close

अब त्रिविमा बीसीए पढेका विद्यार्थीले समेत सरकारी सेवामा विज्ञान-प्रविधि सरहको मान्यता पाउने

टेकपाना टेकपाना

माघ २२, २०८० ९:५६

अब त्रिविमा बीसीए पढेका विद्यार्थीले समेत सरकारी सेवामा विज्ञान-प्रविधि सरहको मान्यता पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) विद्यार्थीहरूले सरकारी सेवाको क्षेत्रमा विज्ञान तथा प्रविधि सरहको मान्यता नपाउने समस्या समाधान भएको छ । त्रिविको शिक्षाध्यक्ष कार्यालयले सम्बन्धित सम्पूर्ण सरकारी निकायलाई बीसीए उत्तीर्ण विद्यार्थीलाई समेट्ने गरी विज्ञापन गर्न परिपत्र गरेसँगै उक्त समस्या समाधान भएको हो ।

यसअघि त्रिविबाट २०७९ मा बीसीए उत्तीर्ण विद्यार्थीले गत पुसमा राष्ट्र बैंकले खुलाएको सहायक निर्देशक (सूचना प्रविधि) मा सङ्कायकै कारण आवेदन दिनबाट वञ्चित भएका थिए । यसका साथै कृषि विकास बैंक, नेपाल प्रहरी, नेपाली सेना, नेपाल टेलिकम लगायत निकायले निकालेका सूचना प्रविधि अधिकृतमा आवेदन दिन समेत उनीहरूले पाएनन् । 

अब भने बीसीए उत्तीर्ण विद्यार्थीहरू समेत ती सरकारी निकायले निकाल्ने विज्ञापनमा समेटिने भएका हुन् । त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका एक अधिकारीले पनि यो कुरा पुष्टि गरे । 

उनका अनुसार आगामी दिनमा विज्ञापन खुल्दा सूचना प्रविधि पदमा बीसीए विद्यार्थीलाई आवेदन दिन समस्या हुने छैन । यद्यपि आवेदन बन्द भइसकेको विज्ञापनहरूबारे भने आफूले केही भन्न नसक्ने उनले सुनाए । 

गत विज्ञापनमा आवेदन दिन इच्छुक तर सङ्कायका कारण प्रभावित भएका विद्यार्थीको हकमा सम्बन्धित निकायले मात्र निर्णय गर्न सक्ने उनको भनाइ छ ।

त्यस्तै बीसीए बाहेक त्रिविले ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बीएड आईसीटी), ब्याचलर अफ इन्फर्मेसन, कम्युनिकेसन, टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्सलाई समेत विज्ञापन गर्दा समेट्न त्रिविले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यससँगै यी कोर्स अध्ययन गरेका विद्यार्थीलाई कम्प्युटर अधिकृत, सूचना प्रविधि अधिकृत, सूचना व्यवस्थापन प्रणाली अधिकृत लगायतका कम्प्युटरसँग सम्बन्धित अधिकृत स्तरका विज्ञापनमा आवेदन दिँदा कुनै समस्या नहुने बताइएको छ । 

यता मर्कामा परेका विद्यार्थीहरूले भने सूचना प्रविधिको विज्ञापन केही वर्ष नखुल्ने भएकाले वञ्चित गरिएका विज्ञापनको हकमा बीसीए विद्यार्थीलाई मात्र भए पनि मौका दिनु पर्ने बताएका छन् । यो समस्याबाट पीडित भएका नेपालगन्जका सुजन काफ्लेले आवेदन दिँदा पैसा काटिएकाले पनि बीसीए विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागिताको पुन: अवसर दिनु पर्ने माग गरे । “हामीले आवेदन दिँदा पैसा पनि काटिएको छ । तर अन्तिममा आवेदन दिनै पाएनौं,” टेकपानासँगको कुराकानीमा उनले भने, “ती पदमा फेरि विज्ञापन खुल्न केही वर्ष लाग्न सक्छ । त्यस्तै प्रतिस्पर्धा गर्न इच्छुक विद्यार्थी पनि धेरै छन् । त्यसो हुँदा एक पटक पीडित विद्यार्थीलाई मौका दिनु न्यायोचित पनि हुन्छ ।”


 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १०:०