काठमाडौँ । एक ह्याकर समूहले नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको वेबसाइट डिफेस गरिदिएको छ । ‘मिडनाइट अप्स नेपाल’ नामक ह्याकर समूहले शनिबार बिहान वेबसाइटमा अनधिकृत पहुँच लिई पेज परिवर्तन गरेको हो ।
ह्याकरहरूले वेबसाइटको अपलोड पेजको मूल सामग्री हटाई “HAHAHA UR SECURITY SUCKS !!!” शीर्षक राख्दै “This site has been hacked by MidNight Ops Nepal” “Your Democracy has beed hacked” र “Security is just an illusion” भन्ने सन्देश डिस्प्ले गरेका छन् ।
त्यही पेजमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरमा मूत्र विसर्जन गरेजस्तो कार्टुन देखाइएको छ, जसलाई अपमानजनक रूपमा प्रस्तुत गरिएको छ । साथै, ‘मिडनाइट अप्स नेपाल’ ले आफ्नो टेलिग्राम लिंक र सम्पर्क ईमेल पनि पेजमा राखेको छ ।
उक्त ह्याकर समूहले टेकपानालाई पठाएको ईमेलमा आफूले जल तथा मौसम विज्ञान विभागको वेबसाइट ह्याक गरेको दाबी गर्दै यो डिफेस आक्रमण नेपालको सरकारी डिजिटल पूर्वाधार कति असुरक्षित छ भन्ने कुराको ‘public demonstration’ (सार्वजनिक प्रदर्शन) भएको जनाएको छ । “हामीले कुनै डेटा चोरेनौँ, आन्तरिक प्रणालीमा क्षति पुर्याएनौँ । यो नष्ट गर्ने होइन, देखाउने प्रयास थियो,” ईमेलमा उल्लेख छ ।
ह्याकर समूहका अनुसार वेबसाइटमा पुरानो प्रविधिको प्रयोग, गलत रूपमा कन्फिगर गरिएको पहुँच र कुनै पनि आधुनिक सुरक्षा संयन्त्रको अभावका कारण ह्याक गर्न सजिलो भएको थियो । “हामीले गर्न सकेका छौं भने विदेशी ह्याकरले के गर्न सक्छन् भन्ने कल्पना गर्नुहोस्,” मिडनाइट अप्स नेपालले चेतावनीस्वरूप लेखेको छ ।
यस घटनाबारे टेकपानाले विभागका अधिकारीहरूसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
पछिल्लो समय एकपछि अर्को गर्दै सरकारी वेबसाइट ह्याक भइरहेका छन् । यसले सरकारको साइबर सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।