काठमाडौं । मेटाले इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा हालै नोट्स फिचर उपलब्ध गराएको छ । नोट्स यस्तो फिचर हो, जसको सहायताले प्रयोगकर्ताले २४ घण्टाका लागि आफूलाई लागेका कुरा ६० क्यारेक्टरमा लेख्न सक्छन् ।
मेसेन्जरमा एड भएका व्यक्तिको कन्ट्याक्ट देखिने ठाउँमा उक्त सेक्सनमा नोट्स आइसकेपछि प्रयोगकर्ताले लेखेको कुरा देखिन्छ । स्टोरी जस्तै नोट्स पनि प्रयोगकर्ताको फिडमा २४ घण्टासम्म देखिन्छ । त्यसपछि भने आर्काइभमा बस्छ ।
कतिपय प्रयोगकर्तालाई मेसेन्जरमा त्यस्तो नोट्स देखिएको मन नपर्न सक्छ । यस्तोमा नोट्सको सेक्सन हटाउन सकिन्छ त ? वास्तवमा मेसेन्जरमा रहेको नोट्सको सेक्सन नै हटाउन भने सकिंदैन । यो फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा भएको स्टोरी जस्तै फिचर हो ।
तर, तपाईंले केही तरिका अपनाउनु भयो भने नोट्सको सेक्सन हटाउन सक्नुहुन्छ । त्यो भनेको ‘कन्ट्याक्ट हाइड’ । यसको अर्थ तपाईंले जो व्यक्तिको कन्ट्याक्ट हाइड गर्नुहुन्छ, उसले लेखेको नोट्स तपाईंको मेसेन्जरमा देखिंदैन ।
तपाईंले एक-एक गरी नोट्स राख्ने व्यक्तिको कन्ट्याक्ट हाइड गर्नुभयो भने अर्कोपटक उनीहरूले राखेको नोट्स तपाईंको मेसेन्जरमा देखिंदैन ।
कन्ट्याक्ट कसरी हाइड गर्ने ?
सबैभन्दा पहिले मेसेन्जर खोल्नुहोस् ।
त्यसपछि नोट्स राखेको व्यक्तिको प्रोफाइलमा केही बेर ट्याप (लङ प्रेस) गर्नुहोस् ।
अनि ‘हाइड कन्ट्याक्ट’ अप्सनमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि ‘हाइड’ लेखिएको बटनमा थिच्नुहोस् ।
यो प्रक्रिया अपनाउनु भयो भने मेसेन्जरले सो अकाउन्ट र त्यसबाट राखिने ‘नोट्स’ कहिल्यै सुझाव दिंदैन । र, अर्को व्यक्तिलाई पनि तपाईंले कन्ट्याक्ट हाइड गरेको थाहा हुँदैन ।
त्यस्तै तपाईंले मेसेन्जरको प्राइभेसी सेटिङमा गएर सो अकाउन्टलाई आफूले चाहेको बेला हिडन लिस्टबाट हटाउन सक्नुहुन्छ ।