close

टिकटकको नक्कल गर्ने नेपाली एपको बिजोग !

टेकपाना टेकपाना

मंसिर १३, २०८० १०:५८

टिकटकको नक्कल गर्ने नेपाली एपको बिजोग !

काठमाडौं । नेपालमा शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लागेपछि टिकटक जस्तै फिचर भएका एपहरू चर्चामा आए । तर, टिकटकको दाँजोमा अन्य एप प्रभावकारी नभएपछि प्रयोगकर्ताले टिकटक नै प्रयोग गर्ने बाटो खोज्न थाले । यसो त केही प्रयोगकर्ता लाइकी प्रयोग गरिरहेका छन् भने केही बिगो लाइभमा सक्रिय छन् । तर, अडियन्सको फ्लो र चासाे टिकटकमै बढी भएकाले प्रयोगकर्ताहरू यही प्लेटफर्म प्रयोग गर्न अनेक तरिका खोजिरहेका छन् ।

फोन वा डिभाइसमा भीपीएन अथवा डीएनएस परिवर्तन गर्दा टिकटक चलाउन सकिने थाहा पाएपछि प्रयोगकर्ता याे बाटाेबाट टिकटक प्रयोग गर्न थालेका । सरकारले फ्री भीपीएन बन्द गर्ने घाेषणा गरेपनि यस्ता एपकाे प्रयाेग झन् बढेकाे छ । हाल प्ले स्टोरको चार्ट हेर्ने हो भने शीर्ष ५० एपमध्ये २२ ओटा एप भीपीएन र प्रोक्सीसँग सम्बन्धित भएको देखिन्छ ।

यही मौकालाई मध्यनजर गर्दै नेपालमा केही एपहरू उदाए । तर, यी एपकाे अवस्था बिजोग छ । केहीमा प्लेटफर्मको युजर इन्टरफेस गतिलो छैन भने केहीमा प्रयोगकर्ताले अकाउन्ट नै बनाउन सकेका छैनन् ।

टिकटक प्रतिबन्धपछि आइडिया जार नामकाे कम्पनीले 'रमाइलो एप' सार्वजनिक गरेको थियो । टिकटकको विकल्पमा नेपालीले बनाएकाे एप बन्दै चर्चा भएकाे रमाइलाे एप सार्वजनिक भएकाे केही दिनमै गुगल प्लेको नीति उलङ्घन गरेका कारण प्ले स्टोरबाट बाहिरियो । हतारमा प्ले स्टोरमा मात्र आएको एप सो प्लेटफर्मबाट बाहिरिँदा सामाजिक सञ्जालमा उक्त एपको चर्को आलोचना हुन थाल्यो ।

हालसम्म पनि रमाइलाे एप आईओएसका लागि एपस्टोरमा आइसकेको छैन । प्ले स्टोरमा भने सो एप सोमवारदेखि पुनः उपलब्ध भएको छ । हाल यो एप एक लाखभन्दा बढी पटक इन्स्टल भइसकेको छ । तर, एपले जसरी प्रयोगकर्तालाई आकर्षित गर्नुपर्ने हो, त्यस्तो देखिंदैन । 'फर योर पेज'मा १० देखि १२ ओटा भिडिओ मात्र प्ले हुन्छन् । र, उही भिडिओ बारम्बार फिडमा आउँछन् ।

ती भिडिओ स्क्रोल गर्दा एप उस्तै ल्याग हुन्छ । त्यस्तै सो एपको एक्स्प्लाेर ह्याशट्यागको छुट्टै सेक्सन बनाइएको छ, जहाँ कुन ह्याशट्यागमा कति भिडिओ छन् भन्ने पेज बनाइएको छ । उक्त पेजमा कुन ह्याशट्यागमा कति भिडिओ पोस्ट भएका छन् भन्ने हेर्न सकिन्छ । तर, त्यस सेक्सनमा पनि भिडिओ निकै ढिलो लोड हुन्छन् ।

त्यस्तै टिकटक प्रतिबन्ध हुनुअघि असोज अन्तिममा 'स्मार्ट गफ' नामको शर्ट भिडिओ प्लेटफर्म सार्वजनिक भयो । टिकटक प्रतिबन्धपछि सो एपले पनि बजारमा राम्रै चर्चा पायो । विशेषगरी भिडिओमा आएका भ्युजको आधारमा क्रियटरले रकम पाउने भनेपछि सो एपको चर्चा बढेको थियो । तर, सामाजिक सञ्जालका अन्य विभिन्न माध्यममा प्रयोगकर्ताले ओटीपी कोड नै नआइरहेको गुनासो गरेका छन् ।

यस विषयमा बोल्दै स्मार्ट गफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश शाहीले टेकापानासँग कुरा गर्दै भने, "हामीले नेपाल टेलिकमसँग ओटीपी खरिद गरेर लिएका थियौं । यो उहाँहरूको समस्याले भएको हो । उहाँहरूले आकाश एसएमएस (एसएमएस सर्भिस प्राेभाइडर) लाई दिनुभएकाे रहेछ । त्यसबाट स्लो आइरहेको छ । अहिले हाम्रो प्रोभाइडर वा हब एनटीसी मात्र हो । उनीहरूको हबमा समस्या आएकाले ओटीपी कोड ढिलो आएको हो ।"

अबको केही समयपछि राम्रो हब आउने र त्यसपछि ओटीपी कोड क्षणभरमै पुग्ने उनको भनाइ छ । कतिपय प्रयोगकर्ताले ओटीपी कोड समयमै आए पनि भिडिओ ढिलो लोड हुने गरेको गुनासो गरेका छन् ।

हामीले परीक्षण गर्ने क्रममा भिडिओ अपलोड गर्दा स्वतः एप बन्द हुने गरेको पायौं । भिडिओ पनि अन्य एपमा जस्तो स्मुथ छैनन् । यसमा रमाइलो एप जस्तो एउटै भिडिओ दोहोरिरहने समस्या छैन । तर, प्लेटफर्मको इन्टरफेसले भने प्रयोगकर्तालाई लामो समय इन्गेज गराउन सकेको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० १०:५८