close

पीडीएफ फाइल पढ्न अल्छी लाग्यो ? प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

भदौ १, २०८१ १६:४२

पीडीएफ फाइल पढ्न अल्छी लाग्यो ? प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । पोर्टेबल डकुमेन्ट फर्म्याट (पीडीएफ) एक चर्चित फाइल फर्म्याट हो । यो व्यापक हुनुको कारण एकबाट अर्को डिभाइसमा पठाउन र खोल्न सजिलो हुनु हो । पीडीएफमा महत्वपूर्ण सूचनाहरू समावेश हुन सक्छन् ।

उदाहरणका लागि, यदि तपाईंले भौतिक किताब पाउनु भएन भने, त्यसको अनलाइन भर्सन प्रायः पीडीएफमा पाइन्छ । तर, लामो समयसम्म पीडीएफ पढ्न गाह्रो हुन सक्छ । यसलाई सजिलो बनाउन च्याटजीपीटी उपयोगी हुन सक्छ ।

हालैको अपडेटमा ओपनएआईले च्याटजीपीटीमा फाइल अपलोड गर्ने सुविधा ल्याएको छ । यस सुविधाको सहयोगमा पीडीएफ अध्ययन गर्न सजिलो हुन्छ । यसले पीडीएफको सारांश तयार गर्न, त्यसमा आधारित प्रश्नहरूको उत्तर दिन सक्छ । विशेषगरी, यो सुविधा विद्यार्थी, अनुसन्धानकर्मी र अन्य प्रयोगकर्ताका लागि उपयोगी छ ।

आज हामी च्याटजीपीटीमा पीडीएफ राखेर कसरी पढ्ने भन्नेबारे चर्चा गर्ने छौं :

- च्याटजीपीटीमा लगइन गर्नुहोस् । यदि तपाईंले अकाउन्ट बनाउनु भएको छैन भने सजिलै आफ्नो गुगल, माइक्रोसफ्ट वा एप्पल अकाउन्टमार्फत अकाउन्ट खोल्न सक्नुहुन्छ ।

-प्रम्प्ट (लिखित निर्देशन) लेख्ने छेउमा रहेको पेपर क्लिपको आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ फाइल अपलोड गर्ने विकल्प आउँछ । तपाईंको फाइलको स्थानअनुसार फाइल अट्याच गर्नुहोस् । यदि फाइल गुगल ड्राइभ वा वन ड्राइभमा छ भने माथिका दुई विकल्पमध्ये एक चयन गर्नुहोस् । यदि फाइल कम्प्युटरमा छ भने 'अपलोड फ्रम कम्प्युटर' मा क्लिक गर्नुहोस् ।

-फाइलको आकार अनुसार लोड हुन केही समय लाग्न सक्छ । फाइल लोड भएपछि तपाईंले सामान्य प्रश्नहरू सोध्न सक्नुहुन्छ । तर, पीडीएफ डकुमेन्ट अनुसार च्याटजीपीटीले दिने नतिजा फरक पर्न सक्छ । हामीले केही पीडीएफ डकुमेन्ट राख्दा यसले पुराना पीडीएफलाई राम्ररी पढ्न सकेको थिएन । यसले नेपाली भाषालाई राम्रोसँग सपोर्ट गर्दैन ।

-प्रतिक्रिया जाँच गर्नुहोस् । यदि तपाईंले महत्वपूर्ण कागजपत्रको पीडीएफ च्याटजीपीटीको सहयोगमा पढिरहनु भएको छ भने दोहोरो जाँच गर्नु अनिवार्य छ । कतिपय अवस्थामा यसले गलत उत्तर दिन सक्छ । यसकारण विभिन्न प्रश्नहरू सोधेर प्राप्त उत्तरलाई राम्रोसँग जाँच गर्नुहोस् ।

-चाहेको उत्तर प्राप्त नभएमा फरक-फरक तरिकाले प्रश्नहरू सोध्नुहोस् । उदाहरणका लागि, डकुमेन्टमा रहेका खण्डहरूको तुलना गर्ने, विशेष सूचना खोज्ने वा डकुमेन्टको आधारमा अन्य सामग्री तयार गर्नुहोस् ।

यद्यपि च्याटजीपीटीमा यो सुविधा सीमित छ । नि:शुल्क अकाउन्टबाट च्याटजीपीटीलाई पीडीएफ पढ्न लगाउन सकिने भएता पनि तपाईंले धेरै प्रश्नहरू सोध्न सक्नुहुन्न । यसले तपाईंलाई सशुल्क संस्करण प्रयोग गर्न सुझाव दिन्छ ।

च्याटजीपीटी केवल सहयोग गर्ने एक उपकरण हो । यसले तपाईंको बुझाइलाई प्रतिस्थापन गर्न सक्दैन । यसकारण, च्याटजीपीटीले दिने उत्तरका आधारमा आफ्नो सोच बनाउनुअघि उक्त उत्तर आधिकारिक स्रोतबाट प्रमाणित गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८१ १६:५६