काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीतको म्युजिक ट्र्याक अनधिकृत रूपमा व्यावसायिक प्रयोग नगर्न/नगराउन अनुरोध गरेको छ ।
सरोकारवाला तथा जनस्तरबाट गुनासो आएपछि एक विज्ञप्ति निकाल्दै प्रतिष्ठानले स्वदेश तथा विदेशमा आयोजना गरिने साङ्गीतिक कार्यक्रमहरूमा विभिन्न स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरूको स्वामित्वमा रहेको बौद्धिक सम्पत्ति बिना अनुमति प्रयोग नगर्न अनुरोध गरेको हो ।
"व्यावसायिक प्रयोग गर्नुपर्ने हकका सम्बन्धमा सम्बन्धित अधिकार धनी स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरूले समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको अवस्थामा मात्र प्रयोग गर्न तथा गराउन सम्बन्धित सबैमा सूचित गरिन्छ," विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै अनधिकृत रूपमा प्रयोग गरे/गराइएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्था अनुरूप सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिबाना, दण्डसजाय हुनसक्ने प्रतिष्ठानले चेतावनी दिएकाे छ ।