close

बीटीएस टावर बिनै फोन कल तथा मेसेज सम्भव बनाउन चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता

टेकपाना टेकपाना

बैशाख २, २०८१ १३:८

बीटीएस टावर बिनै फोन कल तथा मेसेज सम्भव बनाउन चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता

काठमाडौं । सेल टावर आवश्यक नपर्ने गरी चिनियाँ वैज्ञानिकले स्याटलाइट कम्युनिकेसनमा ठूलो सफलता हात पारेका छन् । जमिनमा राख्नुपर्ने पूर्वाधारबिनै मोबाइल सञ्चार सम्भव बनाउन उनीहरूले विश्वकै पहिलो स्याटलाइट क्षमता विकास गरेका हुन् ।

याे परियाेजनाकाे सुरुवात १६ वर्षअघि भएको थियो । २००८ मा चीनको सिचुआनमा गएको ठूलो भूकम्पका कारण पर्याप्त सञ्चार हुन पाएन । यहीकारण समयमै उद्धार नहुँदा ८० हजार बढीको ज्यान गएको थियो । 

त्यसपछि चिनियाँ सरकारले ‘तियान्टोङ’ (Tiantong) नामक परियोजना सुरु गर्‍याे । यस परियोजनाको उद्देश्य विश्वव्यापी रूपमा पहुँचयोग्य स्याटलाइट कम्युनिकेसन सिस्टम विकास गर्नु थियो । ​१६ वर्षपछि चीनले परियोजनालाई लिएर महत्त्वपूर्ण प्रगति हासिल गरेको हो ।

‘तियान्टोङ’ को शाब्दिक अर्थ ‘स्वर्गसँगको सम्पर्क’ हुन्छ । यस अन्तर्गत चीनले पहिलो पटक ६ अगस्ट, २०१६ मा ‘तियान्टोङ - १’ नामक उपग्रह प्रक्षेपण गरेको थियो । त्यसयता २०२० र २०२१ मा गरेर थप दुई उपग्रहको सफल प्रक्षेपण भइसकेको छ । यसका साथै २०२४ मा अर्को स्याटलाइट सार्वजनिक गर्ने योजना छ ।

ती सबै उपग्रह समुद्री सतहबाट करिब ३६ हजार किलोमिटरको उचाइमा रहेको जियोसिन्क्रोनस कक्ष (जीईओ)मा अवस्थित छन् । र, एसिया तथा प्रशान्त महासागरमा फोन सिग्नल उपलब्ध गराउन लागिपरिरहेका छन् ।  

यही स्याटलाइट नेटवर्कमा आधारित भएर चिनियाँ स्मार्टफोन निर्माता ह्वावेले गत सेप्टेम्बरमा स्याटलाइट कल सुविधा भएको विश्वकै पहिलो फोन सार्वजनिक गरेको थियो । त्यसपछि अन्य चिनियाँ कम्पनी साओमी, अनर र ओप्पोले यही प्रविधिमा आधारित स्मार्टफोन ल्याए । 

यो नवीन प्रविधि भएकाले चिनियाँ उपभोक्ताहरूले तत्कालै प्रयोग गर्न थाले । अहिल यी प्रविधिमा आधारित स्मार्टफोन प्रयोग गर्नेको संख्या लाखौं भएको बताइन्छ ।

यससँगै चिनियाँ मोबाइल फोन प्रयोगकर्ताले सिङ्नल नटिप्ने ठाउँहरूमा समेत स्याटलाइट नेटवर्कको माध्यमबाट फोन गर्न तथा टेक्स्ट पठाउन सक्छन् । यसको शुल्क पनि निकै कम छ । अहिले यस प्रविधि चलाउने प्रयोगकर्ताले मासिक १.३८ डलर (करिब १८५ रुपैयाँ) मात्र तिरिरहेको बताइन्छ ।

यस परियोजनाले प्यासिभ इन्टरमोडुलेसन (पीआईएम) भनेर चिनिने स्याटलाइट कम्युनिकेसनमा ठूलो परिवर्तन ल्याएको हो । जब स्याटलाइट सिग्नलहरू एकअर्कामा ठोक्किन्छन्, तिनीहरूले अतिरिक्त सिङ्नल बनाउँछन्, जसले कल बिगार्ने गर्छ ।चिनियाँ सञ्चार विज्ञहरूले यही समस्या समाधान गरेका हुन् । यसको नतिजा स्वरूप अहिले स्याटलाइट नेटवर्कमा आधारित कलमा कुनै पनि समस्या छैन ।

यसको प्रभावकारिता गत १८ डिसेम्बरमा गान्सु प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका बेला देखिएको थियो । त्यससमय उपलब्ध स्याटलाइट नेटवर्कका कारण सञ्चारमा कुनै अवरोध भएको थिएन । विशेषतः त्यस्ता आपत्कालीन परिस्थितिहरूमा परम्परागत सञ्चार नेटवर्कले काम गर्दैन । यसकारण अहिले चीनको यस प्रविधिलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १३:२०