close

मायाजालमा पारी अनलाइनमार्फत एक लाख ३५ हजार ठगी गर्ने महिला पक्राउ

टेकपाना टेकपाना

मंसिर ११, २०८० ९:११

मायाजालमा पारी अनलाइनमार्फत एक लाख ३५ हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नक्कली अकाउन्ट बनाएर एक लाख ३५ हजार रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । सप्तरी जिल्ला कञ्चनरुप नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ इमाडोल बस्ने २७ वर्षीया सुजता चौधरी पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकी चौधरीले 'एलेक्स बेन्जामिन' (Alex Benjamin) नामक नक्कली अकाउन्टबाट विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाएर आफू टर्कीको नागरिक रहेको बताउने गर्थिन् । यसका साथै फेसबुकमार्फत साथी बनाएकालाई मायाजालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गरगहना, मेकअपका सामानसहितको लगेज पठाइदिएको बताउँथिन् ।

पीडितहरूलाई विश्वास दिलाउन सामानको फोटोसमेत पठाएर चाैधरीले कुरियरको मान्छेले सम्पर्क गर्छ भनेर मेसेज पठाउँथिन् । त्यसपछि काठमाडाैंको एयरपोर्टमा सामान आइपुगेको छ, तर भन्सार शुल्क, डेलीभरी शुल्क र बीमा शुल्कजस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्छ भनेर पीडितहरूबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा पैसा पठाउन लगाउँथिन् ।

हाल चाैधरीलाई जिल्ला गरी प्रचलित कानून बमोजिम ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी रकम लगी गर्ने प्रवृत्ति बढेको छ । अपरिचिति व्यक्तिले पठाएका शंकास्पद लिंक तथा मेसेजहरूलाई विश्वास गर्दा अनलाइन ठगी तथा साइबर सुरक्षाको जोखिम हुने गरेको सरोकारवाला बताउँछन् ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० ९:२५