काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन मात्र भएको राइड शेयरिङ एप 'ईड्राइभ नेपाल' सञ्चालनमा आएको छ । ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा बिहीवारदेखि इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट उपलब्ध गराउने राइड सेवा थालेको हो।
ई-ड्राइभको सेवा सस्तो हुनुका साथै नयाँ गाडी, दुर्घटना बीमा, ओटीपी र जीपीएस प्रणाली युक्त रहेको कम्पनीले जनाएको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका सचेतक महेश बर्तौला, बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईं र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा ईड्राइभ एप र ट्याक्सी सेवा उद्घाटन गरेका थिए ।
राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमसँगै ५२ ओटा नयाँ विद्युतीय ट्याक्सीले टुँडिखेलको एक चक्कर लगाएका थिए । हाल कम्पनी आफैंले २० ओटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय ओटा ट्याक्सी सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य विद्युतीय सवारी साधनहरू पनि क्रमश: जोडिँदै जाने कम्पनीको भनाई छ ।
“सेवाग्राहीलाई सुविधा सम्पन्न तवरमा गन्तव्यमा सुरक्षित पुर्याउनु ईड्राइभ नेपालको उद्देश्य हो,” ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने, “साथै नेपालमा रोजगारीको नयाँ अवसर, विद्युतीय सेवाको उच्चतम प्रयोग, वातावरण संरक्षण, धनराशि विदेशिनबाट जोगाउनु हाम्रो अभियान हुनेछ ।”
ईड्राइभ एपको भाडा अन्य राइड शेयरिङ सेवाको तुलनामा सस्तो रहेको कम्पनीको दाबी छ । ईड्राइभ सेवामा वन टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ ।
जसले सेवाग्राही र चालकबीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग गर्न दिन्छ । त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बीमा सुविधा पनि प्राप्त हुन्छ ।
त्यस्तै ईट्याक्सीमा जीपीएस जडान गरिएको छ । यसले गर्दा आफ्ना सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसँग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउने कम्पनीको विश्वास छ ।
त्यस्तै कम्पनीले आफ्नै 'फास्ट चार्जिङ स्टेसन' पनि स्थापना गरेको छ । जहाँ पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछन् ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरूलाई विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले बढवा दिनुपर्ने बताए । नेपालमा एक सय गाडी भित्रिंदा ७० ओटा गाडी विद्युतीय हुनु खुसीको विषय भएको उनको भनाई थियो ।
कार्यकारी निर्देशक घिसिङले पेट्रोलियम ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव समेत दिए । पूर्णत विद्युतबाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तव्यमा पुर्याउने मात्र नभई विद्युतको खपत, पेट्रोलियम पदार्थबाट विदेशिने रकममा राज्यको बचत, वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष मास्कको विश्वास छ ।
ई-ड्राइभको राइड शेयरिङ एप नेपाली सफ्टवेयर ईन्जिनियरहरूले बनाएका हुन् । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर यो एप इन्स्टल गर्न सक्नेछन् ।
रोजगारीका लागि कम्पनीले महिला चालकलाई विशेष सहुलियत प्रदान गर्ने बताएको छ । विद्युतीय सवारी खरिद गरी सञ्चालन गर्न चाहने, तर आर्थिक अवस्था कमजोर भएकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा समेत दिनेछ । साथै एपमा आबद्ध सवारी चालकले बुझाउनु पर्ने कमिसन पनि यसमा थोरै रहेको उल्लेख छ ।