ ।”

सो प्लेटफर्मबाट यस्तो सूचना आउनुको कारण दुई ओटा हुनसक्ने अनुमान गरिएको छ । एउटा टेकपानामा समाचार प्रकाशित भएपछि धेरै प्रयोगकर्ताले एकसाथ रकम झिक्न थालेपछि सबैले रकम निकाल्न नसकुन् भन्ने मनसायले फिफियाले यस्तो गरेको हुनसक्छ ।

टेकपानासँग कुरा गर्दै फिफियामाथि एक वर्षदेखि अध्ययन गरिरहेका एक व्यक्ति अर्को कारण देखाउँदै भन्छन्, “जति लुट्नु थियो लुट्यो, अब कम्पनी छिट्टै बन्द हुँदैछ । त्यसैले थप रकम लुट्नका लागि १०० यूएसडीटी तिर्नुपर्ने बनाएको हो ।” 

उनका अनुसार यो दुबईबाट सञ्चालन भइरहेको चिनियाँ प्लेटफर्म हो । डोमेन रजिस्ट्रि जाँच गर्दा यो प्लेटफर्म अमेरिकाबाट दर्ता भएको देखिन्छ । 

यदि यो डोमेन सर्च गर्ने हो भने त्यहाँ तीन ओटा क्षेत्र छनोट गर्न मिल्ने बनाइएको छ । बेलायत, नेपाल र चीनमध्ये जुनसुकै ठाउँ छनोट गरेर यो प्लेटफर्म प्रयोग गर्न सकिने बनाइएको छ ।

 

सूचनामा फिफियाको मुख्यालय बेलायतमा रहेको भनिएको छ । तर इन्टरनेटमा खोज्दा कहीं कतै यसको कार्यालय भएको देखिंदैन । प्रयोगकर्तालाई थप रकम निकाल्न नसक्ने बताउन यो प्लेटफर्मले यस्तो रणनीति अपनाएको विश्लेषण गरिएको छ । 

गत बिहीवार फिफियामा रकम लगानी गरिदिने बहानामा ११ लाख बढी ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक युवतीलाई पक्राउ गरेको थियो । महिला पक्राउ परेको विज्ञप्ति निकाल्दै कार्यालयले फिफियालाई अवैध अनलाइन सट्टेबाजी एपका रूपमा परिभाषित गरेको छ । 

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा २ (१) मा लेखिएको छ, “जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रियालाई सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।” 

त्यस्तै सोही दफाको उपदफा ४ मा कसैले सट्टेबाजी गर्नु वा गराउनु हुँदैन भनिएको छ । त्यसैगरी सोही दफाको उपदफा ५ मा भनिएको छ, “उपदफा (४) को प्रयोजनका लागि कसैले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टेबाजीको कसुर गरेको मानिनेछ ।

त्यस्तै सोही दफाको उपदफा ६ मा सो कसुर गरेमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । 

फिफियाको प्रयोजन हेर्दा यो मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ आकर्षित हुने देखिन्छ । त्यसबाहेक पनि यो प्लेटफर्म नेटवर्किङ शैलीमा सञ्चालन भएको छ । नेपालमा नेटवर्किङ शैलीका व्यवसाय पनि अवैध मानिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १२:१०