काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले हालै दुई जना सरकारी कर्मचारी पक्राउ गरेको हो ।
बुधबार सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारीलाई पक्राउ गरेको थियो भने बिहीबार यातायात व्यवस्था विभाग काठमाडौंमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत दीपा न्यौपानेलाई पक्राउ गरेको छ ।
यससँगै नक्कली सवारी चालक अनुमति पत्र प्रकरणमा पक्राउ पर्ने कर्मचारीको सङ्ख्या १२ पुगेको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
“हामीले हिजो र आज दुई थप दुई जना पक्राउ गरेका छौं,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक बोगटीले भने, “यससँगै यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ ।”
यस प्रकरणमा पक्राउ परेका कर्मचारीहरूमाथि सरकारी लिखत किर्तेको कसुरमा सीआईबीले अनुसन्धान अगाडि बढाएको छ ।