close

नेपाली ब्राण्ड ‘जोस’ का इयरबड, यस्तो छ मूल्य र फिचर

उष्मा अधिकारी

मंसिर २, २०८० १५:४३

नेपाली ब्राण्ड ‘जोस’ का इयरबड, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नयाँ इयरबड किन्ने सोचमा हुनुहुन्छ भने बजारमा जोस ब्राण्डका उत्पादन विकल्प हुन सक्छन् । नेपाली ब्रान्ड जोसका हाल दुई इयरबड ‘स्पेसबड्स म्याक्स’ र ‘ग्लाइड एएनसी’ बजारमा उपलब्ध छन् ।

स्पेसबड्स म्याक्सको केस मेटालिक फिनिसमा छ, जसले गर्दा कभर टल्किन्छ । बड्सको डिजाइनमा पनि सेन्सरको भाग टल्किन्छ । दुवै काममा अडिने गरी बड्सको डिजाइन गरिएको छ । रबर टिप्स भएकाले लगाउँदा सहज हुन्छ । यसको मुख्य विशेषता क्वाड माइक सहितको एक्टिभ नोइज क्यान्सिलेसन हो, जसले अनावश्यक हल्लालाई रोकेर गीत सुन्न सघाउँछ ।

यो मोड अन गर्न दायाँको बड्स अर्थात् राइट बड्सलाई तीन सेकेन्डसम्म थिचिरहनुपर्छ । यसको अलावा कल गर्दै गर्दा अनावश्यक हल्लालाई कम गरेर स्तरीय कुराकानी गर्न सघाउने इन्भाइरोमेन्टल नोइज क्यान्सिलेसन पनि यसमा छ ।

त्यस्तै ट्रान्सप्यारेन्सी मोड पनि यसमा उपलब्ध छ । जसले इयरबड लगाउँदा पनि बाहिरको आवाज सुन्न सकिन्छ ।

यसको मुख्य विशेषतामा पर्ने अर्को कुरा भनेको ब्याट्री ब्याकअप हो । यसमा ५०० एमएएच क्षमताको केस दिइएको छ । त्यसो हुँदा यसले कुल ५० घण्टासम्मको ब्याकअप दिनसक्ने कम्पनीकाे दाबी छ ।

चार्जिङका लागि टाइप-सी केबल दिइएको छ । यसबाट केसलाई फुल चार्ज गर्न करिब दुई घण्टासम्म लाग्छ । तर बड्सलाई मात्र फुल चार्ज गर्दा भने एक घण्टा लाग्छ । यद्यपि बड्समा चार्ज शून्य छ भने केबल पाँच मिनेट चार्ज गरेर एक घण्टासम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

यस इयरबडमा ब्लुटुथको पछिल्लो भर्सन ५.३ उपलब्ध छ । त्यसो हुँदा मोबाइलमा कनेक्सन गर्दा समस्या आउँदैन । साथमा मोबाइलमा गेम खेल्नेहरूका लागि गेम मोड समेत दिइएको छ, जसले लेटेन्सीलाई ६० मिलिसेकेन्डमा कायम गर्छ । तर गेमरहरूका लागि यो लेटेन्सी खासै प्रभावकारी भने होइन । २० वा ३० मिलिसेकेन्डसम्मको लेटेन्सी भइदिएको भए यसलाई पनि अर्को राम्रो विशेषता मान्न सकिन्थ्यो ।

त्यस्तै यसले भोइस एसिस्टेन्ट पनि सपोर्ट गर्छ । धुलोबाट यसलाई आफैंले बचाउनुपर्छ । तर आईपीएक्स फोर रेटिङ प्राप्त गरेकाले कानमा लगाउँदा आएको पसिनाले भने यसलाई असर गर्दैन ।

बड्सको सेन्सरले राम्रैसँग काम गर्छ । तर मोड परिवर्तन गर्नका लागि होस् वा अन्य फिचर चलाउन, बानी नपरुन्जेल चाहिँ थोरै अलमल हुन सक्छ ।

स्पेसबड्स म्याक्समा पनि कतिपय समानता पाउन सकिन्छ । तर जसरी मूल्यका हिसाबले यी दुईमा भिन्नता छ,  गुणस्तरको मामलामा पनि यी दुईबीचको फरक सजिलै छुट्याउन सकिन्छ । यसमा एनएनसी, ट्रान्सप्यारेन्सी मोड जस्ता विशेषताहरु छैनन् ।​ वायर्ड इयरफोन छाडेर इयरबड प्रयोग गर्नेहरूका लागि लागि यो विकल्प बन्न सक्छ ।

यसको केस ४०० एमएएच क्षमता ब्याट्रीयुक्त हो । जसले ४० घण्टाको प्ले टाइम दिने कम्पनीको दाबी छ । ब्लुटुथ भर्सनमा भने यसमा सम्झौता गरिएको छैन । अर्थात् ब्लुटुथको पछिल्लो भर्सन ५.३ नै दिइएको छ । 

यी दुवै बड्समा ६ महिनाको वारेन्टी छ । समग्रमा एनएनसी, ट्रान्सप्यारेन्सी, गेम मोडजस्ता फिचर प्रिमियम बड्सका विशेषता हुन् ।

यस्ता फिचरको अनुभव सस्तो दामको इयरबडबाट लिने हो भने ग्लाइड एएनसी राम्रो विकल्प हुनसक्छ । बजेट कम छ र वायर्ड इयरफोन छाडेर इयरबड प्रयोग चाहनुहुन्छ भने स्पेसबड्स म्याक्स किन्न सक्नुहुन्छ । 

ग्लाइड एएनसीकाे मूल्य साढे चार हजार रुपैयाँ भएपनि दराज अनलाइनमा २५ सय रुपैयाँ र स्पेसबड्स म्याक्सकाे मूल्य तीन हजार ३९० रुपैँया भएपनि दराज अनलाइनमा १८ सय ७९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८० १७:४९