close

अनरको फोल्डेबल फोन म्याजिक भी टु नेपाल आउँदै, मूल्य २ लाख ४० हजार

टेकपाना टेकपाना

बैशाख ३, २०८१ १५:४६

अनरको फोल्डेबल फोन म्याजिक भी टु नेपाल आउँदै, मूल्य २ लाख ४० हजार

काठमाडौं । अनरको फोल्डेबल फोन नेपाली बजारमा आउने भएको छ । गत महिना विश्व बजारमा सार्वजनिक भएको अनर म्याजिक भी टु फोल्डेबल फोन यही साता नेपाल आउने निश्चित भएको हो । 

नेपालमा यो फोन अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले भित्र्याउने छ । यसलाई कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड गर्न मिल्ने पुस्तक शैलीको स्मार्टफोन भएको दाबी गरेको छ । यसको तौल २३१ ग्राम छ भने फोल्ड गर्दा यसको मोटाइ ९.९ एमएम हुन्छ । 

१२० हर्ज रिफ्रेश रेट भएको यो फोनमा कम्पनीले एलटीपीओ ओलेड डिस्प्ले समावेश गरेको छ । यसमा भएको सुपर लाइट हिन्ज फिचरले फोनको तौल र त्यसमा लाग्ने बलबिच सन्तुलन कायम राख्न मद्दत गर्छ । यसले चार लाख पटकभन्दा बढी फोल्ड सामना गर्न सक्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यसलाई दिनमा १०० पटक फोल्ड गर्दा पनि १० वर्षसम्म फोनमा केही समस्या हुँदैन ।

फोटो र भिडिओका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड र २० मेगापिक्सेलको टेलिफोटो क्यामेरा समावेश गरिएको छ । त्यस्तै भिडिओ कल तथा सेल्फीका लागि यसको अगाडि भागमा १६ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन चार्जका लागि ६६ वाटको अनर सुपर चार्जर उपलब्ध हुनेछ । ब्याट्री टिकाउ र गुणस्तरीय बनाउन कम्पनीले यस फोनमा सिलिकन कार्बन ब्याट्री प्रविधि प्रयोग गरेको छ ।

अनर म्याजिक भी टुममा क्वाल्कमको स्नापड्रागन ८ जेन टु चिपसेट प्रयोग गरिएको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा म्याजिक ओएस ७.२ बाट सञ्चालित छ । नेपाली बजारमा यो फोन १़६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । ग्राहकले यो फोन पर्पल र भेगन लेदर गरी दुई कलर भेरियन्टमा खरिद गर्न सक्नेछन् । नेपाली बजारमा यो फोनको अपेक्षित मूल्य दुई लाख ४० हजार रहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १३:३७