close

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ एपबाटै लिन सकिने

टेकपाना टेकपाना

बैशाख १०, २०८१ ११:४८

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ एपबाटै लिन सकिने

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको औपचारिक सुरुवात गरेको हो । 

यसका लागि कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग सहकार्य गरेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्किम (Fonepay Card Scheme) अन्तर्गत रहि पूर्ण रूपको ‘फोनपे भर्चुअल क्रेडिट कार्ड’ आफ्नो मोबाइल बैकिङ एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको फोनपेको दाबी छ । सिटिजन्स बैंकका ग्राहकले यो क्रेडिट कार्डको सुविधा बैकको मोबाइल बैकिङ एपमार्फत लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम (Domestic Card Scheme) परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट फोनपेलाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्किम सञ्चालनमा ल्याएको हो । फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुन परिभाषित गर्ने कम्पनीको विश्वास छ । उक्त क्रेडिट कार्ड पूर्ण रुपमा डिजिटल अनबोबोर्डिङ (Onboarding) र जारी (Issuance) हुनेछ । हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीको स्थानमा यो भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

“नेपालमा भुक्तानीको नयाँ उपकरणका रूपमा फोनपे कार्ड सुरु गर्न पाउँदा हामी उत्साहित छौं,” फोनपेका सीईओ दिवस सापकोटाले भने, “यसको सहज पहुँच र सुरक्षित सेवाले ग्राहकको वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकामा पुनः परिभाषित गर्नेमा विश्वस्त छौं ।”

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १३:३१