close

गुगल मेसेज चलाउनुहुन्छ ? थाहा पाइराख्नुहोस् फाइदा र बेफाइदा

टेकपाना टेकपाना

साउन ९, २०८१ ११:५७

गुगल मेसेज चलाउनुहुन्छ ? थाहा पाइराख्नुहोस् फाइदा र बेफाइदा

काठमाडौं । शर्ट मेसेज सर्भिस (एसएमएस) र रिच कम्युनिकेसन सर्भिसेस (आरसीएस) का लागि निकै चर्चित एप हो, गुगल मेसेजेज । धेरै स्मार्टफोनमा यो डिफल्ट एपका रूपमा रहेको छ ।

हालै सामसङले आफ्नो सामसङ मेसेजको साटो गुगल मेसेजलाई डिफल्ट एसएमएस बनाउन निर्णय गरेको छ । यसो हुँदा धेरैलाई गुगल मेसेजबारे के हो भन्ने लाग्न सक्छ । यसै सन्दर्भमा आज हामी गुगल मेसेज एपको फाइदा र बेफाइदाबारे चर्चा गर्ने छौं:

फाइदा

  • आरसीएस सपोर्ट
    गुगल मेसेज चर्चित हुनुको एउटा प्रमुख कारण आरसीएस हो । आरसीएसका कारण प्रयोगकर्ताले मेसेजको अवस्था, टाइपिङ गर्दै गरेको सूचना, एचडी फोटो जस्ता सुविधाहरू प्राप्त गर्न सक्छन् । यसले मेसेज पाउने तथा पठाउने कामलाई थप आकर्षक बनाएको छ ।

  • अन्य प्लेटफर्ममा पनि प्रयोग गर्न सकिने
    गुगल मेसेजलाई फरक-फरक एन्ड्रोइड डिभाइस तथा वेबमा चलाउन सकिन्छ । यसले प्रयोगकर्ताको अनुभवलाई सुधार गर्ने मात्र नभइ मेसेजिङ प्रयोग गर्न पनि सजिलो बनाउँछ ।

  • अन्य गुगल सेवामा एकीकृत हुने
    गुगल मेसेजलाई गुगलको अन्य उत्पादनमा पनि एकीकृत गर्न सकिन्छ । जस्तो; गुगल मेसेजलाई गुगल फोटोज र गुगल एसिस्टेन्टसँग एकीकृत गरेर चलाउन सकिन्छ । यसो गर्दा प्रयोगकर्ताले सिधै आफ्नो ग्यालरीबाट फोटो शेयर गर्न, स्मार्ट रिप्लाई दिन र गुगल एसिस्टेन्टबाट सहयोग लिन सक्छन् ।

  • नियमित अपडेट
    गुगलको उत्पादन भएकाले नियमित अपडेट नआउने कुरै भएन । यसले गर्दा प्रयोगकर्ताहरूलाई नियमित रूपमा नयाँ सुविधाहरू प्रयोग गर्न, सुरक्षा कमजोरी भएमा समाधान सहितको अपडेट पाउन सजिलो हुन्छ ।

  • प्रयोगकर्तामैत्री इन्टरफेस
    गुगल मेसेजको इन्टरफेस सरल र प्रयोगकर्तामैत्री छ । जसले गर्दा एप चलाउन प्रयोगकर्ताहरूलाई प्रविधिमैत्री हुनुपर्ने आवश्यकता पर्दैन । सामान्य प्रयोगकर्ताहरूले पनि सजिलै एप चलाउन सक्छन् ।

बेफाइदा

  • डेटाको गोपनीयतामा चिन्ता
    गुगलका अन्य उत्पादनमा जस्तै गुगल मेसेजमा पनि डेटाको गोपनीयताबारे प्रश्न उठ्ने गर्छ । विशेषतः प्रयोगकर्ताको डेटा कसरी सङ्कलन, भण्डारण र प्रयोग गरिन्छ भन्ने कुरामा प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

  • आरसीएसका लागि इन्टरनेट अनिवार्य
    गुगल मेसेजमा आकर्षक सुविधाका रूपमा आरसीएस भए पनि यसलाई प्रयोग गर्न इन्टरनेट अनिवार्य छ । इन्टरनेट बिना तपाईंले आरसीएस सुविधाहरू प्रयोग गर्न सक्नुहुन्न । यसो गर्दा इन्टरनेट नचल्ने ठाउँमा तपाईंले आरसीएस चलाउन सक्नुहुन्न ।

  • सबै डिभाइसमा नचल्ने
    गुगल मेसेज एकभन्दा बढी डिभाइसमा एकै पटक चलाउन सकिने भनिएता पनि सबै डिभाइसले यसलाई सपोर्ट गर्दैनन् । विशेषगरी पुराना भर्सनका डिभाइसहरूमा गुगल मेसेज राम्रोसँग चल्दैन ।

  • पर्याप्त सुविधाको कमी
    ह्वाट्सएप, टेलिग्राम, मेसेन्जर जस्ता अन्य मेसेजिङ एपहरूको प्रयोग गरेका व्यक्तिहरूलाई गुगल मेसेजमा रहेका सुविधाहरू अपर्याप्त लाग्न सक्छ । यी मेसेजिङ प्लेटफर्महरूको तुलनामा गुगल मेसेजमा कम सुविधाहरू उपलब्ध छन् ।

गुगलको मेसेजिङ एपलाई सामसङले आफ्नो डिफल्ट एप बनाउनु पछाडि विभिन्न कारण रहेका छन् । आरसीएसको प्रयोगलाई बढावा दिन, मेसेजिङ एपमा एकरूपता ल्याउन र रणनीतिक साझेदारी गर्न लगाएका कारण अनुमान गरिएका छन् । नाइनटुफाइभ गुगलका अनुसार सामसङको ग्यालेक्सी जेड फ्लिप र जेड फोल्ड ६ मा गुगल मेसेजेज डिफल्ट मेसेजिङ एपको रूपमा रहनेछ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८१ १२:५