close

सामाजिक सञ्जाल प्रयोगको सामाजिक, भू-राजनीतिक र प्राविधिक पक्ष

डा.बाबुराम दवाडी

मंसिर १३, २०८० १२:३९

सामाजिक सञ्जाल प्रयोगको सामाजिक, भू-राजनीतिक र प्राविधिक पक्ष

२०६५ सालताका तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महराको “हातहातमा मोबाइल, घरघरमा इन्टरनेट” भन्ने नाराले खुबै चर्चा पायो । नीतिगत रूपमै मोबाइल र इन्टरनेट सेवा बिस्तारमा नेपाल दूरसञ्चार प्राधिकरणले पनि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी इन्टरनेट सेवा विस्तारमा सहयोगी भूमिका खेलेकै कारणले इन्टरनेटमा नागरिकहरूको पहुँच बढ्यो ।

इन्टरनेटसँगै फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग मात्र नभएर अनधिकृत साइटहरूमाथिको पहुँच नि ह्वात्तै बढेको थियो । सरुसुरुमा अक्षर मात्र पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालमा पढेलेखेकाहरूको पहुँच बढी थियो । 

क्रमशः फोटो, अडियो र भिडियो समेत राख्न मिल्ने भएपछि नेपाली बालबालिकादेखि बुढ‍ा-पाकाहरूको पनि आकर्षण बढ्दै गयो ।

सामाजिक सञ्जालसँगै संवेदनशील र पोर्न साइटहरूमा बढ्दो पहुँच, गाली-गलोच, तस्विर तथा भिडियोको दुरुपयोगले आत्महत्या दुरुत्साहन हुने समस्या बढेका अनेकौं गुनासो आउन थाले । त्यसपछि तत्कालीन समयमा नेपाल दूरसञ्चार प्राधिकरणमा सहायक-निर्देशकको रूपमा कार्यरत रहँदा यो लेखकको संयोजकत्वमा अनधिकृत साइट बन्द गर्ने निर्देशन कार्यान्वयन गर्न समिति गठन भयो ।

इन्टरनेट सेवा प्रदायकहरूको सहकार्यमा अनधिकृत साइटहरूको कालो सूची तयार गरी बन्द गर्ने कार्य सुरु गरियो । त्यससँगै मिडियाहरूमा प्रेस स्वतन्त्रता, वाक-स्वतन्त्रता माथिको हमला भन्दै थुप्रै समाचारहरू आउन थाले । “सेक्स एजुकेसन नेपालीहरूको लागि अति आवश्यक छ, सरकारले इन्टरनेट स्वतन्त्रतामा अङ्कुश लगाउनु हुन्न” भन्ने जस्ता विभिन्न सोसाइटी/फोरममा कार्यरत नेपालीहरूकै भनाइहरूले गर्दा समितिको संयोजकको नाताले कयौं ठाउँमा उत्तर दिन बाध्य हुनु परेको थियो ।

“राज्य भनेको अभिभावक हो र कसैका गोप्य कुरा लिक गरेर चरित्र हत्या गर्दै गर्दा अर्थात् एउटा छिमेकीले सामाजिक सञ्जालमा बोलेका/लिक गरेका कुराले आर्को छिमेकीले आत्महत्यासम्म गर्ने अवस्थामा नआओस् र यो अवस्था तपाईं/हामी अभिभावकलाई परिरहेको छ भने कम्तीमा आफ्नो भूगोलमा यस्तो गतिविधि ठिक हुँदैन भन्ने लाग्छ । नागरिकलाई शिक्षा प्रदान गर्न नेपालमा थुप्रै स्कुल र कलेजहरू छन्,” संयोजकको नाताले धेरै ठाउँमा यस्तै जवाफ दिइयो । 

इन्टरनेट र प्रसारण मडियाबाट प्रवाह हुने सामग्रीमा अक्षर, त्यसपछि फोटो अनि अडियो र त्यसपछि भिडिओ  क्रमशः बढी प्रभावकारी हुन्छ । किनभने अडियो सहितको भिडियो निरक्षर समेतले बुझ्ने सामग्री हो । पछिल्लो पटक भिडियो शेयरिङ प्लेटफर्मको रूपमा रहेको टिकटक नेपालमा सबैभन्दा बढी लोकप्रिय हुनुको एउटा कारण यो पनि हो ।

सामाजिक पक्ष

नेपाल तेस्रो विश्वको देश (थर्ड वर्ल्ड कन्ट्री) र एसियामै पनि विकासोन्मुख मुलुक हो । कमजोर सामाजिक, शैक्षिक र आर्थिक स्तरकै कारणले प्रविधिको प्रयोग भन्दा दुरुपयोग बढी हुन्छ । 

इन्टरनेट र मोबाइलको पहुँच बढेसँगै गाउँगाउँका गरिब वस्तिका निरक्षर नागरिकहरूमा समेत टिकटक लोकप्रिय बन्न पुग्यो ।

सहरमा केही हदसम्म पढेलेखेका नागरिक बस्ने भएकाले टिकटकको दुरुपयोग जति हुन्छ, त्यति नै सदुपयोग पनि भएकै छ । आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्ने प्रभावकारी थलोको रूपमा लिन सकिने, कलाकारीता र क्षमता प्रदर्शन गर्न सहज हुनुका साथै थिचोमिचोमा परेमा सहज रूपमा त्यस विरुद्ध प्रमाणसहित भिडियो पोस्ट गर्न सकिने हुनाले भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न टिकटक लगायताका प्लेटफर्मको सकारात्मक भूमिका रहेको छ ।

टिकटक चलाएर आम्दानी गर्ने आशाले कृषकले खेतीपाती गर्न बिर्सिसकेको अवस्था छ भने भाइ बहिनीहरूले स्कुल-कलेजमा पढ्न पनि बिर्सिसकेका छन् । 

लाइक र कमेन्ट धेरै बटुलेर आम्दानी बढाउने चक्करमा अश्लीलता बढेको छ । राति ढिलासम्म सामाजिक सञ्जालमा लाइभ बस्ने, बिहान आँखा मिच्दै मेकअप गरी पुनः लाइभमै देखिने वा भिडियो बनाई अपलोड गर्ने, कलिला बालबालिकादेखि बुढापाकासम्मको यस्तो बढ्दो हर्कतले समाजमा सद्‌भाव कायम राख्न चुनौती थपिंदै गइरहेको अवस्था छ ।

विद्यालय शिक्षादेखि विश्वविद्यालयको शिक्षाको गुणस्तर खस्केको छ, अर्थात् विद्यार्थी उत्तीर्ण सङ्ख्या घटिरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा कक्षा कोठामा हुने शिक्षकका कुराभन्दा सामाजिक सञ्जालमा विद्यार्थीहरूको ध्यान मोडिएको छ । शैक्षिक गुणस्तर खस्किनुमा थुप्रै कारणहरू होलान, तर घरमा पनि बालबालिकाहरूमा टिकटक जस्ता सञ्जालको लत लागेकाले समयमै गृहकार्य पनि गर्न नसकेको, पढाइ बिग्रिंदै गएकाले उपाय खोज्न अनुरोध गर्दै अभिभावकहरूका थुप्रै गुनासोले नकारात्मक सङ्केत गरिरहेको देखिन्छ ।

सामाजिक सञ्जालमा व्यस्त हुने युवा र बालबालिकाको दिमागमा जुन तहको असर परिसकेको छ, त्यसको समाधान त्यति सहज देखिंदैन । किनभने प्रविधि भनेको अहिलेको युगमा मूलको पानी फुटे जस्तै हो, जुन थुन्न सक्ने अवस्था हुँदैन ।

हाम्रा आमाबुबाहरूले छोरा-छोरीको पढाई र अन्य गतिविधिमा निरन्तर निगरानी राख्नु पर्नेमा आफैं सामाजिक सञ्जालमा व्यस्त हुँदा भान्छामा धेरै पटक दुध उम्लेर पोखिएको छ, तरकारी डढेको छ, पानी तान्ने मसिनले इनार खालि गरेर मेसिन नै बिग्रेको छ, नदीमा डुबेका छन्, भिरबाट लडेका छन् आदि इत्यादि ।

विकसित देशहरूमा कार्यालय समयमा जरुरी फोन कल समेत उठाउन पाइँदैन । सामाजिक सञ्जाल त झन् कर्मचारीहरूका लागि कार्यालय समयमा खुल्ने कुरै भएन । 

हाम्रो जस्तो अविकसित देशमा भने कर्मचारीहरू कार्यालय समयमै सेवाग्राहीलाई लाइनमा राखेर फोन तथा सामाजिक सञ्जालमा व्यस्त हुने भएकाले सेवा प्रवाहमा पक्कै पनि असर परेको छ ।

विश्व राजनीतिक पक्ष

सामाजिक सञ्जालको प्रयोगले विभिन्न देशका चुनावमा नयाँ अनुहारहरूलाई निर्वाचित भएका थुप्रै उदाहरणहरू छन् । सामाजिक सञ्जालकै प्रयोग र साइबर सुरक्षाको अवस्थाले राज्यसत्ता नै परिवर्तन भइरहेका छन् । टिकटकको ग्लोबल हेडक्वार्टर अमेरिकाको लस-एन्जलसमा छ, मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) र लिङ्क्डइनको क्यालिफोर्नियामा ।

अमेरिका लगायत संसारका अति विकसित देशहरू पक्कै पनि प्रविधि विकासको केन्द्र विन्दु हुन् । प्रविधिको विकाससँगै उचित नियमन, नियन्त्रण र व्यवस्थापनले विकसित देशका नागरिकहरूमा सामाजिक सञ्जाल प्रयोगको असर जति छ, त्यो भन्दा कयौं गुणा बढी हाम्रो जस्तो अविकसित देशमा छ । जहाँ प्रविधिको प्रयोगलाई नियमन, नियन्त्रण र व्यवस्थापन गर्न कानून र प्रणाली बनिसकेको अवस्था छैन ।

विकसित देशहरूले पहिले लडाइँमा जित हासिल गरी संसारलाई आफ्नो मुठीमा लिएर नियन्त्रणमा राख्न खोज्थे । अहिले भने प्रविधि र सामाजिक सञ्जालको प्रयोग मार्फत संसार नियन्त्रण गरेको महसुस हुन्छ । 

प्रत्येक नागरिकका सुक्ष्म तहसम्मका व्यक्तिगत विवरण सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले प्राप्त गर्न सक्छन् । पछिल्ला दिनहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै सामाजिक सञ्जालको प्रयोगले गर्दा हाम्रो जस्तो अविकसित देशका नागरिकहरू यस्ता आयातित प्रविधि र सामाजिक सञ्जालमा आसक्त हुने, प्रविधि प्रयोग गरी काम चोर (कपी-पेस्ट) गर्ने प्रचलनले युवा पुस्ताको शैक्षिक धरातल र प्राज्ञ तथा विज्ञको क्षमता थप कमजोर बन्दै गएको अवस्था छ ।

व्यापार प्रवर्द्धनमा र इन्टरनेट ब्याण्डविथ खरिदमा अर्वौं रुपैंया विदेशिएको छ भने उच्च आकाङ्क्षा पूरा गर्ने आशामा विदेशिने युवाहरूको दर बढिरहेको छ । बुद्धिमान् युवायुवतीहरू विकसित देशतिर पलायन हुने, कम सीप भएका बेरोजगार युवायुवतीहरू टिकटक लगायतका सामाजिक सञ्जालमा व्यस्त हुने र रोजगारको खोजीमा विदेशिने अवस्थाले हाम्रो जस्तो अविकसित देशको सामाजिक, आर्थिक धरातल थप कमजोर हुँदै जाने आँकलन गर्न सकिन्छ ।

कतिपय विकसित देशले आफ्नोमा सामाजिक सञ्जाल प्रयोगलाई उचित नियमन र नियन्त्रण गर्ने, तर अविकसित देशहरूमा भने इन्टरनेट स्वतन्त्रतालाई प्रोत्साहन गर्दै प्रयोगशाला बनाउँदै गरेको अवस्थाले सामाजिक सञ्जालको उचित नियमन भएन भने हाम्रो जस्तो मुलुकका नागरिक क्षमता विहीन हुने र थन्किएर विकसित मुलुकका गुलाम बन्दै जाने पक्का छ ।

सामाजिक सञ्जाल नियमनको प्राविधिक पक्ष

देशको आर्थिक, सामाजिक र शैक्षिक विकासमा टिकटक जस्ता सञ्जालले सकारात्मकभन्दा बढी नकारात्मक असर पारेको निश्कर्षसहित राज्यले बन्द गरिदिंदा “प्रेस स्वतन्त्रता, वाक सोतन्त्रता र संविधानले दिएको अधिकार हनन् भयो” भन्दै टिकटक बन्द गर्न नहुने मागसहित अदालतमा कयौं रिट निवेदन परेका छन् ।

अक्षर र तस्विर सामग्रीलाई फिल्टर गर्न जति सहज हुन्छ, भिडियो सामग्री फिल्टर गर्न भने प्राविधिक रूपमा त्यति नै असहज र चुनौतीपूर्ण हुन्छ । पहिले त एकद्वार प्रणाली मार्फत् इन्टरनेट ब्याण्डविथ भित्र्याउने व्यवस्था गरी मुख्य द्वारमै लफुल इन्टरसेप्सनको कानून बनाई कन्टेन्ट फिल्टर गर्ने प्रणाली लागु गर्न सक्नु पर्छ । तर अडियोसहितको भिडिओ सामग्री फिल्टरका लागि नेचुरल ल्याङ्गवेज बुझ्ने र डिप प्याकेट एनालाइसिस गर्न सक्ने थप प्रभावकारी इन्टेलिजेन्ट इन्जिनको आवश्यकता पर्छ ।

नेपाल लगायत कतिपय विकसित मुलुकहरूसँग हाल सो इन्टेलिजेन्ट इन्जिन प्रयोग गरी भिडियो कन्टेन्ट फिल्टर गर्न सक्ने क्षमता नपुग्ने हुँदा टिकटकलाई बन्द नै गर्नु पर्ने बाध्यात्मक अवस्था आएको देखिन्छ । नागरिकले भीपीएन मार्फत सुरक्षित च्यानल र प्रोक्सी साइटमार्फत बन्द साइटहरू चलाउन सक्छन्, जुन कानूनको हिसाबले आंफैमा अवैध हुन्छ । पूर्ण रूपमा बन्द गर्नुभन्दा पनि समयमा आधारित एक्सेस कन्ट्रोल लिस्ट प्रयोग गरी स्कुल र कार्यालय समयलाई ध्यानमा राख्दै बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सामाजिक सञ्जाल प्रयोगलाई निरुत्साहित गर्नु पर्छ ।

सामाजिक सञ्जाल प्लेटफर्म उपलब्ध गराउने संस्थाहरूले आफैं उचित सामग्री प्रवाह गर्ने व्यवस्था मिलाउने सवालमा अझ बढी संवेदनशील हुनु पर्छ । आफ्ना प्रोक्सी-सीडीएन सर्भर उपलब्ध गराई स्रोतमै कन्टेन्ट फिल्टर गर्नु नै बढी उपयुक्त हुने भएकाले नियमानुसार कम्पनीमा दर्ता भई सामाजिक सञ्जाल प्रयोगको सेवा उपलब्ध गराउने कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । त्यस्तै प्रयोगकर्ता र अभिभावकहरूमा सचेतना जगाउन पनि उत्तिकै आवश्यक देखिन्छ ।

लेखक डा बाबुराम दवाडी   ([email protected]) इन्जिनिरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका उप-प्राध्यापकसँगै नेटवर्क, साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिक युनिटका निर्देशक समेत हुन् । प्रस्तुत लेखमा समावेश सामग्री लेखकका निजी विचार हुन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १६:१५