close

आईपीओ ल्याउने योजनाका साथ पहिलो चरणको लगानी जुटाउँदै स्विभ्ट नेपाल

टेकपाना टेकपाना

भदौ ४, २०८१ १४:३९

आईपीओ ल्याउने योजनाका साथ पहिलो चरणको लगानी जुटाउँदै स्विभ्ट नेपाल

काठमाडौं । करियर विकास तथा खोजी सम्बन्धी प्लेटफर्म स्विभ्ट नेपालले 'सिरिज ए' अर्थात् पहिलो चरण अन्तर्गत फण्डरेजिङ (लगानी सङ्कलन तथा जुटाउने) अभियान सुरु गरेको छ । सात वर्षमा प्राप्त सफलतालाई आत्मसाथ गर्दै कम्पनीले हालै फण्डरेजिङ क्याम्पेन सार्वजनिक गरेको हो ।

सन् २०२२ र २०२३ मा कम्पनीले १० लाख अमेरिकी डलर बराबर आम्दानी गर्न सफल भएको थियो । यही सफलतालाई पछ्याउँदै स्विभ्टले आफ्नो २० प्रतिशत इक्विटी स्वरूप छ महिनाभित्र २० लाख अमेरिकी डलर लगानी जुटाउने लक्ष्य लिएको हो ।

आउँदा वर्षमा आईपीओ जारी गर्ने तयारीका बीच पहिलो चरणको यो फण्डरेजिङ कम्पनीको यात्रामा महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा व्यक्त गरिएको छ ।

"स्विभ्टले हजारौं प्रोफेसनलहरूलाई विभिन्न नवीनतम प्रविधि तथा सेवा मार्फत उनीहरूको करियरको खोजी, विकास तथा वृद्धिमा सहयोग पुर्‍याउँदै आएको छ । करिब एक दशक लामो यस क्षेत्रको अनुभवका साथ स्विभ्टले नेपाल र बाहिरका आईटी उद्योगको सम्भावनालाई सफलतापूर्वक उपयोग गर्नुका साथै त्यसका लागि बजारमा आवश्यक विज्ञता, इन्टेलिजेन्स र इनोभेसन प्रदान गर्न सफल भएको छ," कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लगानीकर्ताहरूलाई आमन्त्रण

पहिलो चरणको सिरिज राउन्डमा एन्जल इन्भेस्टर, भेन्चर क्यापिटलिस्ट र इभेस्टमेन्ट फर्मलाई आमन्त्रण गर्दै स्विभ्टले आईटी क्षेत्र रूपान्तरण गर्ने कम्पनीको लक्ष्यमा साथ दिन आग्रह गरेको छ । यस सिरिज अन्तर्गत उठाइएको रकम व्यवसाय सञ्चालन तथा बजार विस्तार र प्लेटफर्मले प्रदान गर्ने सेवाहरूमा सुधार ल्याउनुका साथै स्विभ्टको वृद्धि र दीर्घकालीन सफलतामा लगानी गरिनेछ ।

"हाम्रो उद्देश्य प्रोफेसनलहरूलाई पूर्ण रूपमा सशक्त बनाउँदै उनीहरूको पूर्ण क्षमता पहिचानका लागि सहयोग गर्नु र आईटी उद्योगमा नयाँ नयाँ इनोभेसनलाई निरन्तरता दिनु हो," स्विभ्ट टेक्नोलोजी प्रालिका संस्थापक तथा सीईओ सुवास शाहीले भने, “आफ्ना लगानीकर्ताहरूको सहयोगमा हामीले हाम्रो वृद्धिलाई गति दिन र बजारमा नेतृत्वदायी रूपमा हाम्रो उपस्थिति कायम गर्ने उद्देश्य राखेका छौं । पहिलो चरणको लगानी सङ्कलनले हाम्रो विस्तारमा ऊर्जा मात्रै भर्ने छैन, सँगसँगै यसले कम्पनी इतिहासको एक नयाँ भागको रूपमा रहेको भविष्यमा जारी हुने आईपीओको आधार समेत तयार पार्नेछ ।" 

आईपीओको तयारी

कम्पनीले आगामी १२ देखि २४ महिनाको अवधिमा अडिटिङ, नियामकीय सर्त र वित्तीय परामर्शदातासँग काम गर्दै आईपीओको तयारी थाल्ने योजना बनाएको छ । त्यसपछि आम्दानी बढाउँदै लैजाने, बजार हिस्सा विस्तार गर्ने र कम्पनीको मूल्याङ्कनमा सुधार ल्याउन व्यावसायिक मोडेल सुदृढीकरण गर्दै लैजाने कम्पनीको सोच छ । 

तीनदेखि चार वर्षभित्र ​​संस्थागत लगानीकर्तालाई आकर्षित गर्न रोडशो आयोजना गर्ने र आईपीओको तयारीलाई अन्तिम रूप दिने तथा चारदेखि पाँच वर्षभित्र आईपीओ जारी गर्ने योजना छ ।

के हो स्विभ्ट नेपाल ?

सन् २०१७ मा स्थापित स्विभ्ट नेपाल आईटी करियर डेभलपमेन्टमा क्रियाशील कम्पनी हो । जसले आईटी क्षेत्रमा करियर बनाउन चाहने तथा करियर बनाइरहेकाहरूलाई परिवर्तनशील आईटी उद्योगका लागि आवश्यक उपकरण, स्रोत र मार्गदर्शन प्रदान गर्दछ । यो प्लेटफर्मले करियर काउन्सिलिङ, सीप विकास कार्यक्रम, रोजगारीका लागि आवश्यक सहयोगका साथै व्यावसायिक विकासका अवसर समेत प्रदान गर्दै आएको छ ।

नवीनतम सेवा प्रति कम्पनीको प्रतिबद्धता तथा निरन्तर सफलताले ट्रयाक रेकर्डले नै आज यो कम्पनी सूचना प्रविधिको विश्व बजारमा आफ्नो प्रभाव छाड्न सफल भएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८१ १५:४