काठमाडौं । आईफोन १५ मा आएको सबैभन्दा ठूलो परिवर्तन भनेको यूएसबी-सी थपिनु हो । एप्पलले यही सिरिजबाट लाइट्निङ पोर्टको ठाउँमा यूएसबी-सी सपोर्ट दिन थालेको थियो ।
त्यसमाथि आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सको यूएसबीसीले भने यूएसबी-सी थ्री बराबरको स्पिड पनि सपोर्ट गर्छ । अर्थात्, प्रयोगकर्ताले यस मार्फत १० जीबीपीएससम्मको गतिमा डेटा ट्रान्सफर गर्न सक्छन् ।
एप्पलले छाड्यो किन लाइटनिङ पोर्ट ?
एप्पलले लाइटनिङ पोर्टको इकोसिस्टम बनाउन निकै लगानी गरेको थियो । तर, सन् १०१५ बाट नै एप्पलले यूएसबी-सी समेत प्रयोग गर्न थालेको थियो । त्यस बेला म्याक र आईप्याडका केही मोडेलमा यूएसबी-सी सपोर्ट दिइएको थियो ।
यसको एउटै कारण थियो, कम्प्युटरको कनेक्टिभिटीलाई आधुनिकीकरण गर्नु । किनकि यूएसबी-सीमा डेटा पठाउने क्षमता बढी हुन्छ । यता ठिक त्यही समयतिर एन्ड्रोइडमा यूएसबी-सी निकै प्रख्यात हुँदै गइरहेको थियो ।
तर, एप्पल भने आईफोनमा लाइटनिङ पोर्टमा नै अल्झिएको थियो । अर्थात् दशक अघिको डेटा ट्रान्सफर गर्ने पोर्टमा खुम्चिएको थियो ।
त्यसमाथि एप्पलका लागि युरोपेली आयोग एक बाध्यकारी जस्तै बनिदियो । किनकि यस आयोगले फोनहरूको विश्वव्यापी कनेक्टरको रूपमा यूएसबी-सी लागु गर्ने कानून पारित गर्यो । यसको अर्थ एप्पलले युरोपेली बजारका लागि आईफोन बनाउँदा यूएसबी-सी संलग्न गर्नु अनिवार्य भयो ।
यही कारण एप्पलले आईफोनमा यूएसबी-सी सपोर्ट दिन बाध्य भयो । यद्यपि यूएसबी-सीका आफ्नै मौलिक किसिमका फाइदाहरू पनि छन् ।
यूएसबी-सी चार्जिङको सर्वव्यापकता
अहिले एप्पलका विभिन्न डिभाइसहरूमा यूएसबी-सी चार्जिङबाट चार्ज सकिने अवस्था सिर्जना भएको छ । किनकि सबै जसो आईप्याड र म्याकले यूएसबीसी पोर्ट सपोर्ट गर्छन् । हालै आएको नयाँ म्याकमा चार्जिङका लागि म्याकसेफ चार्जर पनि दिइएको छ ।
तर, त्यसमा सँगसँगै यूएसबी-सी पोर्ट पनि दिइएको छ । त्यस्तै पछिल्लो पुस्ताको एप्पल टिभीमा यूएसबी सी रिमोट पनि दिइएको छ । साथै हालै आएको एयरपड्स प्रोमा यूएसबी चार्जिङ केस पनि संलग्न छ ।
समग्रमा भन्दा अहिले एप्पलका विभिन्न डिभाइसहरूलाई एउटै यूएसबी-सी केबुलबाट चार्ज गर्न सकिने भएको छ । अहिले त एप्पल आफैंले यूएसबी-सी चार्जर केबुल उत्पादन गर्ने गर्छ । तर, प्रयोगकर्ताले बजारमा पाइने अन्य यूएसबी-सी केबुलबाट पनि एप्पल डिभाइस चार्ज गर्न सक्छन् ।
आईफोन १५ को ब्याट्रीबाट अन्य डिभाइस चार्ज सकिने
एप्पलले यूएसबीसी सपोर्ट समावेश गरेसँगै अब रिभर्स चार्जिङ पनि सम्भव भएको छ । अहिलेेको समयमा आईफोन १५ ले ४.५ वाटसम्मको रिभर्स चार्जिङ सपोर्ट गर्छ ।
पहिले लाइटनिङ पोर्टमा रिभर्स चार्जिङ सपोर्ट हुने भए पनि त्यस बेला मुस्किलले ०.३ वाट मात्र सपोर्ट गर्थ्यो । तर, अब भने एप्पलका अन्य डिभाइसहरू चार्ज गर्न आईफोन १५ प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, यदि तपाईंको एयरपड्सको ब्याट्री कम छ भने आईफोन १५ बाटै चार्ज गर्न सक्नुहुन्छ ।
एक्सटर्नल डिस्प्लेमा कनेक्ट गर्न सकिने
लाइटनिङ पोर्टबाट एक्सटर्नल डिस्प्ले कनेक्ट गर्न सकिने भए पनि त्यसका लागि अन्य डिभाइसको सहारा लिनु पर्छ । तर, आईफोन १५ मा आएको यूएसबी-सीबाट तपाईंले अन्य स्क्रिनमा सजिलै कनेक्ट गर्न सक्नुहुन्छ ।
जस्तै; यूएसबी-सी टु एचडीएमएआई केबुल प्रयोग गरेर तपाईंले फोरके टिभी अथवा मोनिटरमा आईफोन स्क्रिन शेयर गर्न सक्नुहुन्छ । यसले गर्दा तपाईंलाई भिडिओ गेम खेल्न, भिडिओ हेर्न वा साथीभाइलाई फोटो देखाउन सजिलो बनाउँछ ।
स्टोरेज एक्सटेन्ड गर्न
यूएसबी हार्ड ड्राइभ अथवा एसडी कार्ड रिडरको प्रयोगबाट तपाईंले सजिलै आईफोनमा भएका फाइलहरू कपी गर्न अथवा शेयर गर्न सक्नु हुन्छ । यसले गर्दा फोनमा चाँडै स्टोरेज भरिने समस्याबाट मुक्त गराउँछ ।
किनकि यसअघि आईफोनमा भएको स्टोरेजलाई हार्ड ड्राइभ अथवा एक्सटर्नल डिभाइसमा कपी गरेर स्टोरेज गर्न अन्य केबुल प्रयोग गर्नु पर्ने हुन्थ्यो ।
हार्डवेयर किबोर्ड र वायर्ड इन्टरनेट कनेक्सन
कतिपय अवस्थामा सधैं वायरलेसले मात्र काम गर्दैन । तपाईंले फोनमा तार जोडेर अन्य काम गर्नु पर्ने हुन सक्छ । यो कुरा आईफोनमा सपोर्ट भएको यूएसबी-सी सपोर्टका कारण सम्भव भएको छ ।
उदाहरणका लागि, तपाईंले आईफोनमा हार्डवेयर किबोर्ड प्रयोग गर्न सक्नु हुन्छ । त्यस्तै यदि तपाईंले बिच सडकमा पोडकास्ट गरी रहनु भएको छ भने तपाईं मिनी यूएसबी-सी माइक्रोफोनलाई आईफोनमा जोड्न सक्नु हुन्छ । साथै यूएसबी-सी टु इथरनेट एडप्टर प्रयोग गरेर तारयुक्त इन्टरनेट पनि चलाउन सक्नु हुन्छ ।
वायर्ड हेडफोनको सपोर्ट
आजकल ब्लुटुथ वायरलेस हेडफोनको प्रयोग बढेको छ । अनि, एप्पलले पनि हेडफोन ज्याकको सपोर्ट दिँदैन । तर, कतिपयलाई अझै पनि वायर्ड हेडफोन प्रयोग गर्न मन लाग्ने हुन सक्छ ।
हुन त लाइटनिङ इयरबड्सबाट यो काम गर्न सकिन्छ । तर, यूएसबी-सी पोर्टका कारण यो झनै सजिलो हुने भएको छ । किनकि कुनै पनि यूएसबी-सी हेडफोनलाई आईफोन १५ ले सपोर्ट गर्छ । त्यस्ता हेडफोन कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ ।
मल्टी पोर्ट हब्समा कनेक्सन
यूएसबी-सीको प्रयोगमा व्यापकता छ । किनकी यसले डेटा र पावर एकै पोर्टमा पठाउन सक्छ । यसो हुँदा तपाईंले मल्टी पोर्ट हब्स (धेरै वटा पोर्टहरू सपोर्ट गर्ने डिभाइस) आफ्नो आईफोनमा कनेक्ट गर्न सक्नुहुन्छ ।
त्यसबाट एक्सटर्नल डिस्प्लेमा कनेक्ट गर्ने, पावरमा कनेक्ट गर्ने, यूएसबी एक्सेसरिजमा प्लग इन गर्ने जस्ता काम एकै पटक गर्न सकिन्छ । तर, यसो गर्दा सम्झनु पर्ने कुरा उक्त हबमा आईफोनबाट ४.५ वाटको पावर आइरहेको हुन्छ ।