close

प्रतिबन्धित टिकटक चलाउन भीपीएनको साटो प्रयोग भइरहेको डीएनएस प्रविधि के हो ?

टेकपाना टेकपाना

मंसिर १, २०८० १७:४९

प्रतिबन्धित टिकटक चलाउन भीपीएनको साटो प्रयोग भइरहेको डीएनएस प्रविधि के हो ?

काठमाडौं । हामीले प्रयोग गर्ने इन्टरनेटमा थुप्रै प्रविधि अन्तर्निहीत रहेका हुन्छन्, तर हामीले तिनको बारेमा बिरलै सोचिरहेका हुन्छौं । त्यस मध्येको एउटा उदाहरण हो, डोमेन नेम सिस्टम (डीएनएस) सर्भर ।

यदि तपाईंले कहिल्यै त्रुटि सम्बन्धी सन्देशः "DNS server not responding" देख्नु भएको छ भने सम्भवतः डीएनएस सर्भर बारे ख्याल गर्नु भएको हुन सक्छ । डीएनएस सर्भर भनेका त्यस्ता कम्प्युटर सर्भरहरू हुन्, जसले तपाईंलाई चाहेको वेबसाइटमा पुर्‍याउन तपाईंले आफ्नो ब्राउजरमा टाइप गरेका वेब एड्रेसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेसमा अनुवाद गर्छ ।

आज हामी यही महत्त्वपूर्ण प्रविधिलाई नजिकबाट बुझ्ने र हाम्रो दैनिक जीवनमा यसको भूमिका बारे थाहा पाउने प्रयास गर्ने छौं ।

 

डीएनएस सर्भरको उपयोग

डीएनएस सर्भरलाई साधारण भाषामा बुझ्नुपर्दा यो कम्प्युटर र मानिस बीचको एउटा मध्यस्थ अर्थात् अनुवादक हो । कम्प्युटर, इन्टरनेट, सर्भर र ट्याब्लेट लगायत इन्टरनेटमा जोडिने प्रत्येक उपकरणले अङ्कहरूको तार प्रयोग गरिरहेका हुन्छन्, जुन आईपी एड्रेसको नामले चिनिन्छ ।

यदि डीएनएस सर्भर नहुने हो भने प्रयोगकर्ताहरूले कुनै निश्चित वेबसाइट सर्च गर्ने क्रममा आईपी एड्रेस सम्झिनुपर्ने आवश्यकता हुने थियो । डीएनएसले ब्राउजरमा तपाईंले टाइप गर्ने वेब एड्रेसमा पुर्‍याइरहेको हुन्छ, त्यो नहुने हो भने उक्त वेबसाइटमा पुग्न तपाईंले सम्बन्धित आईपी एड्रेस पत्ता लगाउनु पर्ने हुन्थ्यो ।

जस्तै डीएनएस सर्भरका कारण अहिले ब्राउजरमा www.techpana.com टाइप गर्नु भयो भने तपाई हाम्रो वेबसाइटमा पुग्न सक्नु हुन्छ । अन्यथा 172.67.135.182 अथवा 104.21.7.40 जस्ता आईपी एड्रेस सम्झिराख्नु पर्ने हुन्थ्यो ।

त्यसमाथि आईपी एड्रेसहरू बारम्बार परिवर्तन भइरहेका हुन्छन्, यस्तोमा कुनै वेबसाइटको आईपी एड्रेस सम्झिन झन् कठिन हुने थियो । यस्तोमा डीएनएसले आईपी एड्रेसमा भइरहेको परिवर्तनलाई प्रयोगकर्ताको नजरबाट लुकाएर राख्छ र इन्टरनेटमा यताउति डुल्न सहज बनाउँछ ।

 

डीएनएस सर्भरका विकल्प

यदि डीएनएस सर्भरको विषयमा तपाईंलाई जानकारी छैन भने इन्टरनेट ब्राउजिङ गर्ने क्रममा त्यसलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पनि तपाईंलाई थाहा नहुन सक्छ । विभिन्न कारणले गर्दा तपाईंलाई यसो गर्नुपर्ने आवश्यकता पर्न सक्छ ।

जसमा वेब सर्फिङलाई छिटो तुल्याउन, सुरक्षा तथा गोपनीयताको अतिरिक्त तह थप गर्न अथवा आफ्नो व्यवसाय अथवा पेसाका लागि अनावश्यक वेबसाइटहरू फिल्टर गर्न आदि हुन सक्छ । नेपालमा हाल टिकटकमाथि प्रतिबन्ध लागेको अवस्थामा भीपीएनको साटो यसको प्रयोग गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । जुन ब्लक गरिएको एप प्रयोग गर्ने कार्यमा प्रयोग हुन थालेको छ ।

इन्टरनेटमा अनेकौं पब्लिक तथा प्राइभेट डीएनएस सर्भर पाउन सकिन्छ । यहाँ भने सुरक्षित मानिने निःशुल्क रूपमा उपलब्ध गुगल र क्लाउडफ्लेयर पब्लिक डीएनएसको बारेमा संक्षिप्त जानकारी समेटिएको छ । 

 

१. गुगल पब्लिक डीएनएस

सन् २००९ देखि सक्रिय र उपलब्ध गुगल पब्लिक डीएनएस आईपी एड्रेस सम्झिराख्न पनि सजिलो छ । साथै यसले ब्राउजर स्पिड पनि बढाउन सहयोग गर्छ । जुन रहेको छः 8.8.8.8 र 8.8.4.4 ।

यसमा क्याश पोइजनिङ आक्रमणबाट समेत बचाउने सुरक्षा फिचर पनि पाउन सकिन्छ, यस्ता आक्रमणमा प्रयोगकर्तालाई वेब सर्च गर्ने क्रममा खराब तथा दुर्भावनायुक्त वेबसाइटमा रिडाइरेक्ट गराउने प्रयास हुन्छ । यद्यपि यसले कुनै पनि साइट ब्लक गर्न भने दिंदैन ।

गुगल पब्लिक डीएनएसले अन्य डीएनएस सर्भरको उत्कृष्ट गोपनीयता उपलब्ध नगराए पनि साधारणतया यो तपाईंलाई इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने डीएनएस सर्भरको तुलनामा राम्रै हुन्छ । यसका साथै अनुभवी प्रयोगकर्ताले के सूचना स्टोर गरिएको छ भन्ने कुरा हेर्नका लागि सर्भिस लगमा पहुँच बनाउन समेत सक्छन् ।

 

२. क्लाउडफ्लेयर पब्लिक डीएनएस

अर्को लोकप्रिय पब्लिक डीएनएस हो, क्लाउडफ्लेयरको 1.1.1.1 । क्लाउडफ्लेयरले सञ्चालन गरिरहेको यो पब्लिक डीएनएस रिजल्भरले इन्टरनेट ब्राउज गर्ने फास्ट र गोप्य उपाय उपलब्ध गराउँछ । अन्य डीएनएस रिजल्भर जस्तो 1.1.1.1 ले प्रयोगकर्ताको डेटा विज्ञापनका लागि बिक्री नगरिने बताउँछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८० १७:५०