close

५ मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार पारिदिने नेपाली प्लेटफर्म ‘कता हो’, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

माघ २०, २०८० १३:४५

५ मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार पारिदिने नेपाली प्लेटफर्म ‘कता हो’, यस्ता छन् विशेषता

 

काठमाडौं । नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्न 'कता हो' नामक डिजिटल ठेगाना प्लेट प्रणाली सञ्चालनमा आउने भएको छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुपले यो प्रणाली सञ्चालन गर्न लागेको हो । उक्त ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यस प्लेटफर्मको औपचारिक सुरुवात क्यान इन्फोटेक २०२४ को पहिलो दिन २५ माघमा गर्नेछ । 

के हो ‘कता हो?’

कम्पनीका अनुसार यस प्लेटफर्मबाट केही समयभित्रै नेपालका हरेक घरले घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । यसका लागि देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा)मा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ । त्यसरी तयार हुने नामहरू नदोहोरिने, बरु सम्झिन र अरुलाई भन्न सजिलो हुने कम्पनीले जनाएको छ ।

 

‘कता हो’बाट तयार हुने ठेगाना प्लेटको नमूना

यस प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर त्यहाँसम्म पुग्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले यस प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको बताएको छ ।

“देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो,” कम्पनीले भनेको छ, “यो प्रणाली पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन हो ।”

केके छन् विशेषता ?

आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्नेछ । प्लेटफर्मबाट जोसुकैले आफ्नो घरको ठेगाना प्लेट बनाउन तथा बनाएर आफैं टाँस्न पनि सक्नेछन् ।

यस प्रणालीमा ‘कता हो’ कोड, गुगलको प्लस कोड, डोर बेल बजाउने क्यूआर, आफ्नो निवासको नाम आफैं राख्न सकिने जस्ता विशेषता भएको कम्पनीले जनाएको छ ।  

यसबाट घर नम्बर प्लेटमा एकरुपता दिन सकिने साथै प्लेटको स्वामित्व प्रयोगकर्तालाई नै दिइने भएकाले जहिल्यै पनि आफ्नो प्लेट अध्यावधिक राख्न सकिने कम्पनीको भनाइ छ । 

त्यस्तै नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिने कम्पनीले जनाएको छ । चार वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ मोबाइल एप तथा वेबबाट चलाउन सकिने छ ।

केके छन् फाइदा ?

कम्पनीका अनुसार यो प्रणाली व्यक्ति, उद्यमी, डेलिभर कम्पनी, राइड शेयरिङ कम्पनी, आतपकालिन सेवा, सरकारी निकाय लगायत धेरैलाई उपयोगी हुन्छ । यो प्रणाली प्रयोग गर्दा निम्न फाइदा हुने कम्पनीले बताएको छ:

– ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत हुने

– बोलेर अरुसँग स्थान शेयर गर्न सकिने

– आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने

– घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने 

– ठेगाना पाटी (एड्रेस प्लेट)मा रहेको क्युआर कोडमार्फत घन्टी (door bell) बजाउन सकिने

– ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने

– स्थानीय तहले सजिलो र छिटोछरितो रूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने

– सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने

– जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने

– सरकारी तथा सबै प्रकारका ‘केवाईसी’ फारममा उल्लेख गर्न सकिने ठेगाना कोड तयार हुने

कम्पनीले ‘कता हो’ को एन्ड्रोइड तथा आईओएस एप सार्वजनिक गरिसकेको छ । एपबाहेक तपाईंले वेबमा समेत याे प्लेटफर्म चलाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८० १३:५१