close

विद्यार्थी पढाउने आधुनिक शैली सिकाउन शिक्षकलाई डिजिटल शिक्षा तालिम हुँदै, कसरी हुने सहभागी ?

टेकपाना टेकपाना

माघ २२, २०८० १८:१३

विद्यार्थी पढाउने आधुनिक शैली सिकाउन शिक्षकलाई डिजिटल शिक्षा तालिम हुँदै, कसरी हुने सहभागी ?

काठमाडौं । ई-लर्निङ प्लेटफर्म निमाले शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिलाई लक्षित गर्दै जेन कन्फ्रेन्स १.० नामक तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल शिक्षामा काम गरिरहेका निमा, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालले आउँदो ३ र ४ फागुनमा संयुक्त रूपमा तालिम कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

‘२१ औं शताब्दीको प्रगतिशील शिक्षाको लागि डिजिटल शिक्षा’ नामक मुख्य विषयमा केन्द्रित भएर कार्यक्रम हुने आयोजकले बताएको छ । त्यस क्रममा एक्साइसौं शताब्दीका लागि चाहिने सीपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनुपर्छ भन्ने कुरा सिकाइने जनाइएको छ ।


यसका लागि चार ओटा विधामा विषय विज्ञबाट प्रस्तुति दिइने तथा १३ ओटा कार्यशालाका साथै ३६ ओटा ‘पेपर प्रिजेन्टेसन’ हुने बताइएको छ । नेतृत्व विकास, शिक्षकको पेसागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान कार्यक्रमको मुख्य आकर्षण हुनेछ ।  

कार्यशालामा मेडिटेसन पेडागोजी, गेमिफिकेसन, परियोजनामा आधारित सिकाइ र कक्षा कोठामा प्रयोग गर्न सकिने प्रयोगात्मक सीपहरू पनि सिकाइने छ । कार्यक्रममा प्रमुख वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका सहायक प्राध्यापक जीवन खड्का रहेका छन् ।

दुई दिने कार्यशाला विशेष गरी गणित, कम्प्युटर, विज्ञान लगायतका विषय शिक्षक प्रति लक्षित रहेको छ । यद्यपि शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि यसमा सहभागी हुन सक्ने आयोजकको भनाइ छ । कार्यक्रममा सहभागिता जनाउन तथा थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १८:१९