close

सुरेश शाक्यको ईभी अनुभवः ‘सहरमा यात्रा गर्न सानो आकारको गाडी उत्तम’

सुरेश शाक्य

पुस २२, २०८० १५:२

सुरेश शाक्यको ईभी अनुभवः ‘सहरमा यात्रा गर्न सानो आकारको गाडी उत्तम’

प्रायः मलाई सानो आकारको गाडी मन पर्छ । यस्तो गाडी सहर सुहाउँदो हुन्छ । काठमाडौंको जाम छल्न होस् वा सहर सयर गर्न, मलाई सानो गाडी उपयुक्त लाग्छ । मैले त्यस्तै प्रकारको सस्तो गाडी खोजिरहेको थिएँ । केही समयको अध्ययनपछि एमजी मोटर्सको बिजुली गाडी एमजी कमेट किनेँ ।

दुई महिनाअघि मात्रै २१ लाख रुपैयाँमा केही छुट पाएपछि मैले यो गाडी लिएको थिएँ । त्यसबेला कम्पनीले पम्प, चार्जरजस्ता एक्सेसरिज गाडीसँगै दिएको थियो ।

अहिलेसम्म गाडी १५ सय किलोमिटरसम्म गुडाइसकेको छु । सानो आकारको गाडी कुदाउन मलाई सजिलो लाग्छ । परिवारका अन्य सदस्यले पनि सानो गाडी कुदाउन नै रुचि देखाउँछन् । तर घरमा यो बाहेक पनि नेक्सन र बीवाईडीका गाडी छन् । म चैं यो गाडी खरिद गर्नुअघि रेभाको सानो गाडी नै चढ्थेँ । केही समयअघि मात्रै त्यो गाडीलाई सेकेन्ड ह्यान्डमा बेचेको थिएँ ।

सानो गाडी राम्रो भए पनि कुदाउँदा सुरक्षाको विषयमा अलि बढी सचेत हुनुपर्छ । सडकमा उच्च गतिमा कुदाउँदा सानो गाडी दुर्घटना हुने सम्भावना बढी हुन्छ । त्यसो भन्दै गर्दा सानो गाडीलाई उच्च गतिमा नै कुदाउन नमिल्ने भन्ने होइन । गाडी कुदाउँदा म पनि ४०-५० किलोमिटर प्रतिघण्टासम्म पुग्छु ।

एमजी कमेटलाई एक पटकको फुल चार्जमा २०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । जुन मेरो हकमा पनि मिलिरहेको छ । सानो भएकाले गाडीमा चार जनासम्म बस्न सकिन्छ । गाडीभित्र बढी तौल राख्दा रेञ्ज भने घट्दो रहेछ । मैले यो कुराको अनुभव गरेको छु ।

गाडीको ग्राउन्ड क्लियरेन्स पनि निकै कम छ । त्यस्तै सामान राख्नलाई यसमा बुट स्पेस दिइएको छैन । सामान राख्न परे पछाडिको सिट फुकाल्नुपर्ने बाध्यता छ । सामान राख्नै पर्ने भए ड्राइभर र प्यासेन्जर सिटको बीचमा भएको थोरै खाली ठाउँमा राख्न सकिन्छ ।

यसबाहेक सामान झुन्ड्याउने ठाउँहरू दिइएको छ । कम्पनीले गाडीमा ग्लोभ/स्टोरेज कम्पार्टमेन्ट नदिँदा अप्ठ्यारो भने मैले महुसुस गरेँ । अनि ब्लु बुक लगायतका आवश्यक कागजपत्र राख्न मैले आफैं व्यवस्था गर्नुपर्‍यो । अहिले मैले ड्राइभर सिटमा खोल हालेको छु । त्यसैमा सानो गोजी छ, जसमा मैले आवश्यक कागजपत्र राख्ने गरेको छु ।

गाडीमा दुई ‌ओटा मात्र ढोका दिइएको छ । पछाडिको सिटमा बस्न अगाडिको सिट फोल्ड गर्नुपर्ने हुन्छ । जुन सबै अवस्थामा उपयुक्त नहुन सक्छ । त्यस्तै गाडीभित्र बसेका सबैले अनिवार्य सिट बेल्ट लगाउनु पर्छ । यदि त्यसो नगरे अलर्टको आवाज आइरहन्छ । त्यस्तै पछाडिको सिटका लागि झ्याल पनि छैन । कतिपयले गर्मी भयो भनेर गुनासो गर्छन् ।

गाडी कुदाउँदा रेडियो सुन्न मन पराउने परेँ । तर गाडीमा रेडियो अन गर्ने वा च्यानल परिवर्तन गर्ने काम एकै पटकमा हुन्न । पटक-पटक बटन थिचिरहनु पर्छ । गाडीको इन्फोटेनमेन्ट स्क्रिनमा यस्तै समस्या छ । खैर, गाडीको अडियो भने राम्रो छ । गाडीमा फुल भोल्युम बनाएर गीत/रेडियो सुन्नु हुँदैन । मिठास सुनिनेसम्म मात्र भोल्युम बढाउनु पर्छ ।

कम्पनीले भोइस एसिस्टेन्टको फिचर समेत गाडीमा दिएको छ । तर मलाई त्यस्तो प्रभावकारी लागेन । केही पटक प्रयास गरेपछि मात्रै त्यसले काम गर्छ । यी समस्या सफ्टवेयरका कारण भएका हुन सक्छन् । कम्पनीले चाँडै सफ्टवेयर अपडेट गरेर यिनको समाधान गर्न आवश्यक छ ।

गाडीको बोनट सानो भएकाले बाटो हेर्न सजिलो हुन्छ । अहिले मलाई यो गाडी कुदाइरहँदा खर्च भएको जस्तै लाग्दैन । किनकी पेट्रोल राख्नु पर्दैन । सर्भिसिङ गराउनु पर्दैन । आवश्यक परेको खण्डमा चार्ज मात्र गर्ने हो । चार्ज पनि हामी घरमा नै गर्ने गर्छौं ।

कम्पनीले गाडीमा एसी चार्जिङ मात्र दिएको छ । गाडीलाई चार्ज गर्न कम्तीमा पनि ७-८ घण्टा लाग्छ । म भने रातको समयमा गाडीलाई चार्जमा राखिदिन्छु, बिहान उठ्दा फुल चार्ज भइरहेको हुन्छ ।

चार्ज गर्ने क्रममा एकपटक हामी ठूलो दुर्घटनाबाट बचेका छौं । त्यसबेला यो गाडी खरिद गरिसकेको थिइनँ । घरमा एट्टो र नेक्सन दुवै थियो । दुवैमा चार्ज सकिनै लागेको थियो । मैले दुवैलाई एकै पटक चार्जमा राखेको थिएँ । घरमा अचानक बत्ति निभ्यो । मैले दुई ओटा गाडीलाई सँगै चार्जमा राखेको झट्ट सम्झेँ । लगत्तै गाडीहरू चार्ज गरेको ठाउँमा पुगेँ । त्यहाँ आगो बलिरहेको थियो । त्यसबेला मैले केही सोचिनँ, आगो निभाउन पानी खन्याइदिएँ । त्यस्तोमा पानी पनि हाल्नु नहुने रहेछ , धन्न ! केही भएन । हाम्रो घरमा वान फेज मात्र बिजुली थियो । क्षमताभन्दा बढी भएर सर्ट सर्किट भएको रहेछ । अहिले थ्री फेजको बत्ति लिएको छु । त्यसपछि पुन: त्यस्तो समस्या आएको छैन ।

अहिले यही गाडीबाट म दैनिक ३०-४० किलोमिटर यात्रा गरिरहेको हुन्छु । चार्ज भने चार-चार दिनको फरकमा गर्ने बानी छ ।

सिटी कारबाट त्यति टाढा जाने कुरा हुँदैन । यसबाट सबैभन्दा टाढा गोदावरीसम्म गएको छु । लामो दूरीको यात्रा गर्न यस्तो गाडी बनाइएको हुँदैन । घरमा भने म बाहेक बुहारीहरूले यो गाडी कुदाउँछन् । उनीहरूका लागि पनि यो गाडी उपयुक्त छ ।

खासमा पारिवारिक सल्लाहपछि नै हामीले यो गाडी खरिद गरेका थियौं । तर गाडीमा ग्राउन्ड क्लियरेन्स अलि बढी भएको भए राम्रो हुने थियो । पछाडिको सिटका लागि पनि झ्याल भएको सजिलो हुने थियो । यस्तै सानातिना कुरा सुधार गरे यो राम्रो सिटी कार भने बन्न सक्छ ।​

(शाक्य आईएसएस साउन्डका प्रबन्ध निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १५:५५