close

अनलाइन कारोबार गर्दा सकेसम्म फ्री वाई-फाई प्रयोग नगर्नुहोस्: प्रहरी

टेकपाना टेकपाना

पुस १३, २०८० १३:२७

अनलाइन कारोबार गर्दा सकेसम्म फ्री वाई-फाई प्रयोग नगर्नुहोस्: प्रहरी

काठमाडौं । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ ।

बिहीवार सामाजिक सञ्जालमा एक सामग्री राख्दै प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्न सुझाव दिएको हो । 

"कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्नुहोस्," प्रहरीले भनेकाे छ । 

अनलाइन भुक्तानीमा किन फ्री वाई-फाई प्रयोग नगर्ने ? 

यदि तपाईंले कुनै प्रडक्ट वा सेवा निःशुल्क पाउनु भएको छ भने त्यसको प्रडक्ट वा सेवा तपाईँ आफैं हो भन्ने बुझ्नुपर्ने हुन्छ । कतिपय इन्टरनेट सेवाप्रदायक कम्पनी, व्यवसायी वा अन्य व्यक्तिले पनि सर्वसाधारणको सुविधाका लागि वाई-फाई निःशुल्क उपलब्ध गराएका हुन्छन् । त्यस्तोमा जोखिम नै हुन्छ भन्ने हुँदैन । तर, ह्याकरले उक्त स्थानको फाइदा उठाएर आफ्नो स्वार्थका लागि निःशुल्क वाई-फाई उपलब्ध गराएका हुनसक्छन् । 

सार्वजनिक रूपमा उपलब्ध वाई-फाईमा पनि थुप्रै जोखिम हुन्छन् । निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा 'म्यान इन द मिडल अट्याक' काे जाेखिम हुन्छ । यसको अर्थ तपाईंले कारोबार गरिरहँदा त्यसबीचमा साइबर अपराधीले तपाईंको डिभाइस र तपाईंले ब्राउज गरेको वेबसाइटबीच के-कस्ता डेटा आदानप्रदान भएका हुन्छन् भन्ने सबै थाहा पाएको हुन्छ । जसले गर्दा तपाईंको लगइन विवरण, क्रेडिट कार्ड नम्बर वा व्यक्तिगत जानकारी चोरी हुने सम्भावना उच्च हुन्छ ।

असुरक्षित नेटवर्क पनि निःशुल्क उपलब्ध हुने वाई-फाईको अर्को जोखिम हो । सार्वजनिक वाई-फाईमा इन्क्रिप्सनको अभाव वा कमजोर सुरक्षा प्रणाली हुने भएकाले साइबर अपराधीले सहजै तपाईंका डेटा चोरी गर्न सक्छन् । त्यस्तै कतिपयले नक्कली हट्सपट तयार पारेर पनि तपाईंलाई आफ्नो जालोमा पार्न खोजिरहेका हुन्छन् । एक पटक तपाईंको डिभाइस उनीहरूले सञ्चालन गरेको हट्सपटमा जोडियो भने उनीहरूले तपाईंको डेटामाथि नियमन गरिरहेका हुन्छन् ।

त्यति मात्र नभइ निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा मालवेयर सङ्क्रमणको जोखिम पनि उत्तिकै हुन्छ । मालवेयर फैलाउन ह्याकरले फ्री वाई-फाईको सहायता लिएका हुन्छन् । त्यसैले निःशुल्क वाई-फाई प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यस्ता जोखिमबाट बच्न सार्वजनिक वा निःशुल्क वाई-फाई प्रयोग गर्दा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नु उत्तम हुन्छ । भीपीएनले इन्टरनेट कनेक्सन इन्क्रिप्सन गरिदिने भएकाले अरूले तपाईंको डेटा पाउन सक्दैनन् । यस्तो अवस्थामा तपाईंको डेटा सुरक्षित हुन सक्छ ।

त्यस्तै तपाईंले भिजिट गरेको वेबसाइटले 'HTTPS' (हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल सेक्युअर' प्रयोग गरेको छ भन्ने सुनिश्चित गर्नुहोस् । एड्रेसबारमा हेरेर पनि तपाईंले साइट सुरक्षित वा असुरक्षित भए/नभएको निर्धारण गर्न सक्नुहुन्छ ।

भरसक सार्वजनिक वा निःशुल्क उपलब्ध हुने वाई-फाईमा संवेदनशील जानकारी दिने, कारोबार गर्ने काम नगर्नुहोस् । त्यस्तै सफ्टवेयर अपडेटेड राखेर र मल्टिफ्याक्टर अथेन्टिकेसन अन गरेर पनि तपाईं आफ्नो अकाउन्ट सुरक्षित राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० १३:४६