close

भारतमा आईटी पढ्ने विदेशी विद्यार्थीमा नेपाली सबैभन्दा धेरै

टेकपाना टेकपाना

चैत १६, २०८० १४:५०

भारतमा आईटी पढ्ने विदेशी विद्यार्थीमा नेपाली सबैभन्दा धेरै

काठमाडौं । भारतमा अध्ययन गर्ने विदेशी विद्यार्थीमा सबैभन्दा धेरै नेपाली रहेको पाइएको छ । जसमध्ये धेरैको रोजाइमा सूचना प्रविधि (आईटी) हुने गरेको छ । भारतीय उच्च शिक्षा विभागले जारी गरेको पछिल्लो प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो । 

भारतका एक हजार १६२ विश्वविद्यालय, ४२ हजार ८२५ कलेज र १० हजार ५७६ संस्थालाई समेटेर गरिएको ‘अल इन्डिया सर्भे अन हायर एजुकेसन’ (एआईएसएचई) अनुसार सन् २०२१/२२ मा भारतमा पढ्न कूल ४६ हजार ८७८ विदेशी आएका थिए । सोही सर्वेक्षण अनुसार सो वर्ष भारतमा १३ हजार १२६ नेपाली विद्यार्थी भर्ना भएका हुन्, जुन सबैभन्दा धेरै हो । 

नेपालपछि अफगानिस्तानका तीन हजार १५१, अमेरिकाबाट दुई हजार ८९३, बङ्गलादेशबाट दुई हजार ६०६ र यूएईबाट दुई हजार २८७ विद्यार्थी उक्त अवधिमा भर्ना भएका छन् । 

विदेशी विद्यार्थीमा ७४.८ प्रतिशत अन्डरग्र्याजुएट कोर्स र १५.८ प्रतिशत विद्यार्थी पोस्ट ग्र्याजुएट कोर्समा भर्ना हुने गरेका छन् ।

हजारभन्दा बढी विदेशी विद्यार्थी भर्ना हुने शैक्षिक कार्यक्रम १३ ओटा रहेका छन् । जसमा ११ हजार ४६१ विद्यार्थी ब्याचलर अफ टेक्नोलोजी, तीन हजार ३४६ विद्यार्थी ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन र तीन हजार २८९ विद्यार्थी ब्याचलर अफ साइन्समा भर्ना भएका थिए । 

त्यस्तै प्रतिवेदनले सबैभन्दा बढी विद्यार्थी कर्नाटकको राजधानी ब्याङ्गलोरमा पढिरहेको उल्लेख गरेकाे छ । भारतको आईटी राजधानी मानिने ब्याङ्गलोरमा ब्याचलर अफ टेक्नोलोजी र ब्याचलर अफ इन्जिनियरिङ पढ्ने नेपाली विद्यार्थी अधिक रहेका हुन् । 

वर्षेनी औसत छ हजार विदेशी विद्यार्थी ब्याङ्गलोरका आईटी कलेजमा भर्ना हुने गरेकोमा ९० प्रतिशत हिस्सा नेपालीको हुन्छ । त्यहाँ सरकारी र निजी गरी १० ओटा विश्वविद्यालय रहेका छन् । 

शैक्षिक संस्थाहरूले विदेशी विद्यार्थीका लागि निश्चित सिट छुट्याउनु पर्ने नियम छ । मेहनती र अनुशासित भएकाले नेपाली विद्यार्थी उनीहरूको रोजाइमा पर्ने गरेका छन् । 

जैन युनिभर्सिटी ब्याङ्गलोरको कम्प्युटर साइन्स इन्जिनियरिङ विभागकी निर्देशक डा. जी गिथाले कान्तिपुर टिभीसँग गरेको कुराकानीमा आफूकहाँ ५३ देशका विद्यार्थी अध्ययनरत रहेको बताएकी छिन् । “खासगरी नेपाली विद्यार्थी हामीलाई निकै मेधावी लाग्छन्,” उनी भन्छिन् । 

ब्याङ्गलोरमा आईटी पढ्ने विद्यार्थीले अध्ययन पूरा गर्दैगर्दा आफ्नो क्षमता अनुसारको रोजगारीको अवसर पनि पाउँछन् । त्यहीँ रहेका ठूला ठूला आईटी कम्पनीका कार्यालयदेखि विश्वभरका दिग्गज कम्पनी समेत आईटीका प्रतिभा खोज्दै त्यहाँका विश्वविद्यालयमै आइपुग्ने गर्छन् ।  

आईटी र इन्जिनियरिङ पढ्नका लागि नेपाली विद्यार्थीहरूको रोजाइ भारतको ब्याङ्गलोर बनिरहेको सन्दर्भमा ठूला ठूला विश्वविद्यालयले विभिन्न देशका विद्यार्थीलाई आकर्षित गरिरहेका समेत हुन्छन् । त्यसमा नेपाल, बङ्गलादेश, अफ्रिका, युरोपेली देश आदि पर्छन् । 

ब्याङ्गलोरमा आईटी अध्ययनरत विद्यार्थी प्रेम रौनियार कान्तिपुर टेलिभिजनलाई भन्छन्, “यहाँको पढाइ राम्रो हुन्छ । काम गर्ने अवसर पाइने भएकाले सीप सिक्न सकिन्छ । पहिलो दोस्रो वर्षदेखि सीप अनुसार इन्टर्नशिप पाइन्छ ।” 

नेपालभन्दा भारतमा आईटी पढ्न केही महँगो हुने भएता पनि धेरैजसो नेपाली छात्रवृत्तिमा अध्ययन गर्न जाने गरेका छन् । यसका लागि ११/१२ उत्तीर्ण विद्यार्थीले अनलाइनबाटै आवेदन दिएर प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । त्यसपछि भर्ना निश्चित गर्ने काम पनि नेपालबाटै गर्न सकिन्छ । 

आईटी हब मात्र नभएर ब्याङ्गलोर सुरक्षित सहरको रूपमा समेत चिनिने गरेको छ । वर्षभर न धेरै गर्मी न त धेरै चिसो हुने त्यहाँको मौसम र मिल्दोजुल्दो खानपानको संस्कृतिले ब्याङ्गलोर धेरै नेपालीको रोजाइमा पर्ने गरेको छ । 

नेपाली शैक्षिक परामर्शदाता शिवशंकर साह ब्याङ्गलोरमा नेपाली विद्यार्थीलाई प्लेसमेन्टको हिसाबले समेत सहज भएको बताउँछन् । “ब्याङ्गलोर ठुला ठुला आईटी कम्पनीको हब भएकाले पनि सबैको आकर्षणमा रहेको छ,” उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १५:१