काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाको आयोजनामा दक्षिण अफ्रिकामा हुने ‘मेटा बग बाउन्टी रिसर्चर कन्फेरेन्स २०२४’ मा नेपालका पाँच इथिकल ह्याकर सहभागी हुने भएका छन् । यही २१ र २२ मेमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने उक्त सम्मेलनमा नेपालबाट सौगात पोखरेल, मनोज गौतम, रिकेश बानियाँ, समीप अर्याल र कुञ्जन नायक सहभागी हुन लागेका हुन् ।
मेटाले निमन्त्रणा गरेका सबै नेपालीहरू आइतबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन् । बग बाउन्टी हन्टरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेटाले हरेक वर्ष यस्तो सम्मेलन गर्दै आएको छ ।
“यसमा आफ्नो क्षमता प्रदर्शन गर्ने त छँदै छ, अन्तर्राष्ट्रिय ह्याकरहरूसँग सञ्जाल विस्तार गर्न समेत सकिन्छ,” टेकपानासँग कुरा गर्दै सम्मेलनमा सहभागी हुन लागेका सौगात पोखरेलले भने, “साथै इन्टरनेट सुरक्षित बनाउन विभिन्न तवरबाट उनीहरूसँग सहकार्य गर्न सकिन्छ ।”
त्यस्तै सम्मेलनमा उत्कृष्ट ह्याकरहरूले आफूले पत्ता लगाएका विषयमा जानकारी दिनेछन् । मेटाका कर्मचारीले भने बग बाउन्टीका सन्दर्भमा पछिल्लो समय मेटामा भएका ट्रेन्ड (प्रवृत्ति) र विभिन्न प्लेटफर्मको सेक्युरिटी सुधार गर्न के-कस्ता काम भइरहेकाे छ भन्ने विषयमा जानकारी दिने पोखरेलले बताए ।
कार्यक्रममा सहभागीहरूबीच विभिन्न विषयमा अन्तर्क्रियाका साथै लाइभ ह्याकिङ समेत हुनेछ । लाइभ ह्याकिङका क्रममा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई मेटाले कार्यक्रमकै दौरान बाउन्टी अवार्ड प्रदान गर्ने बताइएको छ ।
नेपालबाट सहभागी हुने इथिकल ह्याकरको एयरलाइन्स, हाेटेल र अन्य सबै खर्च मेटाले नै बेहोर्ने छ ।