close

के हो गाजामा इजरायलले प्रयोग गरेको भनिएको ह्वाइट फस्फोरस, अनि कत्तिको छ घातक ?

टेकपाना टेकपाना

असोज २९, २०८० १३:५४

के हो गाजामा इजरायलले प्रयोग गरेको भनिएको ह्वाइट फस्फोरस, अनि कत्तिको छ घातक ?

काठमाडौं । पछिल्ला केही दिनयता प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको बमबारी जारी छ । इजरायली सेनाका अनुसार उसले गाजामा पाँच दिनमा करिब ६००० बम खसालेको छ ।

जारी बमबारी बीच मानव अधिकार सङ्गठन ह्युमन राइट्स वाचले भनेको छ कि गाजा र लेबनानमा आफ्नो सैन्य कारबाहीमा इजरायल ह्वाइट फस्फोरस प्रयोग गरिरहेको छ । ह्युमन राइट्स वाचका अनुसार यस किसिमका हतियारको प्रयोग मानिसहरूमाथि गम्भीर चोट पुर्‍याउन सक्छ र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको अलङ्घन गर्छ ।

समाचार संस्था रोयटर्सका अनुसार जब इजरायली सेनासँग यी आरोपहरूको बारेमा सोधिएको थियो, तब उसले गाजामा हाल ह्वाइट फस्फोरस हतियार प्रयोग भएको विषय जानकारी नभएको बताएको थियो । ह्युमन राइट्स वाचले भने १० अक्टोबरमा लेबनान र ११ अक्टोबरमा गाजामा सुट गरिएको भिडिओ प्रमाणित गरेको छ ।

जसमा गाजा सिटी पोर्ट र इजराइल-लेबनान सिमा नजिकै रहेका दुई ग्रामीण इलाकामा तोपखानाबाट प्रहार गरिएका ह्वाइट फस्फोरसका कयौं हवाई विस्फोट देखिएका थिए ।

ह्युमन राइट्स वाचका मध्यपूर्व तथा उत्तरी अफ्रिकाका निर्देशक लामा फकिर भन्छन्, "जब भिडभाड पूर्ण नागरिक इलाकामा ह्वाइट फस्फोरसको प्रयोग गरिन्छ, त्यसबाट गम्भीर जलन र आजीवन पीडाको खतरा हुने गर्छ ।"

सन् २०१३ मा इजरायलको सेनाले भनेको थियो कि उ युद्धको मैदानमा धुवाँ तयार पार्न ह्वाइट फस्फोरसयुक्त गोलाबारीको प्रयोग बन्द गर्न गइरहेको छ । उक्त समयमा पनि मानव अधिकार समूहहरूले गाजा सङ्घर्षका दौरान इजरायलको ह्वाइट फस्फोरस प्रयोगको निन्दा गरेका थिए ।

 

के हो ह्वाइट फस्फोरस ?

यहाँनिर ह्वाइट फस्फोरस के हो ? यसको यति धेरै चर्चा किन भइरहेको छ ? आज हामी यही विषयमा चर्चा गर्दै छौं । ह्वाइट फस्फोरस एक रसायनिक पदार्थ हो, जो अक्सिजनको सम्पर्कमा आउँदा जल्ने गर्छ ।

यसको उपयोग तोपखानाका गोली, बम र रकेटमा हुने गर्छ । एक पटक, जब ह्वाइट फस्फोरस अक्सिजनको सम्पर्कमा आउँछ, तब रसायनिक प्रतिक्रियाबाट ८१५ डिग्री सेल्सियससम्मको तीव्र गर्मी पैदा हुन्छ ।

अक्सिजनको सम्पर्कमा आउने बित्तिकै ह्वाइट फस्फोरस जल्ने भएका कारण किरण र गाढा धुवा उत्पन्न हुन्छ । जसको प्रयोग सैन्य कारबाहीमा गरिन्छ । तर जब ह्वाइट फस्फोरस मानिसको सम्पर्कमा आउँछ, तब भयानक चोट पुर्‍याउँछ ।

धेरैजसो जमिन माथि गरिने सैन्य अभियानलाई लुकाउने उद्देश्यका साथ ह्वाइट फस्फोरसको प्रयोग हुने गर्छ । ह्वाइट फस्फोरसको प्रयोगले सेनाले धुवाको स्क्रिन बनाएर आफ्नो गतिविधिलाई लुकाउने कोसिस गर्छ ।

ह्वाइट फस्फोरस इन्फ्रारेड अप्टेक्स र हतियार ट्रयाकिङ सिस्टममा पनि हस्तक्षेप गर्छ र सैन्य बललाई एन्टी ट्याङ्क मिसाइल जस्ता निर्देशित हतियारबाट बचाउँछ । गाजा जस्ता घना आवादी भएका इलाकामा हावामा ह्वाइट फस्फोरसको विस्फोटले त्यहाँ रहेका मानिसहरूका लागि जोखिम बढाउँछ । 

 

कतिसम्म नोक्सान पुर्‍याउन सक्छ ह्वाइट फस्फोरस ?

ह्वाइट फस्फोरसको सम्पर्कमा आउँदा मानिसहरूलाई गम्भीर जलन महसुस हुन्छ । यस्तो जलन, जुन हड्डीसम्म पुग्न सक्छ । यो जलनबाट बनेका घाउ ठीक हुन निकै धेरै समय लाग्छ र त्यसमा संक्रमणको सम्भावना रहन्छ ।

यदि मानव शरीरको केवल १० प्रतिशत हिस्सामा ह्वाइट फस्फोरसका कारण जलेका कारण घाउ हुन्छ भने त्यसबाट ज्यानै जान सक्छ । यसको सम्पर्कमा आउँदा मानिसलाई श्वास लिन कठिन हुन्छ र शरीरका कयौं अङ्गले काम गर्न छोड्न सक्छन् ।

ह्वाइट फस्फोरसका कारण भएका प्रारम्भिक घाउ पछि जो मानिस बाँच्न सफल हुन्छन्, उनीहरू आफ्नो बाँकी जिन्दगीमा पीडा सहन्छन् । उनीहरूको गतिशीलतामा असर पर्छ र उनीहरूको शरीरमा बनेका घाउका निसानले मनोवैज्ञानिक स्थितिमा नराम्रो असर पार्छ ।

सशस्त्र सङ्घर्षमा ह्वाइट फस्फोरसको प्रयोग कयौं अन्तर्राष्ट्रिय कानूनी ढाँचा अधीन हुने गर्छ । पारम्पारिक हतियार माथिको सन्धि सीसीडब्लूको प्रोटोकल तीन अन्तर्गत नागरिक आवादी वा नागरिक इलाकामा आगो लगाउने हतियारको रूपमा ह्वाइट फस्फोरसको प्रयोग गर्न प्रतिबन्धित छ ।

प्रोटोकल अनुसार यसको प्रयोग केवल अन्तर्राष्ट्रिय मानवीय कानूनका सिद्धान्त अनुरूप सिग्नलिङ, स्क्रिनिङ र मार्किङका लागि गर्न सकिन्छ । सशस्त्र सङ्घर्ष अन्तर्गत ह्वाइट फस्फोरसको प्रयोगले एक महत्वपूर्ण बहस सिर्जना गर्छ । जसमा कयौं व्यक्तिले नागरिक तथा पर्यावरणमाथि हुन सक्ने क्षतिलाई कम गर्नका लागि सक्त नियमन र बढी निगरानी गरिनुपर्ने माग गरिरहेका छन् ।

बीबीसी/रोयटर्स लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाको रिपोर्टमा आधारित सामग्री ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १३:५४