काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । मङ्गलबार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार शिक्षामन्त्री श्रेष्ठको दुई ओटा बैंकमा गरी कूल एक करोड ५२ लाख रुपैयाँ रहेको हो । उनले याे रकम पारिश्रमिकबाट प्राप्त भएको दाबी गरेकी छिन् ।
अचल सम्पत्तितर्फ मन्त्री श्रेष्ठको नाममा घर नभएको खुलेको छ । उनको काभ्रे जिल्लामा नौ लाख ९५ हजार रुपैयाँ बराबरको ८-६-३० वर्गमिटर क्षेत्रफलको जग्गा रहेको देखिएको छ ।
श्रेष्ठको साथमा ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिरा र एक सेट हिराको टप रहेको छ । उनले यो सम्पत्ति माइतीबाट प्राप्त गरेको बताएकी छिन् ।
शेयरमा भने मन्त्री श्रेष्ठले आफ्नै पारिश्रमिकबाट विभिन्न कम्पनीको शेयर खरिद गरेको उल्लेख गरेकी छिन् । उनले हालसम्म ऋण लिएको वा दिएको उल्लेख छैन ।
त्यस्तै उनले आफ्नो नाममा एक लाख ८५ हजार मूल्य बराबरको स्कुटर भएको जनाएकी छिन् ।
त्यस्तै उनले आफ्ना श्रीमान् पावल लुकास स्काविन्सकीले बैंकमा एक लाख ८९ हजार ७०० डलर (करिब दुई करोड ५२ लाख रुपैयाँ) र सोही बैंकमा एक लाख ८० हजार पाउन्ड (करिब तीन करोड चार लाख रुपैयाँ) रहेको उल्लेख गरेकी छिन् ।